ह्विलचियरमा एक बालकले आमालाई डोर्याउँदै गरेको दृश्य देखेर वृद्धाश्रममा दिन गुजारिरहेकी उमेर पुगेकी आमा भावुक हुन्छिन्। अनि आफू वृद्धाश्रम आउनुपरेको ती दिन सम्झिन्छन्। उनलाई छोराबुहारीको झलझली याद आउँछ।
अशक्त भएपछि लठ्ठी बन्ला भनेर ती आमाले बुढेसकालमा छोरा जन्माएकी थिइन्। गहना र खेत बेचेर छोरालाई डाक्टर बनाउन उनले पतिलाई निकै सम्झाउनुपरेको थियो। छोराको जिद्दी र आमाको सहयोगमा छोरो डाक्टर बन्यो। बिस्तारै सहरमा घर बनाउन सफल भयो। बिहे गर्यो। ती आमा गाउँको थातथलो छोडेर छोराबुहारीसँगै सहर बस्न थालिन्। छोराबुहारीको व्यस्ततालाई उनका लागि घर त्यति अनुकूल भएन। अनि छोराबुहारीले वृद्धाश्रममा पुर्याइदिए।
वृद्धाश्रममा परिवारको सम्झनाले तड्पिएर बसेकी उनी घर फर्किन चाहन्छिन्। तर, छोरा लिन कहिले आउने ? उसले नै आश्रममा छोडेर गएको छ। मन शान्त नभएपछि उनी आश्रमबाट राति निस्किन्छिन्। अकस्मात् दुर्घटनामा पर्छिन् र अस्पतालमा आफ्नो प्राण त्याग्छिन्। त्यही अस्पतालमा उनको छोरा डाक्टर समीर कार्यरत छ।
आमालाई मृत अवस्थामा देखेपछि समीर पछुताउँछ। बाआमाले आफ्ना लागि गरेका त्याग सम्झिँदै आँसु बगाइरहन्छ। २० मिनेट ३५ सेकेन्डको छोटो फिल्म ‘लापत्ता सन्तान’मा सन्तानका लागि बाआमाको संघर्ष र वृद्ध अवस्थामा उनीहरूले आश्रम पुर्याउने दर्दनाक अवस्थाको चित्रण गरिएको छ।
फिल्मका निर्देशक रामजी ज्ञवाली हुन्। फिल्मको कथा पनि उनले नै लेखेका हुन्। लगानी पनि उनकै हो। जल्दोबल्दो सामाजिक परिवेशलाई मुख्य कथावस्तु बनाइएको फिल्म ‘लापत्ता सन्तान’ ओएसआर डिजिटल युट्युब च्यानलमार्फत केही दिनअघि सार्वजनिक गरिएको थियो। कथा वर्तमान समय र यथार्थ घटनामा बनेको भन्दै दर्शकले पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
फिल्ममा आमाको भूमिकामा रश्मी भट्ट छिन्। अन्य कलाकारहरूमा ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, अर्जुन आचार्य, सविना राउत, नीलम भट्ट र मनीष प्रीतम निरौलाको अभिनय छ। फिल्म नीरज कँडेलको छायांकन र नहकुल खड्काको सम्पादनमा बनेको छ। फिल्म सार्वजनिक भएपछि प्राप्त फिडब्याकले फिल्म बनाउनुको उद्देश्य सफल भएको निर्देशक ज्ञवालीले नयाँ पत्रिकालाई बताए।
लामो समयको पत्रकारितापछि फिल्म मेकिङमा लागेका ज्ञवालीले अहिलेसम्म डार्क मुन, आराध्या, एक लभर, हनिमुनलगायतका प्रोजेक्ट बनाइसकेका छन्। उनले निर्माण गरेर विभिन्न फेस्टिभल तथा विशेष शोमा गएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ सार्वजनिक हुन बाँकी छ। उनी अहिले युवाहरूमा देखिने एक स्वास्थ्य समस्यालाई लिएर ‘साइलेन्स टुर’ निर्माण गर्दै छन्।
व्यस्त जीवनशैलीका कारण आजकाल धेरैसँग पर्याप्त समय नहुने भएकाले सर्ट फिल्म हेर्ने चलन बढेको र यसलाई एउटा कल्चरको रूपमा बढाउने गरी आफू सर्ट भिडियो निर्माणना व्यस्त रहेको निर्देशक ज्ञवालीले बताए।