पछिल्ला केही दिनयता जाजरकोटमा डेंगु संक्रमितको संख्या निरन्तर बढेसँगै भेरी नगरपालिकाले लामखुट्टे खोज र नष्ट गर अभियान थालेको छ। भेरी नगरपालिका स्वास्थ्य शाखाले डेंगु प्रभावित क्षेत्रका व्यक्तिको घरआँगन, सार्वजनिक निकायका भवन कम्पाउन्ड बढी जोखिमयुक्त रहेको भन्दै लामखुट्टे खोजी र नष्ट अभियान थालेको हो।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटको तथ्यांकअनुसार सबैभन्दा धेरै डेंगी संक्रमित भेरी नगरपालिकामा छन्। भेरी नगरपालिकामा मात्र बितेको दुई महिनाभित्र १४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। संक्रमण थप बढ्नबाट बचाउन नगरपालिकाले डेंगु नियन्त्रणमा थप सक्रियता जनाएको छ।
डेंगुबाट बच्न हरेक व्यक्ति सचेत र सावधान हुनुपर्ने भन्दै घरदैलो अभियान सुरुवात गरेको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए। नगरपालिकाले आफ्नो नगर क्षेत्रमा अहिले लामखुट्टे खोजी र नष्ट गर्ने अभियान सञ्चालन गरेको नगरप्रमुख घर्तीको भनाइ छ। नगर स्वास्थ्य शाखाअन्तर्गत रहेर भेरी नगरपालिका नगरस्तरीय सरोकारवालासँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। लगत्तै कुदु स्वास्थ्यचौकी र भुर स्वास्थ्यचौकीमा लामखुट्टे खोजी र नष्ट अभियानका काम भएको नगरप्रमुख घर्तीले बताए।
गत आर्थिक वर्षमा भेरी नगरपालिकाले गरेको डेंगु परीक्षणबाट ३१५ जनामा संक्रमण पुष्टि भएको थियो। चालू आर्थिक वर्षमा हालसम्म १४ जनामा मात्र डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख दीपक वलीले जानकारी दिए। नगरपालिकाले गरेको परीक्षणमा तीनजना र स्वास्थ्य सेवा कार्यालयले गरेको परीक्षणमा ११ जनामा डेंगु संक्रमण पुष्टि भएको वलीको भनाइ छ। उनका अनुसार डेंगु प्रभावित क्षेत्रलाई लक्षित गरी पानी जम्ने सडक, सडकपेटीका खाल्टाखुल्टी, गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरन्डामा जम्ने पानी सफा गर्न सचेतनामूलक कार्यक्रम बस्तीस्तरमा सञ्चालन गरिएको हो।
उनले भने, ‘भेरी नगरपालिका कुदु, भुर, रावतगाउँ, कालेगाउँ क्षेत्रमा यसको धेरै जोखिम रहेको छ। पानी जम्न नदिनु नै यसको जोखिम घटाउने उपाय हो। अहिले भेरी नगरपालिका– ९ को भुर क्षेत्रमा भारतबाट फर्किएका नागरिकहरूमा डेंगुको संक्रमण देखा पर्न थालेको नगर स्वास्थ्य शाखाले जनाएको छ।