१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024
तस्बिर : एपी
रासस बेरुत
२o८१ कार्तिक १४ बुधबार १६:२८:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

‘इजरायल–हिजबुल्लाह युद्धबाट भागेका सिरियाली आफ्नै घरमा दुर्व्यवहारको जोखिममा’

Read Time : > 1 मिनेट
रासस, बेरुत
नयाँ पत्रिका
२o८१ कार्तिक १४ बुधबार १६:२८:oo

लेबनानमाथि इजरायलको आक्रमणबाट भागेका सिरियालीहरूले स्वदेशमा दमनको सामना गर्ने देखिएको ह्युमन राइट्स वाच (एचआरडब्लू)ले जनाएको छ। 

युद्धका कारण तीन लाख ५५ हजारभन्दा बढी सिरियाली एक महिनामा लेबनानस्थित शरणार्थी केन्द्रहरूबाट स्वदेश फिर्किएका छन्। 

‘लेबनानबाट भागेका सिरियालीहरू, विशेष गरी पुरुषहरूले सिरियाली अधिकारीबाट स्वेच्छाचारी हिरासत र दुर्व्यवहारको जोखिम मोल्छन्,’ एचआरडब्लूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एचआरडब्लूका मध्यपूर्वका उपनिर्देशक एडम कुगलले भने, ‘शंकास्पद अवस्थामा निर्वासनमा रहेकाको हिरासतमा भएका मृत्युले भाग्नेहरूलाई स्वेच्छाचारी नजरबन्द, दुर्व्यवहार र उत्पीडनको खतरालाई उजागर गरेको छ।’

इजरायलले सेप्टेम्बर २३ मा सघन हवाई अभियान सुरु गरेयता लेबनानबाट सिरियातर्फ पाँच लाखभन्दा बढी मानिस भागेका छन्, जसमा तीन लाख ५५ हजारभन्दा बढी सिरियाली नागरिक रहेको लेबनानको आधिकारिक तथ्यांकले देखाएको छ।

एचआरडब्लूले अक्टोबरमा पाँचजनालाई पक्राउ गरिएको जनाएको छ।

सिरियाली सेनाको गुप्तचर निकायले आफ्ना पतिलाई ‘तुरुन्तै’ पक्राउ गरेको एक महिलाको घटनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘हालैको आममाफीले ती महिलाका पति (पूर्वसैनिक)लाई पनि समेट्ने अपेक्षा गरिएको थियो, तर त्यसो हुन सकेन।’

‘सिरिया पहिलेको तुलनामा सुरक्षित छैन, तर लेबनानमा बढ्दो खतराका कारण धेरै सिरियालीहरू अन्यत्र जान नसक्ने र पुनः सिरियातर्फ नै फर्किनुपर्ने अवस्थामा पुगेका छन्,’ कुगलले भने।

उनले अगाडि भने, ‘उनीहरूको फिर्ती सिरियाको सुधारिएको अवस्थाको संकेत होइन, तर उनीहरूलाई सुरक्षित विकल्पहरूबाट बन्द गरिएको र हिरासत, दुर्व्यवहार र मृत्युको जोखिमको सामना गरिरहेको देशमा फर्कन बाध्य पारिएको तीतो वास्तविकताको संकेत हो।’

गत हप्ता यातायातमन्त्री अली हामिहले एएफपीलाई बताएअनुसार इजरायली बमबारीले लेबनान र सिरियाबिचको दोस्रो सीमा पार गर्न अक्षम बनाएको छ। हिजबुल्लाहसँग करिब एक वर्षको सीमापार गोलीबारीपछि इजरायलले गत महिना समूहको गढमा आक्रमण तीव्र पारेको थियो र त्यसपछि सीमापारि स्थलसेना पठाएको थियो।

लेबनानमा सेप्टेम्बर २३ यता जारी युद्धमा कम्तीमा एक हजार ७५४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ। तर, युद्धमा मारिनेको वास्तविक संख्या योभन्दा पनि बढी हुन सक्ने अनुमान गरिएको छ। इजरायली सेनाले लेबनानमा गत सेप्टेम्बर ३० देखि स्थलगत कारबाही सुरु गरेयता ३७ सैनिकको ज्यान गइसकेको जनाएको छ।