१६ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा इरान, कतार, साउदी अरब र दुबई (युएई) बसेर फर्किएका बुद्धिबहादुर राईलाई आफ्नै माटोमा केही गरौँ भन्ने लाग्न थाल्यो। बाबुको पालादेखि नै कृषि गर्दै आएका बुद्धिबहादुरले विदेशमा गर्ने श्रम देशमै गर्ने भन्दै कृषि पेसा नै अपनाए। संखुवासभाको खाँदबारी नगरपालिका– १ का बुद्धिबहादुर र उनकी श्रीमती लक्ष्मी राईले अहिले फूलखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्।
उनीहरूको दुई छोरा छन्। लामो समयदेखि व्यावसायिक कृषिमा आबद्ध उनीहरूले व्यावसायिक रूपमा तरकारी खेती र बंगुरपालनसमेत गरेका छन्। मौसमअनुसारका सबै तरकारीहरू उत्पादन गर्छन्, आम्दानी राम्रै भएकाले उनीहरू सन्तुष्ट छन्।
हिन्दु नेपालीहरूको घरआँगनमा तिहारले छोइसकेको छ। तर, बुद्धि र लक्ष्मीलाई भने फूल टिप्न र बजार पुर्याउनकै चटारो छ। काग तिहारदेखि फूलको माग अझ बढ्ने हुँदा उनीहरूको व्यस्तता झनै बढेको छ। खाँदबारीमा साप्ताहिक हाटबजार बुधबार र शनिबार लाग्छ। बुधबार बिहान कागतिहारको दिन उनीहरूको फूलबारीमा पुग्दा लक्ष्मी खेताला लगाएर फूल टिप्दै थिइन्। श्रीमान् बुद्धिबहादुर फूल बोकेर बिहानै बजार गएका थिए। बुधबारे बजारका लागि मंगलबार दिनभर खेताला लगाएर फूल टिपेर तयार पारेका थिए। बजारमा माग धेरै भएकाले फूल छिटो टिप्न बुद्धिबहादुर लक्ष्मीलाई फोनबाट बताउँदै थिए।
उनीहरूले ६ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरेका छन्। आफ्नो जग्गासँगै टाँसिएको जग्गा भाडामा लिएर फूलखेती गरेका हुन्। आफ्नो जग्गामा व्यावसायिक तरकारी खेती र बंगुरपालन गरेका छन्। बुद्धिले वार्षिक ४० हजार रुपैयाँ जग्गाको भाडा मात्रै तिर्छन्। ‘फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ,’ उनले भने। फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि अब काम खोज्दै विदेश नजाने सोच बनाएको बुद्धिबहादुरको भनाइ छ। बरु यही व्यवसायलाई विस्तार गर्दै अघि बढ्ने योजना उनले सुनाए।
यो वर्ष भदौ–असोजमा धेरै वर्षात् भएकाले विगतमा जस्तो फूल फस्टाएको भने छैन। ‘फूलको मुख्य सिजन भनेको यही तिहार भएकाले भाइटीकाको अघिल्लो दिनसम्म बेचिसक्नुपर्छ, त्यसपछि खासै धेरै माग आउँदैन। प्रतिगुच्छा सय रुपैयाँमा बिक्री हुन्छ, माग राम्रो छ बुधबार र शनिबार बजारमा लगेर बेच्छौँ, कतिपय घरैमा पनि फूल लिन आउनुहुन्छ,’ लक्ष्मीले भनिन्, ‘सदरमुकाम खाँदबारीनजिकै भएकाले पनि फूल बिक्री नहोला भन्ने चिन्ता छैन। मानिसहरू घरैमा फूल किन्न आउँछन्।’
यो तिहारमा न्यूनतम पनि तीन लाखभन्दा माथिको फूल बिक्री हुनेमा आशावादी रहेको लक्ष्मी बताउँछिन्। फूलखेतीबाट चारजनाको परिवारको जीविकोपार्जनका साथै राम्रो आम्दानी भइरहेको उनीहरूको भनाइ छ। लक्ष्मीकी बुहारी सविता राईले पनि फूलखेतीबाट राम्रो आम्दानी लिइरहेकी छिन्। त्यही साँधमा सँगै लक्ष्मीले पनि तीन वर्षदेखि व्यावसायिक फूलखेती गरिरहेकी छिन्। सविताले पनि जग्गा भाडामा लिएर फूलखेती गरेकी हुन्। फूलखेतीबाट आफूहरू सन्तुष्ट रहेको उनको भनाइ छ।
पहिले तिहारका लागि मात्र सयपत्री फूल उत्पादन गर्ने भए पनि हाल बाह्रै महिना माग हुने गरेको उनको भनाइ छ। फूलको माग दसैँतिहारमा बढी हुने गरेको बताउँदै उनले त्यसबाहेक विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको बताउँछिन्। यसरी व्यावसायिक फूलखेती गर्ने कृषकहरूलाई राज्यले विभिन्न खालका अनुदान, औजार, उपकरण, मल र बिउविजनलगायतमा सहयोग गर्ने हो भने केही राहत हुने थियो। दिनानुदिन वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वदेशमा नै रोक्न राज्यले नयाँ–नयाँ कार्यक्रमहरू ल्याउन आवश्यक छ ।