ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक चाँडो पास हुने बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८औँ वार्षिकोत्सवकका अवसरमा आयोजित कार्यक्रममा उनले नवीकरणीय ऊर्जाको विकासका लागि उक्त विधेयकलाई चाँडो पास गरिने बताए । ‘नवीकरणीय ऊर्जालाई समयसापेक्ष रूपमा विकास गर्नका लागि आवश्यक विधेयक, ऐन–नियमलाई चाँडो पास गर्छौँ,’ उनले भने । नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको विकासका लागि लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशनसमेत उनले दिए ।
ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न भूमिका महत्वपूर्ण रहेको बताए । मन्त्री खड्काले द्वन्द्वको समयमा स्थानीय तहमा विद्युत् अवरोध हुँदा ऊर्जा केन्द्रले गाउँ–गाउँमा गएर पुर्याएको सहयोगको सराहना गरे ।
ऊर्जामन्त्री खड्काले सरकारले निश्चित उद्देश्य राखेर नेपाल विद्युत् प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विद्युत् विकास विभागजस्ता संस्था स्थापना गरेकाले इमानदार भएर लक्ष्यप्राप्तिमा लाग्न आग्रह गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले नवीकरणीय ऊर्जाको पहुँचमार्फत विद्युत्को पहुँच पुर्याउन र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धनका लागि केन्द्रले गरेका कार्यहरू सराहनीय रहेको बताए ।