गण्डकी सरकारले प्रदेशमा कार्यरत कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) व्यवस्थापनको काम सुरु गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य मन्त्रालयमा कार्यरत मेडिकल अधिकृत भारती महताेलाई उनको विवरण पत्र हस्तान्तरण गर्दै सिटरोल व्यवस्थापन कार्यको शुभारम्भ गरे ।
गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ तथा नियमावली, २०७९, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ तथा नियमावली, २०८० र प्रदेश किताबखाना सञ्चालन कार्यविधि, २०८० मा प्रदेश निजामती सेवा र स्थानीय सेवाको संगठन संरचना तथा पद दर्ता एवं अद्यावधिक, कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) दर्ता, कर्मचारीको विवरण अद्यावधिक, कर्मचारीको तलबी प्रतिवेदन, कर्मचारीको सम्पत्ति विवरणको अभिलेख व्यवस्थापनसम्बन्धी कार्यका लागि सिटरोल व्यवस्थापनको काम सुरु भएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । सिटरोल व्यवस्थापनको काम प्रदेश किताबखानाले गर्ने व्यवस्था रहेको र हाल प्रदेश किताबखाना स्थापना नभएसम्म सोको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको प्रदेश किताबखाना तथा सञ्चार समन्वय शाखामा रहेको उनले बताए ।
गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ र स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ३ मा यस कार्यालयलाई कर्मचारी प्रशासनसम्बन्धी मुख्य निकायका रूपमा उल्लेख गरिएको सन्दर्भमा नियुक्तिपूर्वदेखि अवकाशपछिसम्मका विभिन्न विषय जस्तै, स्वीकृत संगठन संरचना एवं पद दर्ता तथा अद्यावधिक गर्ने, कर्मचारीको वैयक्तिक विवरण दर्ता एवं अद्यावधिक गर्ने, कर्मचारीको अभिलेख व्यवस्थापन गर्ने, कर्मचारीको सम्पत्ति विवरणको अभिलेख राखे कामको सुरुवात भएको मुख्यमन्त्री पाण्डेले बताए ।
हाल प्रदेशका मन्त्रालय, निकाय र कार्यालयको स्वीकृत संगठन संरचना प्रविष्टि गर्ने, प्रदेश निजामती सेवाका पदहरू एवं स्थानीय निकायको पद दर्ता अभिलेख व्यवस्थित गरी तलबी प्रतिवेदन पारित गर्ने, कर्मचारीको अवकाशको सूचना, उपदान रकम निर्धारण, सञ्चित बिदाको रकम निर्धारण, औषधि उपचार रकम निर्धारण गर्ने र क्रमशः स्थानीय तहको स्वीकृत संगठन संरचना एवं पद दर्ता तथा अद्यावधिक गर्ने, स्थानीय सेवाका कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) दर्ता एवं अद्यावधिक गर्ने कार्य पनि गर्दै लगिने उनको भनाइ छ ।