Skip This
मध्यपूर्वलाई नै त्राहिमाम् बनाएको इजरायल युद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
असर कउफम्यान
२o८१ असोज २० आइतबार o७:५९:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मध्यपूर्वलाई नै त्राहिमाम् बनाएको इजरायल युद्ध

Read Time : > 3 मिनेट
असर कउफम्यान
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o७:५९:oo

हिजबुल्लाह समूह इजरायलसँगको सर्वांगीण द्वन्द्वमा धकेलिएको छ र यसको नतिजा सबैका लागि विनाशकारी हुनेछ

लगभग एक वर्षदेखि इजरायल र हिजबुल्लाह बढ्दो उत्तेजक सीमापार झडपमा संलग्न छन् । बढ्दो युद्धले यस क्षेत्रलाई चौतर्फी द्वन्द्वमा तान्न सक्ने युद्धलाई नजिकबाट हेरिरहेका मानिसहरूले चेतावनी दिँदै आएका छन् । पछिल्ला केही दिनले त्यो विनाशकारी परिदृश्यलाई वास्तविकतानजिक लगेको छ ।

सुरुमा इजरायलको पेजर र वाकीटकी आक्रमण आयो । हिजबुल्लाहको सञ्चारमा भएको अभूतपूर्व आक्रमणले संगठनका हजारौँ कार्यकर्ता घाइते भए । यसपछि हिजबुल्लाहका प्रमुख नेता इब्राहिम अकिलको हवाई आक्रमणमा मृत्यु भयो । आक्रमणमा उग्रवादी समूहका अन्य वरिष्ठ कमान्डरका साथै केही नागरिक पनि मारिए । हिजबुल्लाहले इजरायलमा प्रहार गरेको रकेटको भौगोलिक दायरा विस्तार गरी उत्तरी इजरायलमा सैन्य सुविधा र छिमेकी नागरिक दुवैलाई लक्षित गरेर जवाफ दियो । इजरायलले त्यसपछि ताजा हवाई आक्रमण सुरु गर्‍यो, जसमा ५६० भन्दा बढी मानिस मारिए । लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार उक्त घटनापछि दक्षिण लेबनानबाट हजारौँ बासिन्दा देशको उत्तरतर्फ भागे ।

लेबनान र इजरायलको एक विद्वान्को रूपमा मैले सन् २०२३ को अक्टोबर ८ देखि (हमासले इजरायलमा अभूतपूर्व र घातक आक्रमण गरेको दिनपछि) यस युद्धको गतिशीलतालाई पछ्याएको छु । गाजामा हमाससँग ऐक्यबद्धता जनाउँदै हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गर्न थाले । उच्च बयानबाजी र विनाशको आपसी धम्कीका बाबजुद पछिल्ला दिनमा इजरायल, हिजबुल्लाह र उसको प्रायोजक इरानले पूर्णस्तरको युद्धमा चासो देखाएका छैनन् । तथापि यसबिच इरानले इजरायलमाथि दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्‍यो । क्षेप्यास्त्रलाई इजरायली सेनाले आकाशमै निस्तेज बनाएको दाबी गरेको छ । त्यसयता इजरायल र हेजबुल्लाहबिच आक्रमण र प्रत्याक्रमण भइरहेका छन् । सबै पक्षलाई पक्कै पनि यस्तो घटनाको सम्भावित विनाशकारी परिणाम थाहा छ । 

इजरायलसँग बेरुत र लेबनानका अन्य भागलाई गाजामाजस्तै ध्वस्त पार्ने सैन्य शक्ति छ, जबकि कमजोर हिजबुल्लाहले पनि इजरायली रणनीतिक क्षेत्रमा (मध्य तेल अभिभसम्मको एयरपोर्ट, पानी आपूर्ति लाइनहरू र बिजुली केन्द्रहरूमा) हजारौँ मिसाइल प्रहार गर्न सक्छ । पछिल्लो समयमा उसले यस्तो तागत देखाइसकेको छ । लेबनानमा इजरायलको आक्रमणले मध्यपूर्वलाई पूर्ण युद्धको छेवैमा पुर्‍याएर यो युद्धले पृष्ठ बदलेको छ । युद्धले लेबनान र इजरायलमा विनाश निम्त्याउनेछ । साथै, इरान र संयुक्त राज्य अमेरिकालाई पनि प्रत्यक्ष टकरावमा तान्न सक्छ । जुन टकराव पछिल्लो साता देखिएको छ । यसले अक्टोबर ७ मा लगभग एक हजार २०० इजरायलीको हत्या गर्ने हमास बन्दुकधारीहरूको स्पष्टतालाई पनि पूरा गर्नेछ भने इजरायली लापरबाही प्रतिक्रियाले यस क्षेत्रमा अन्य समूहलाई पनि उत्तेजित गर्नेछ ।

हिजबुल्लाहले जोड दिएको छ कि इजरायल र हमासबिच युद्धविराम सम्झौता भएको खण्डमा मात्रै संगठनले ‘आगो’ नियन्त्रण गर्नेछ । तर, हालैका सातामा इजरायलले द्वन्द्वलाई उल्टो दिशामा लगेको छ । इजरायली रक्षामन्त्री योभ गैलान्टले हिजबुल्लाह निसानाहरूमा समन्वित आक्रमणलाई ‘नयाँ चरण’को रूपमा वर्णन गर्दै युद्धको ‘गुरुत्वाकर्षण केन्द्र’ उत्तरी लेबनानमा सरेको बताए । इजरायली सरकारले उत्तरका बासिन्दाहरूलाई आफ्नो घरबाट सुरक्षित क्षेत्रमा जान आग्रह गरेको छ । हिजबुल्लाहको सञ्चार प्रणालीमा भएको आक्रमणले संगठनका ‘अपरेटिभ’हरूलाई निसाना बनाएको थियो । आक्रमणले आमलेबनानीलाई आघात र क्रुद्ध बनाएको थियो । इजरायलले हिजबुल्लाहलाई उसको सबैभन्दा कमजोर ठाउँहरूमा प्रहार गर्‍यो र इरानसँगको समन्वयलाई पनि पर्दाफास गर्‍यो । पेजर विस्फोटबाट घाइते भएका व्यक्तिमध्ये एकजना लेबनानस्थित इरानी राजदूत पनि थिए ।

पेजर आक्रमणपछि हेजबुल्लाहका तत्कालीन नेता नसरल्लाहले उदास र अपमानजनक भाषण दिएका थिए । हिजबुल्लाह उक्त आक्रमणबाट गम्भीर रूपमा कमजोर भएको स्वीकार गर्दै उनले इजरायली आक्रमणलाई ‘शत्रुले दशकौँदेखि गरेको धेरै अन्य नरसंहार’को निरन्तरताको रूपमा परिभाषित गरेका थिए । उनले इजरायललाई नियमित रूपमा निर्दोष नागरिकविरुद्ध नरसंहार गर्ने एक आपराधिक संस्थाको रूपमा लिन्थे ।

नसरल्लाहले गाजामा हमासलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता अटल रहेको बताएका थिए । इजरायली कार्यले ‘सबै रातो रेखाहरू पार गरेको’ बताउँदै आफू अझै पनि पूर्ण युद्धमा चासो नदिएको नसरल्लाहले संकेत गरेका थिए । तर, दुर्भाग्यवश सेप्टेम्बर २७ मा भएको हमलामा उनको पनि मृत्यु भयो । हेजबुल्लाह कमान्डरहरूको एकपछि अर्कोे अवसानले समूहलाई ठुलो क्षति भएको छ । 

युद्धमा इजरायल कम सावधान देखिन्छ । हिजबुल्लाहसँग लगभग एक वर्षको तनावपछि इजरायली नेताहरू तीव्र सैन्य हमलाको जोखिम लिन इच्छुक देखिन्छन्, जुन नियन्त्रणबाहिर हुन सक्छ । इजरायलको कदमपछाडिको रणनीति के हो भनेर निर्धारण गर्न गाह्रो छ । बाइडेन प्रशासनले उल्लेख गरेझैँ अक्टोबर ७ देखि इजरायलले स्पष्ट राजनीतिक लक्ष्यसहितको सुसंगत रणनीति प्रदर्शन गरेको छैन । बरु, प्रधानमन्त्री बेन्जामिन नेतन्याहु मुख्यतया आफ्नै राजनीतिक अस्तित्व र राज्य प्रमुखको रूपमा इजरायलको स्वार्थलाई आफ्नै स्वार्थसँग जोड्न प्रेरित रहेको उनका आलोचक बताउँछन् । यदि हिजबुल्लाह इजरायलविरुद्ध पूर्ण युद्धमा गयो भने सन् १९८२ मा यसको स्थापना भएदेखि नै यसले सबैभन्दा परिणाममुखी कदम चाल्नेछ ।

केही सन्दर्भमा नेतन्याहुको नेतृत्वमा इजरायली र हिजबुल्लाहको स्वार्थका कारण बढ्दो रूपमा बन्धक बनाइएका लेबनानीहरूले समान समस्याको सामना गरेका छन् । तिनीहरूको भलाइ अन्य प्राथमिकताका लागि बलिदान भइरहेको छ । उत्तरी इजरायली नागरिकबारे नेतन्याहुको हालैका कथन ११ महिनापछि उनीहरूलाई थप खतरामा पार्ने देखिन्छ । हिजबुल्लाहले धेरैजसो लेबनानीको इच्छाविपरीत यो युद्धमा देशलाई तानेको छ । यस निर्णयले पहिले नै चरम राजनीतिक र आर्थिक दबाबमा परेको देशका केही भागमा महत्वपूर्ण विनाश निम्त्याएको छ । धेरै लेबनानीहरू निःसन्देह प्यालेस्टिनीप्रति सहानुभूति राख्छन् र गाजामा इजरायलको युद्धलाइ लिएर क्रुद्ध छन् । यसबिच हमास नेता र अक्टोबर ७ हत्याकाण्डका मास्टरमाइन्ड याह्या सिनवारले इजरायल र हिजबुल्लाहबिचका घटनालाई सन्तुष्टिका साथ हेरिरहेका हुन सक्छन् । उनको योजना तथाकथित ‘प्रतिरोधको अक्ष’ को सबै मोर्चाको एकीकरणलाई उत्प्रेरित गर्न डिजाइन गरिएको थियो, जसमा यमनका हुथीहरू साथै इजरायलविरुद्ध क्षेत्रीय युद्धको आशाका साथ हिजबुल्लाह र अन्य इरान समर्थित समूह समावेश छन् । एक वर्षपछि हामी त्यो दृश्यको नजिक छौँ ।

–द कन्भर्सेसनबाट