१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नवीन अर्याल काठमाडाैं
२o८१ असोज १५ मंगलबार o६:२१:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विपतकाे वेला पनि विमानस्थल बन्द गरेर प्रधानमन्त्रीको स्वागत 

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o६:२१:oo

खराब मौसमका कारण दुई दिनसम्म रोकिएका र सडक अवरुद्ध भएपछि हवाई यात्रा रोजेका यात्रुहरूले आइतबारदेखि विमानस्थल खचाखच छ । तर, सोमबार बिहानैदेखि चापमा रहेको विमानस्थल प्रधानमन्त्रीको स्वदेश फिर्तीका लागि आधा घण्टा बन्द गर्दा उडान–अवतरण अस्तव्यस्त रह्यो ।

काठमाडौं उपत्यका भित्रिने राजमार्गहरू तीन दिनदेखि अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढेको छ । उडान व्यवस्थापन गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई हम्मेहम्मे परिरहेको छ । विपत्को वेला उडान व्यवस्थापनमा सकस भइरहेका वेला प्रधानमन्त्री केपी ओली विमानस्थल आधा घण्टा बन्द गरेर स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्री ओली अमेरिकाबाट कतारको दोहा हुँदै अपराह्न साढे चार बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्रीको आगमनका लागि ‘नोटाम’ जारी गरेर आधा घण्टा विमानस्थल बन्द गरिएको थियो । सो अवधिमा भिभिआइपीबाहेक अन्य कुनै पनि उडान–अवतरण गर्न पाइँदैन । प्रधानमन्त्रीको स्वदेश फिर्तीका लागि आधा घण्टा विमानस्थल बन्द हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए । 

सरकारले घोषणा गरेका भिभिआइपीमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री रहेका छन्, जसको औपचारिक विदेश भ्रमणमा विमानस्थल बन्द गरेर स्वागत गर्ने गरिन्छ । विदेशी भिभिआइपीको हकमा पनि यही नियम लागू हुने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रकाशित गरेको एरोनटिकल इन्फर्मेसन पब्लिकेसन ‘एआइटी’मा भिभिआइपी उडान हुँदा नोटाम जारी गर्नुपर्ने व्यवस्था छ । भिभिआइपी उडान हुनुभन्दा १५ मिनेट अगाडि र १५ मिनेट पछाडिसम्म नोटाम जारी गर्ने व्यवस्था रहेको छ । नोटाम जारी भएपछि विमानस्थल बन्द हुन्छ र सोही समयमा भिभिआइपी फ्लाइट गरिन्छ । अमेरिकाबाट दोहा हुँदै आएका प्रधानमन्त्री ओलीका लागि आन्तरिक र अन्तराष्ट्रिय उडानहरू आधा घण्टा रोकिएको थियो ।

नोटाम जारेपछि आकाश र विमानस्थलमा भएका जहाजलाई जहाँको तहीँ होल्ड गरिन्छ । प्रधानमन्त्री ओली चढेको कतार एयरवेजको जहाज अवतरण गर्दा हिमालयन एयरलाइन्सको जहाज आकाशमा होल्ड गरिएको बताइएको छ । देशमा प्रकृतिक विपत् परेको बेला प्रधानमन्त्री अमेरिका भ्रमणमा मस्त रहेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । त्यसमाथि विमानस्थल बन्द गरेर भव्य रूपमा स्वदेश फर्किएको भन्दै झन असन्तुष्टी बढेको छ । 

तीन दिनको अविरल वर्षापछि आइतबारदेखि हवाई सेवा सञ्चालनमा आएको हो । सडकमार्ग अवरुद्ध हुँदा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक धेरै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाको भनाई छ । जसले विहानैदेखि उडान–अवतरण डिले भइरहेका थिए । सोमबारका लागि त्रिभुवन विमानस्थलबाट ३६० आन्तरिक उडान–अवतरण र ११२ अन्तर्राष्ट्रिय उडान–अवतरण तालिका थियाे । 

बिहान सुर्खेत र पोखरामा मौसम खराव भएपछि दिउँसोमात्र उडान सुरु गरिएको थियो । विपी राजमार्ग अवरुद्ध भएपछि मन्थलीबाट लुक्लाका लागि हुने उडानहरू पनि सोमबारदेखि काठमाडौंबाटै भइरहेका छन् । बिहान मौसम खुलेको हुँदा माउन्टेन फ्लाइट पनि भए । यसरी विहानैदेखि चापमा रहेको विमानस्थल आधा घण्टा बन्द गर्दा उडान–अवतरण अस्तव्यस्त बन्न पुगे ।

पोखराबाट पाँच बजे काठमाडौंका लागि आउने श्री एयरलाइन्सको फ्लाइट राती नौ बजेसम्म कुर्दा पनि उडान कन्फर्म नभएपछि मंगलबार (आज) विहानका लागि सारेको एक यात्रुले गुनासो गरे । यस्तै, अन्य वायुसेवा कम्पनीका थुप्रै उडान डिले र अनिश्चित बनेका छन् ।

किन बन्द गरिन्छ उडान ?
भिभिआइपी उडानका क्रममा नोटाम जारी गरेर एयरपोर्ट बन्द गर्नु सामान्य प्रकृया हो । भिभिआइपी फ्लाइट अनटाइम होस् र हवाई सुरक्षामा कुनै चुनौती नहोस् भनेर विमानस्थल बन्द गर्ने गरिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘अनटाइम फ्लाइट, उडान सुरक्षा र राष्ट्रप्रमुख तथा सरकार प्रमुखले गर्ने औपचारिक राष्ट्रिय भ्रमणहरूको स्वागत गर्नका लागि पनि आधा घण्टा विमानस्थल बन्द गर्ने गरिन्छ’, उनले भने, ‘भिभिआइपीको सामान्य भ्रमणहरूमा भने यसरी विमानस्थल बन्द गरेर स्वागत गर्ने व्यवस्था छैन ।’ 

विपतपीडितलाई प्रधानमन्त्रीको आश्वासन : सक्दो सहयोग र राहत पुर्‍याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्नेछैन 

म मुलुकबाहिर रहँदा देशमा अकल्पनीय बाढीपहिरोले जनधनमा क्षति पुर्‍यायो । सयौँ जनताको मृत्यु भयो । केही अझै बेपत्ता हुनुहुन्छ । सयौँ घाइते हुनुहुन्छ । सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य जारी छ । यस विपत्को घडीमा सक्दो सहयोग र राहत पुर्‍याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्नेछैन भन्ने विश्वास दिलाउन चाहन्छु ।

महासभाको भ्रमणबाट नेपाललाई के फाइदा भयो भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने–दुध लिएर आएँ भन्नलाई म न्युयोर्कमा भैँसी दुहुन गएको होइन । संयुक्त राष्ट्रसंघमा हाम्रा विचार राखेँ । विश्वमा देखिएका पछिल्ला समस्याहरूका विषयमा पनि मैले विचार राखेँ ।