१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o८१ असोज १५ मंगलबार o९:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोबाट काभ्रेमा मात्रै  ६२ जनाको मृत्यु, चार बेपत्ता, ५२ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o९:३२:oo

केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो।

घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् । घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पनौती नगरपालिका– ११ बल्थलीमा पहिरोमा एकै परिवारका चारजना अझै बेपत्ता रहेको जनाइएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ। यस्तै, तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक बालकको मृत्यु भएको छ। 

यसैगरी, मण्डनदेउपुरमा चार महिलासहित आठजनाको मृत्यु भएको छ। मृतकमध्ये दुई पुरुष, एक बालक तथा एक बालिका रहेको कार्यालयले जनाएको छ । बेथानचोक गाउँपालिकामा मृतक सातमध्ये चार पुरुष, दुई महिला र एक बालक, रोशीमा चार महिला, एक बालक र एक बालिका, नमोबुद्ध नगरमा पाँचमध्ये दुई महिला तथा पुरुष, बालक र बालिका एक–एक, बनेपा नगरपालिकामा एक पुरुष, एक बालक र एक बालिका, धुलिखेलमा एक पुरुष र एक बालकको मृत्यु भएको छ।

भुम्लु गाउँपालिकामा एक महिला, एक पुरुष र एक बालक तथा चौँरीदेउरालीमा एक महिलाको मृत्यु भएको हो । पाँचखाल नगरपालिका तथा खानीखोला र महाभारत गाउँपालिकामा भने कुनै मानवीय क्षति भएको छैन। बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरण कार्य जारी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए ।