१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ असोज १४ सोमबार o६:१३:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विपत्मा कालोबजारी

विपत्मा राहत दिएर ‘मल्हम’ लगाउनुपर्ने दायित्व बिर्सेर काठमाडौंका थोक तथा खुद्रा व्यवसायीले नाका ठप्प भएको मौका छोपी दैनिक उपभोग्य तरकारीमा गरे शतप्रतिशत मूल्य वृद्धि

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o६:१३:oo

भारी वर्षाका कारण उपत्यकाका सबै नाका ठप्प भएपछि हरियो तरकारी अभाव हुनु स्वाभाविक हो । तर, मागअनुसार आपूर्ति हुन नसकेको मौका छोपेर अचाक्ली मूल्य बढाउनु कालोबजारी हो । विपत्मा राहत दिएर ‘मल्हम’ लगाउनुपर्ने दायित्व बिर्सेर काठमाडौंका थोक तथा खुद्रा व्यवसायीले नाका ठप्प भएको मौका छोपी दैनिक उपभोग्य तरकारी, फलफूल र खाद्यान्नमा अत्यधिक मूल्यवृद्धि गरेका छन् ।

सबैभन्दा धेरै तरकारीमा तीन दिनमै शतप्रतिशत मूल्यवृद्धि गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो तीन दिनमा सबैभन्दा बढी खपत हुने ३४ प्रकारका हरियो तरकारीमा करिब शतप्रतिशत मूल्यवृद्धि भएको छ । काँक्रो, हरियो खुर्सानी, हरियो धनियाँ, गोलभेँडा, बन्दा, काउली, घिरौँला, इस्कुस, सबै प्रकारका साग र हरियो प्याज दोब्बरभन्दा बढी महँगिएको छ भने अन्य तरकारीको भाउ पनि करिब दोब्बर छ । 

बिहीबार ३१ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको स्थानीय काउली आइतबार बिहान ७५ रुपैयाँ पुगेको कालिमाटी बजारले जनाएको छ । त्यस्तै, टनेलको गोलभेँडा ४६ रुपैयाँ प्रतिकिलो रहेकोमा आइतबार ९० रुपैयाँ पुगेको छ । ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको बन्दा ७० रुपैयाँ, काउली ७५ रुपैयाँबाट बढेर १४५ रुपैयाँ पुगेको छ ।

६५ रुपैयाँ प्रतिकिलोको घिरौँला १३५ रुपैयाँ र २२ रुपैयाँको इस्कुस ५५ रुपैयाँ पुगेको छ । लोकल ४२ र हाइब्रिड १७ रुपैयाँ रहेको काँक्रो आइतबार क्रमशः ११० र ३५  रुपैयाँ प्रतिकिलो पुगेको छ । हरियो खुर्सानी, धनियाँ र लसुनको भाउ पनि अचाक्ली बढेको छ । कालिमाटी बजारका अनुसार २९०, १४१ र ९५ रुपैयाँ रहेको हरियो लसुन, धनियाँ र खुर्सानी बढेर क्रमशः ३७६, ४०० र २२६ रुपैयाँ प्रतिकिलो पुगेको छ । 

त्यस्तै, अन्य तरकारी गाँजर, बोडी, घिउसिमी, करेला, लौका, फर्सी, पिँडालु, च्याउ, चुकन्दर, पुदिना, मुलालगायतको भाउ पनि करिब शतप्रतिशत बढेको छ । कालिमाटी बजारको तथ्यांकअनुसार आलु, प्याज, मुला, पाकेको फर्सी, तामा, गुन्द्रुकलगायत छिटो नष्ट नहुने तरकारीको भाउ भने स्थिर छ ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने मूल्यवृद्धि स्वाभाविक भएको दाबी गरे । ‘अहिले मागअनुसार आपूर्ति हुन सकिरहेको छैन । अर्कातिर, व्यवसायीको माध्यमबाट भन्दा पनि उपत्यकाका करेसाबारीबाट तरकारी बजारमा आइरहेका छन्,’ उनले भने, ‘त्यसैले केही हदसम्म मूल्य बढ्नु स्वाभाविक हो ।’

घिमिरेले तरकारीको बढ्दो भाउ २–३ दिनमै घट्नेसमेत बताए । ‘बढेको भाउ धेरै समय टिक्दैन । चाँडै तरकारी आपूर्ति बढाइहाल्ने गृहकार्यमा जुटेका छौँ,’ उनले भने, ‘त्यसपछि मूल्यमा सुधार आइहाल्छ ।’ उनले थोक बजारमा तरकारीको भाउमा खासै अन्तर नआएको, तर खुद्रामा मनपरी बढ्दा उपभोक्ताले महँगीको सामना गर्नुपरेको उनको भनाइ छ ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार दिउँसो महँगी नियन्त्रण र अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्नेबारे छलफल भएको छ । छलफलमा एक हप्तासम्म धान्ने खाद्यान्न र पेट्रोलियम पदार्थको मौज्दात रहेकाले आतिइहाल्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको वाणिज्य तथा आपूर्ति संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए । ‘अत्यावश्यक वस्तुको नियमित आपूर्ति र मूल्य नियन्त्रणमा सरकार सजग छ,’ उनले भने ।

१३ सय टन तरकारी चाहिने, तर अढाई सय टन मात्रै आपूर्ति
उपत्यकामा दैनिक एक हजारदेखि १३ सय टनसम्म तरकारीको माग छ, तर सबै नाका बन्द हुँदा आइतबार तरकारी आयात रोकिएको घिमिरेले बताए । ‘बाढीबाट बचाइएको र उपत्यकाका तीन जिल्लाका करेसाबारीमा रहेका तरकारी बजारमा आए । करिब २५० टन जति तरकारी आयो होला,’ उनले भने । हरियो साग, काँक्रोलगायतको आपूर्ति कम भएको, तर मुला, गाँजरजस्ता तत्कालै क्षति नहुने तरकारीको आपूर्ति आइतबार बढी भएको उनले बताए ।

तेल, चिनी र गेडागुडीको भाउ पनि वृद्धि
खाद्य किराना व्यवसायीहरूका अनुसार पछिल्लो समय तेल र चिनीको भाउ पनि विनाकारण नै वृद्धि भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समिति सदस्य रहेका किराना व्यवसायी चन्द्र थापाले प्रतिकार्टुन १९ सय रहेको अमृत ब्रान्डको सनफ्लावर तेल बढेर २२ सय पुगेको बताए । ‘तेलको भाउ किन बढ्यो भन्ने जानकारी नै छैन । होलसेलबाट बढेर आएको छ,’ उनले भने । 

त्यस्तै, चिनी पनि १०० रुपैयाँबाट ११० पुगेको उनले बताए । ‘चाडपर्वमा सरकारले सहुलियत पसल सञ्चालन गरेर छुट दिइरहेको छ, तर उत्पादक र थोक व्यवसायीले किन मूल्य बढाइरहेका छन्, बुझ्न सकिएको छैन,’ उनले भने । खुद्रा व्यापार संघका अनुसार गेडागुडीको मूल्य पनि औसतमा १० रुपैयाँ प्रतिकिलो बढ्न थालेको छ । महिना दिनको अवधिमा २२० रुपैयाँ प्रतिकिलो रहेको मास दाल २३० र  मुगी खोस्टा २२० बाट २३० रुपैयाँ पुगेको छ । त्यस्तै, चना दाल १४० बाट १८० रुपैयाँ तथा २५० रुपैयाँ रहेको राजमा २९० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ ।

थोक व्यवसायीहरूको संस्था खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त प्रधानले कृत्रिम मूल्यवृद्धि नभएको दाबी गरे । ‘मूल्य निर्धारणका विभिन्न तत्वले पारेको असरका आधारमा खाद्यान्नको भाउ निर्धारण भइरहेको छ । केही खाद्यान्नको अस्वाभाविक भाउ पनि बढेको छ,’ उनले भने । 

बल्खुको गोदाममा २० करोडभन्दा बढीको फलफूल क्षति, उपभोक्ता मूल्य पनि अकासियो
शनिबार दिउँसो र रातभर परेको अविरल वर्षाले बल्खुस्थित फलफूल गोदाम पूर्ण रूपले नष्ट भएको छ । खोलाकिनारमा रहेको गोदामलाई पानीबाट जोगाउन व्यवसायीले केही फिटमाथि मात्र फलफूल राख्ने व्यवस्था मिलाएका थिए । तर, गोदाममा १० फिट उचाइसम्म पानी पुगेपछि सबै फलफूल नष्ट भएको थोक व्यवसायी अमर बानियाँले जानकारी दिए । ‘बल्खुमा रहेको फलफूल केही बाँकी रहेन, सबै नष्ट भयो,’ उनले भने, ‘यहाँको फलफूल नष्ट भएकाले नै बजारमा उपभोक्ता मूल्य पनि बढेको सुनेको छु ।’

दुई दिनअघिको तुलनामा बजारमा स्याउ, अनार, किवी, एभोकाडोलगायतको मूल्य प्रतिकिलो १०० रुपैयाँसम्म बढेको छ । भाउ घटाउन फलफूलको आपूर्ति बढाउने विकल्प मात्रै भए पनि तत्काल आयातको सम्भावना नरहेको बानियाँले बताए । ‘दसैँलाई भनेर खासा नाकाबाट फलफूल मगाएका थियौँ । तर, पुल नै भत्केर तीन महिनापछि मात्रै बाटो सञ्चालनमा आउने खबर सुनेका छौँ,’ उनले भने । केरुङ नाकाबाट फलफूल ल्याउँदा प्रतिट्रक एक लाख २० हजार रुपैयाँसम्म भाडा पर्ने भए पनि व्यवसायीले खासा–तातोपानी नाकाबाट प्रतिट्रक ५० हजारमा फलफूल ल्याउन खोजेका थिए ।

मूल्य नियन्त्रण र नियमित आपूर्तिका लागि सजग छौँ 
राजन पौडेल, महानिर्देशक, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

दैनिक उपभोग्य वस्तुको आपूर्ति सुनिश्चितताको अवस्थाबारे छलफल भएको छ । सो छलफलमा अत्यावश्यक खाद्यान्न, पेट्रोलियम पदार्थलगायतको मौज्दात कम्तीमा एक सातालाई पुग्ने गरी व्यवस्थापन भएको निष्कर्ष निकालेका छौँ । बजार अनुगमन तीव्र पार्ने र उपभोक्ताका गुनासो तथा उजुरीलाई सम्बोधन गर्ने गरी कार्ययोजना बनाएर काम गरिरहेका छौँ ।

खुद्रा पसलमा तरकारीको मूल्य मनपरी बढेको छ
खोमप्रसाद घिमिरे, अध्यक्ष, फलफूल तथा तरकारी व्यवसायी महासंघ

थोकमा भन्दा पनि खुद्रामा मनपरी मूल्यवृद्धि भएको हाम्रो बुझाइ छ । मागअनुसार तरकारी आपूर्ति गर्न हामीले सबै संयन्त्र परिचालन गर्दै छौँ । त्यसैले अब छिटै तरकारीको आपूर्ति बढ्छ र मूल्य नियन्त्रण हुन्छ ।