१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ असोज १४ सोमबार o६:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विपत्तिमा हवाई यात्रुसँग चर्को भाडा असुली

सबै गन्तव्यको अधिकांश टिकट बेचेपछि तीन दिन सस्तोमा बेच्ने

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o६:३३:oo

वायुसेवा कम्पनीले हवाई यात्रुसँग सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुलेका छन् ।तीन दिनसम्मको अविरल वर्षाले सडक यातायात अवरुद्ध भएपछि हवाई उडानमार्फत उपत्यकाबाहिर जाने एक मात्र विकल्प भएको मौका छोपेर वायुसेवा प्रदायकले टिकट बिक्रीमा दोब्बर मूल्य असुलेका छन् ।

उनीहरूको यस्तो ‘निर्मम व्यवहार’को चौतर्फी आलोचना भएपछि विज्ञप्ति जारी गरेर आगामी तीन दिनसम्म सरकारले तोकेको उच्चदरभन्दा कम शुल्क उठाउने निर्णय भएको जानकारी दिएका थिए, तर दुई दिनसम्मको टिकट उच्चदरमा बिक्री गरेर तीन दिनसम्मका लागि मध्यम भाडादर तोकेको भनी झुटो प्रचार गरेको खुल्न आएको छ । अहिले अनलाइनमार्फत सोमबार र मंगलबारका लागि उपत्यकाबाहिरका कुनै पनि गन्तव्यको टिकट पाउन सकिँदैन ।

आमनागरिक, नियमनकारी निकाय, संसदीय समितिदेखि प्रधानमन्त्रीसम्मले भाडा घटाउन दबाब दिएपछि वायुसेवा सञ्चालक संघ नेपालले सोमबार, मंगलबार र बुधबार तीन दिनसम्म अधिकतम दरका टिकट बिक्री नगर्ने निर्णय गरेको छ । 

संघका अध्यक्ष मनोज कार्कीले भने शुल्क घटाउने निर्णय गर्दा २५ प्रतिशत मात्र टिकट बुकिङ भएको जिकिर गरे । तर, पहिला बिक्री भइसकेका टिकटको ‘पैसा फिर्ता नहुने उनले स्पष्ट गरे । ‘सरकारले नै तोकिदिएको ‘अपर लिमिट’भित्र रहेर हामीले टिकट बिक्री गर्ने हो । प्राकृतिक विपत्तिको घडीलाई मध्यनजर गर्दै तीन दिनसम्म अधिकतम दरको टिकट बिक्री नगर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘निर्णयपछि सोमबारकै लागि ‘लो लिमिट’ भाडादरका धेरै सिट उपलब्ध थिए । धेरैले सस्तो दरमै टिकट काट्नुभएको छ । पहिल्यै टिकट काटिसकेका यात्रुको पैसा फिर्ता हुने सम्भावना रहँदैन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले पनि वायुसेवा सञ्चालकहरूको बैठक डाकेर विपत्का वेलामा अधिकतम हवाईभाडा नलिन निर्देशन दिएका थिए । 

 प्रधानमन्त्री र संसदीय समितिले समेत घटाउन दिएका थिए निर्देशन
प्रधानमन्त्री केपी ओली र संसद्को राज्य व्यवस्था सुशासन समितिले आइतबार दिउँसो हवाई भाडा घटाउन ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री ओलीले अमेरिकाबाटै सामाजिक सञ्जाल एक्स (ट्विटर)मा पोस्ट गरेर सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए । ‘लगातारको वर्षा र बाढीपहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठ्यारो परेको छ । हवाईभाडा अरू वेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाईसेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ,’ प्रधानमन्त्री ओलीले पोस्ट गरेका छन् ।

‘देशका विभिन्न स्थानमा मनसुनी वर्षाले निम्त्याएको बाढीपहिरोका कारण देशभरको जनजीवन प्रभावित भएको छ, यस्तो अवस्थामा सरकार र सरोकारवाला पक्षले आआफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने देखिन्छ,’ समितिको निर्देशनमा भनिएको छ, ‘तर, वायुसेवा कम्पनीहरूले आफूखुसी हवाईभाडा बढाउँदा आमनागरिकमा ठुलो असर पारेको छ ।’

 राहत दिनुपर्ने समयमा यात्रुलाई हवाई सञ्चालककोे आहत 
काठमाडौं–विराटनगर एकतर्फी साधारण भाडादर पाँच हजार सात सय रहेकोमा आइतबार नौ हजार नौ सय पु¥याइएको थियो । यस्तै, काठमाडौं–भद्रपुरको एकतर्फी भाडा ६ हजार चार सय रुपैयाँ रहेकोमा १२ हजारसम्म लिइएको छ । काठमाडौं–धनगढी हवाईभाडा सात हजार नौ सय रुपैयाँ रहेकोमा आइतबार १३ हजार तीन सय रुपैयाँमा बिक्री गरिएको छ ।