भारतीय सुरक्षा बलले बिहीबार कस्मिरमा जारी झडपमा कम्तीमा पाँचजना आतंकवादी मारेको भारतीय सेनाले जनाएको छ। सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि नै कस्मिर आणविक शक्तिसम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच विभाजित छ र दुवै देशले यस क्षेत्रमा पूर्ण रूपमा दाबी गर्दै आएका छन्।
भारतीय सेनाले कारबाहीमा पाँच ‘आतंककारी’ को सुरक्षा बलको गोली लागृर मृत्यु भएको र दुईजना सैनिक घाइते भएको जनाएको छ।
सुदूरउत्तरी क्षेत्रमा ५० लाख भारतीय सेना तैनाथ छन्, जुन ३५ वर्ष लामो विद्रोहसँग लडिरहेको छ जसमा दसाैँ हजार नागरिक, सैनिक र विद्रोही मारिएका छन्। उक्त क्षेत्रमा यो वर्ष पनि कम्तीमा १२० जना मारिएका छन्।
विद्रोही समूहहरूले कस्मिर क्षेत्रको स्वतन्त्रताको माग गर्छन् वा यस क्षेत्रलाई पाकिस्तानमा गाभ्न चाहन्छन्। नयाँदिल्लीले पाकिस्तानलाई नियमित रूपमा लडाकुहरूलाई हतियार प्रदान गरेको र उनीहरूलाई आक्रमण गर्न मद्दत गरेको आरोप लगाउँदै आएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले सन् २०१९ मा उक्त क्षेत्रको आंशिक स्वायत्तता खारेज गर्दै यस क्षेत्रलाई आफ्नो प्रत्यक्ष शासनअन्तर्गत ल्याएको थियो। करिब एक करोड २० लाख जनसंख्या रहेको यस क्षेत्रमा नयाँदिल्लीले नियुक्त गरेका गभर्नरको नेतृत्वमा प्रशासनिक काम हुने गरेको छ।