१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १७:३१:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बिजुली नहुँदा अँध्यारोमा विपन्न बस्ती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १७:३१:oo

सिराहाको गोलबजार हुँदै जिल्लाको पुरानोमध्येको मानिने आसोपुर बल्कवा बजार जोड्ने मैनाबत्ती पुलको पूर्वदक्षिणपट्टि खोलाकिनारको करिब २३ घरधुरी रहेको विपन्न बस्ती अँध्यारोमा बस्न बाध्य छ। गाउँदेखि पारिपट्टिको बल्कवा बजारमा बिजुली पुगेको भए पनि विपन्न बस्ती अझै अँध्यारोमा गुजारा गरिरहेको छ।

नेपाल विद्युत् प्राधिकरणको मिर्चैया शाखाअन्तर्गत पर्ने गोलबजार नगरपालिका– ११ को उक्त बस्तीमा बजेट अभाव देखाउँदै विद्युतीकरण नहुँदा गर्मीमा सास्ती भोग्न बाध्य रहेको स्थानीय बासिन्दाको गुनासो छ। करिब पाँच वर्षअघि मैनाबत्ती पुलदेखि करिब पाँच सय मिटर उत्तरसम्म स्थानीय सरकारले बिजुली पुर्‍याएको भए पनि बस्तीसम्म नपुर्‍याउँदा आफूहरूले सास्ती भोगिरहेको स्थानीय ३५ वर्षीय समिम आलमले बताए।

‘बस्तीभन्दा करिब पाँच सय मिटर उत्तरसम्म बिजुलीको पोल र तार टाँगिएपछि गाउँसम्म बिजुली आउने आशामा थियौँ,’ उनले भने, ‘त्यति वेलै गाउँमा दुईवटा पोलमा तार झुन्ड्याइयो। तर, कतै पनि तार नजोडी हिँडेकाहरू गाउँमा फर्केर आएका छैनन्।’ बस्तीमा विद्युतीकरणका लागि पहल गरिदिन वडा कार्यालयमा पटक-पटक मौखिक र लिखित निवेदन दिएपछि वडा कार्यालयमार्फत प्राधिकरणको मिर्चैया शाखामा अनुरोध गरे पनि बेवास्ता गरिएको उनको गुनासो छ।

बस्तीकी करिब ४० वर्षीया सहाना खातुनले बिजुली नहुँदा अहिलेको चर्को गर्मीमा नुहाउन र पिउने पानीको जोहो गर्नसमेत समस्या भएको सुनाइन्। ‘चैत वैशाखको जस्तो गर्मी छ, बिजुली नभएपछि पंखा चलाउने कुरा भएन,’ उनले भनिन्, ‘काम गरेर घर फर्किएपछि गर्मी हुँदा हाते पंखा चलाएर बस्छौँ।’ टुकीको उज्यालोको भरमा जसोतसो खाना बनाएर खाने भए पनि छोराछोरीलाई रातको समयमा लेखपढ गर्न गाह्रो भइरहेको उनको गुनासो छ।

गर्मीले घरमा बस्न नसक्ने भएपछि बगैँचाको शीतलमा बस्नुपर्ने बाध्यता स्थानीय ६० वर्षीया गुलेशा खातुनले सुनाइन्। ‘गर्मीले घरमा बस्नै सक्दैनौँ,’ उनले भनिन्, ‘नातिनातिनासहित दिनभर घरनजिकैको आँपको बगैँचामा आएर बस्छु। राति त जस्तोसुकै गर्मी भए पनि घरमै सुत्नुपर्ने भएकाले हाते पंखा चलाउँछौँ।’

बस्तीका २३ घरधुरीमध्ये तीन घरले मात्र गाउँभन्दा पाँच सय मिटर परबाट आफ्नै खर्चमा तार तानेर बिजुली बालेका छन्। ‘त्यति परबाट घरसम्म बिजुली ल्याउन करिब २५ हजार रुपैयाँभन्दा बढी खर्च भयो,’ स्थानीय ४० वर्षीया ललियादेवी पासवानले भनिन्, ‘थोरै जग्गा भएकाले प्रायः मजदुरी गरेर जीविका चलाएकाहरूले कसरी त्यत्रो रकम खर्चिएर बिजुली ल्याउन सक्नू?’

धर्ना बस्नुपर्ने अवस्था छ : वडाध्यक्ष
बस्तीका सबै घरधुरीले आफ्नै खर्चमा बिजुली ल्याउने आर्थिक अवस्था नरहेको गोलबजार ११ का वडाध्यक्ष सोहेब अनबरले बताए। ‘वडा कार्यालयको तर्फबाट बस्तीमा बिजुली ल्याउन कयौँपटक मौखिक र लिखित ताकेता गर्‍याैँ,’ उनले भने, ‘प्राधिकरणको मिर्चैया शाखाले बेवास्ता गर्दै आएको छ, अब स्थानीय बासिन्दाले प्राधिरणको शाखामा धर्ना बस्नुपर्ने अवस्था सिर्जना भएको छ।’

उनका अनुसार बल्कवाको मुख्य बजार क्षेत्रको पूर्वपट्टि तीन फेज र पश्चिमपट्टि सिंगल फेजमा विद्युतीकरण हुँदा भोल्टेज नपुग्ने समस्या छ। वडा क्षेत्रको महब्बा टोलमा पनि अहिलेसम्म बिजुली पुग्न नसकेको जानकारी दिँदै उनले रेडक्रस टोलमा पनि पूर्ण रूपले विद्युतीकरण नभएको बताए।

प्राधिकरण भन्छ– जानकारी छैन
प्राधिकरण मिर्चैया शाखा प्रमुख मनोज शर्माले बल्कवामा बिजुली नपुगेको विषयमा लिखित जानकारी नरहेको दाबी गरे। करिब चार-पाँच वर्षअघि बस्तीमा दुईवटा पोल गाडेर तार टाँगेको आफूले पनि सुनेको बताउँदै उनले भने, ‘प्राधिकरणले त्यत्रो वर्षसम्म विद्युतीकरणको काम अलपत्र छोड्दैन र मिल्दैन पनि।’

बस्तीमा पोल र तार कुन निकायबाट गएको हो, त्यसको यकिन गरी बस्तीको विद्युतीकरणको योजना हस्तान्तरण गरी वडा वा नगरपालिकाबाट लिखित निवेदन आए जुनसुकै वेला काम गर्न तयार रहेको उनले बताए। ‘पालिका र वडा कार्यालयहरूले आफ्नो सीमा क्षेत्रमा कहाँ-कहाँ विद्युतीकरण भएको छैन, त्यसको विषयमा लिखित जानकारी दिए शाखाले आफ्नो बजेट र कार्यक्रमभित्र राखेर विद्युतीकरण गर्दै आएको छ र बल्कवामा पनि गर्छौं,’ उनले भने।