१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार o९:२१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

११ प्रतिशतले घट्यो एफडिआई प्रतिबद्धता  

०८०/८१ को पहिलो दुई महिनामा १४ अर्ब ६२ करोड र चालू आवको सोही अवधिमा १३ अर्ब एफडिआई प्रतिबद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o९:२१:oo

सरकारले लगानीकर्तामा आत्मविश्वास बढेको र देशमा लगानीको वातावरणसमेत बन्दै गइरहेको बताइरहँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता भने घटेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एफडिआई प्रतिबद्धता ११.२१ प्रतिशतले घटेको हो ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विभिन्न क्षेत्रका डेढ सय उद्योगहरूमा १२ अर्ब ९८ करोड रुपैयाँबराबरको एफडिआई स्वीकृत भएको उद्योग विभागले जनाएको छ । जसमध्ये ५२ उद्योगको ८६ करोड २५ लाख रुपैयाँ एफडिआई अटोमेटिक रुटबाट स्वीकृत भएको हो । गत आवको सोही अवधिमा विभिन्न क्षेत्रका एक सय ११ उद्योगको १४ अर्ब ६२ करोड रुपैयाँ एफडिआई स्वीकृत भएको थियो ।

चालू आर्थिक वर्षमा एफडिआई रकम घटे तापनि उद्योग–परियोजनाको संख्या भने बढेको छ । गत आवको पहिलो दुई महिनामा विदेशी लगानीका एक सय ११ उद्योग–परियोजनाले स्वीकृति लिएकोमा चालू आवको सोही महिनामा विदेशी लगानीकै एक सय ४९ उद्योगले स्वीकृति लिएका हुन् ।

सुरुवातदेखि ०८१ भदौ मसान्तसम्म विभिन्न देशबाट पाँच खर्ब ३३ अर्ब रुपैयाँ एफडिआई स्वीकृत भएको उद्योग विभागले जनाएको छ । यस अवधिमा विभिन्न क्षेत्रका ६ हजार पाँच सय ५५ उद्योग तथा परियोजनाले विदेशी लगानीको स्वीकृति लिइसकेको विभागको तथ्यांक छ । 

भदौमा घट्यो एफडिआई
चालू आर्थिक वर्ष भदौ महिनामा विदेशी लगानी प्रतिबद्धता स्वात्तै घटेको देखिन्छ । आर्थिक वर्षको पहिलो महिना साउनमा नौ अर्ब १५ करोड रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएकोमा भदौमा तीन अर्ब ८३ करोडमा सीमित भएको विभागले जनाएको छ । 

साउनमा आठ अर्ब ५५ करोड रुपैयाँ लगानी प्रतिबद्धता नियमित रुटबाट र ५९ करोड ५६ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता अटोमेटिक रुटबाट स्वीकृत भएको देखिन्छ । भदौमा तीन अर्ब ५६ करोड रुपैयाँ लगानी प्रतिबद्धता नियमित रुटबाट र २६ करोड ५० लाख अटोमेटिक रुटबाट स्वीकृत भएको विभागले जनाएको छ ।

बिजनेस भिसा लिने बढे
यस वर्ष बिजनेस भिसा लिने विदेशीको संख्या बढेको छ । चालू आर्थिक वर्षको साउन र भदौमा बिजनेस भिसा लिने लगानीकर्ता ६ सय, लगानीकर्ताका प्रतिनिधि एक सय ३६ र डिपेन्डेन्ट एक सय ९२ रहेका छन् । जबकि, गत आवको सोही अवधिमा बिजनेस भिसा लिने लगानीकर्ता चार सय ९८, प्रतिनिधि ५१, डिपेडेन्ट एक सय २७ विदेशी रहेका थिए । यस वर्षको भदौमा मात्रै बिजनेस भिसा लिने विदेशी लगानीकर्ता तीन सय ९२, प्रतिनिधि ८१ र डिपेन्डेन्ट एक सय ३४ रहेका छन् ।