१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार १o:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पुस्तकरहित शुक्रबारले विद्यार्थीमा परिवर्तन ल्याउँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १o:५४:oo

काठमाडौं महानगरपालिकाले गत वर्षदेखि सुरु गरेको ‘पुस्तकरहित शुक्रबार’का उपलब्धि देखिन थालेको छ । एक वर्षको अवधिका विद्यार्थीले नेतृत्व तथा व्यक्तित्व विकास अभ्यास, सरसफाइका लागि श्रमदान, स्केचिङ र स्कल्पचर, चित्रमा रङ भर्ने र कागज काटेर कलात्मक वस्तु तयार बनाउने, संगीत, उद्यमशील, विपत् व्यवस्थापनलगायत दर्जनौँ विषयमा आफूलाई तयार पारेका छन् ।

महानगरले महानगरभित्रका ८७ वटै सामुदायिक विद्यालयमा पुस्तकरहित शुक्रबार अभियान सुरु गरेको छ । कार्यक्रमको प्रभावकारिताबारे महानगरको टोलीले शुक्रबार विद्यालय निरीक्षण गरेको छ । निरीक्षणका क्रममा महानगरको शिक्षा विभागको टोली जनप्रभात माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, कुलेश्वर माध्यमिक विद्यालय, बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालय, नवजागृति माध्यमिक विद्यालयमा, जनकल्याण माध्यमिक विद्यालय, गुह्येश्वरी माध्यमिक विद्यालय, धुमबराह माध्यमिक विद्यालय र तरुण माध्यमिक विद्यालय पुगेको थियो । त्यहाँ पुग्दा विद्यार्थीहरू स्केचिङ र स्कल्पचरमा सीप सिकिरहेका थिए । तरुण माध्यमिक विद्यालयमा बाबा समूहको नेतृत्वमा सरसफाइका लागि श्रमदान भइरहेको थियो । यस्तै कंकेश्वरी आधारभूत विद्यालयमा १ देखि ३ सम्म विद्यार्थीहरू चित्रमा रङ भर्ने र कागज काटेर कलात्मक वस्तु तयार गरिरहेका थिए । उनीहरू फलफूलका आकारलाई कसरी वास्तविक देखाउन सकिन्छ, आफैँ उपाय निकालिरहेका थिए । त्यस्तै महानगरको टोली नवजागरण सामुदायिक सिकाइ केन्द्र पुग्दा त्यहाँ सहकार्यमा नेतृत्व तथा व्यक्तित्व विकासको अभ्यास चलिरहेको थियो । गीतामाता माध्यमिक विद्यालयमा इसिडीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरू चित्र कोर्दैै थिए । 

‘पुस्तकरहित शुक्रबार’अन्तर्गत महानगरले ४ देखि ८ कक्षासम्मका बालबालिकालाई सिर्जनात्मक सिकाइ गर्दै आएको छ । जसअन्तर्गत हाजिरीजवाफ, वाक्य निर्माण, स्काउटलगायत क्रियाकलाप गरिन्छ । महानगरकै शिवपुरी माध्यमिक विद्यालयले शुक्रबार चलचित्र सिर्जनासम्बन्धी छलफल गरेको छ । हाल महानगरभित्र एकीकृत पाठ्यक्रमअन्तर्गत १ देखि ३ कक्षाका विद्यार्थीहरू खेल, रचना वाचन, चित्रकला अभ्यास गर्छन् । गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा स्टिम, बाबा, स्काउटिङजस्ता रचनात्मक सिकाउने गरिएको छ । ४ देखि ८ कक्षासम्मका सिर्जनात्मक कक्षाहरू १० वटा समूहमा चलिरहेको थियो । महानगरका सामुदायिक विद्यालयमा पुस्तकरहित शुक्रबारअन्तर्गत चरित्र र नेतृत्व विकास, डान्स, संगीत, उद्यमशील, विपत् व्यवस्थापन समूहका कार्यक्रम फोकल शिक्षक र सेवाप्रदायकबाट सीप तथा व्यावहारिक सीप सिकाइन्छ । 

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहका अनुसार हाल महानगरका सामुदायिक विद्यालयका विद्यार्थी जीवन जिउनका लागि चाहिने सीप सिकिरहेका छन् । ‘पुस्तकरहित शुक्रबारका क्रियाकलाप हेर्दा बालमैत्री सिकाइका लागि पुस्तकमा भएका सामग्री पुस्तकका पाना नपल्टाई सिकाउने प्रणाली विकास गर्दै लैजानुपर्छ,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ज्ञान, सिप र सकारात्मक सोच विकासको नतिजा किताबका पानामा होइन, सिकारुको रुचिमा निर्भर हुन्छ, यसका लागि महानगरपालिकाले पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिएको छ ।’ मेयर शाहका अनुसार विद्यालयको पूर्वाधार, वातावरणीय तथा अन्य सामुदायिक पक्षसँगै शिक्षकको क्षमता विकासका लागि लगानी बढाएको छ । ‘हिजो विद्यालयमा देखिन थालेको यो नतिजा क्रमशः परिवार हुँदै समुदायमा विस्तार हुनेछ, भन्ने अपेक्षा राखेका छौँ,’ मेयर शाहले लखेका छन्, ‘सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राले आफ्नो बाटो, परिवार र समाजप्रतिको दायित्व, स्वावलम्बनका कुरा निर्धक्क बोल्न सक्छन्, यो ठुलो उपलब्धि हो, प्राप्त गर्नु पर्ने चिज धेरै छन् । यसको सुरुवात राम्रो छ ।’