१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
तस्बिर सौजन्य : नविन्द्र ढकाल
२o८१ असोज ६ आइतबार १२:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १२:१३:oo

शनिबार बेलुकीदेखि प्रसूति बेथा लागेर स्वास्थ्यमा थप जटिलता देखिएकी एक गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। बागलुङको तमानखोला गाउँपालिका– १ बोङगादोभानकी २० वर्षीया सुनिला श्रीपालीको स्वास्थ्यमा थप जटिलता आएपश्चात् आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

शनिबार बेलुकी करिब ९ बजे सुत्केरी बेथा लागेर स्थानीय स्थास्थ्यकर्मीको सल्लाहमा उनलाई परिवारले ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए। स्वास्थ्य केन्द्र आउने वेला सामान्य बेथा लागेकी उनलाई आइतबार बिहानदेखि एक्कासि रक्तचाप बढ्ने र शरीर काप्ने, बेहोस हुने भएपछि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको स्वास्थ्य केन्द्रका डाक्टर नविन्द्र ढकालले बताए।

गर्भवतीको उद्धारका लागि गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफैँ पहल गरेर नेपाली सेनाको हेलिकोप्टर व्यवस्थापन गरेका थिए। गर्भवती महिलाको पहिलो गर्भ रहेको र ४० हप्ता पनि कटिसकेको हुँदा स्वास्थ्यमा थप जटिलता देखिएपश्चात् स्वास्थ्य कार्यालय जिल्ला प्रशासनमार्फत प्रदेश सरकारलाई जानकारी गराएपश्चात् हेलिकोप्टरको व्यवस्थापन भएको डा. ढकालले बताए।

घुमफिरको याम भएकाले विकको उद्धारका लागि हेलिकोप्टर पाउनै मुस्किल भएको थियो। निजी कम्पनीका सबै हेलिकोप्टर पर्यटक बोकेर हिँडेकाले निकै लामो मिहिनेतपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्न सकिएको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए ।

उच्च रक्तचापको औषधि चलाउँदा गर्भवती आमालाई कम्पन आउने, बेहोस हुने र पेटमा भएको बच्चाको समेत मुटुको चालमा तलमाथि हुने भएकाले बुर्तिबाङमा सुत्केरी गराउन सम्भव नभएको डाक्टर ढकालले बताए। शनिबार साँझदेखि नै गर्भवतीको स्वास्थ्य सुरक्षाका लागि डाक्टरहरू नविन्द्र ढकाल, रचना सुवेदीलगायत स्वास्थ्यकर्मीको समूह खटेको थियो।