१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
यू जी
२o८१ असोज ६ आइतबार १o:४१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी चुनावी नतिजा र चिनियाँ तयारी

Read Time : > 2 मिनेट
यू जी
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १o:४१:oo

सम्भावित सबैभन्दा खराब अवस्थालाई रोक्न सीले नोभेम्बरमा निर्वाचित जोकोही नेतासँग पनि नियमित रूपमा प्रत्यक्ष संवाद गर्नुपर्नेछ

नाेभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प वा कमला ह्यारिसको जितको प्रभाव के कसो होला भनेर बाँकी विश्वले लेखाजोखा गरिरहेका छन् भने यता चीनका लागि दुवै उम्मेदवारले गम्भीर चुनौती प्रस्तुत गरेका छन् । निश्चित रूपमा यी दुवै उम्मेदवारले विश्वव्यापी अराजकतामा भयानक विकास उत्प्रेरित गर्न सक्ने गरी विश्वका दुई ठुला शक्ति अमेरिका र चीनबिच खुला द्वन्द्व चाहन्नन् । तर, चिनियाँ अधिकारीले व्यापार, प्रविधि र ताइवान मामिलामा तिक्त विवादको अपेक्षा गरिरहेका छन् ।

चीनले अमेरिकासँगको सम्बन्धमा थप चुनौती सामना गर्न सम्पूर्ण मुलुकलाई आफ्नो प्रयासमा संलग्न गराएर तयारी गरिरहेको छ । यसको अर्थ चीन आफ्नो वैदेशिक मामिलाविज्ञमा भर पर्नु मात्र होइन, देशभरका स्रोतसाधन प्रयोग गर्दै आर्थिक विज्ञ, सैन्य नेता र प्रविधि विशेषज्ञसँग समन्वय गर्नु पनि हो । यो दृष्टिकोण चीनको वृद्धिलाई सीमित गर्ने अमेरिकी रणनीतिको प्रतिक्रिया हो, जसमा प्रविधिमा अगाडि रहन प्रयास गर्ने, विश्वव्यापी बजारमा चीनको पहुँचमा रोक वा नियन्त्रण गर्ने र ‘चीन चुनौती’लाई सम्बोधन गर्न एसिया र बाहिर गठबन्धन निर्माण समावेश छन् । दबाब महसुस गर्दै चीनले विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकासँग दीर्घकालीन संघर्षको तयारी गरिरहेको छ ।

यही प्रक्रियाको एक हिस्साका रूपमा चीनले जुनसुकै मूल्यमा आर्थिक वृद्धि हासिल गर्ने आर्थिक रणनीति त्यागेर नवप्रवर्तनद्वारा सञ्चालित र दीर्घकालीन भूराजनीतिक तनाव सामना गर्न सक्ने लचिलो अर्थतन्त्र निर्माणतर्फ डोर्‍याएको छ । घरेलु आविष्कारलाई तीव्रता दिएर चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि अर्थतन्त्रको पुनर्संरचना गर्ने र घरजग्गामाथिको अति निर्भरता कम गर्ने लक्ष्य राखेका छन् । हालै सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को २०औँ केन्द्रीय समितिको तेस्रो बैठकले यो व्यापक पुनर्संरचनाका लागि अन्तिम स्वीकृति दिएको छ ।

वैज्ञानिक प्रगति र प्राविधिक पराक्रम सीको अर्को प्रमुख रणनीतिक लक्ष्य हो । चीनले आविष्कारका लागि आफ्नो क्षमताको विकासलाई ठुलो महत्व दिएको छ र केही प्राविधिक क्षेत्रमा वैश्विक च्याम्पियन बन्न कटिबद्ध छ । तर, चिनियाँ प्राविधिक कम्पनी र व्यक्तिविरुद्ध लक्षित अमेरिकी प्रतिबन्धले यी प्रयासमा अवरोध निम्त्याइरहेका छन् । र, अमेरिकाले नियन्त्रण जमाउने उद्देश्यअनुसार नै काम गरिरहेको छ ।

व्यापार र लगानीलाई परम्परागत रूपमा चीन–अमेरिकी सम्बन्धमा स्थिरता दिने शक्तिका रूपमा हेरिन्थ्यो । तर, चिनियाँ नेताले अब यसमा कम जोड दिएका छन्, किनभने द्विपक्षीय सम्बन्धमा चिनियाँको मूर्त लाभ उल्लेखनीय रूपमा कम भएका छन् । बढ्दो व्यावसायिक प्रतिस्पर्धा र देशका लागि कम नाफा हुने निर्यात–नेतृत्व विकास मोडेलबाट धेरै नाफा हुने प्रविधि–सञ्चालित मोडेल अर्थव्यवस्थामा संक्रमण यसका कारण हुन् । त्यसैगरी, विद्युतीय सवारी साधन र सेमिकन्डक्टर उत्पादनमा चीनको द्रुत प्रगतिले अमेरिकासँगको व्यापारमा तनाव बढाएको छ ।

तर, ताइवान अझै पनि अमेरिका–चीन सम्बन्धमा सबैभन्दा संवेदनशील मुद्दा हो । चीनको कूटनीतिक शब्दावलीमा कुनै औपचारिक परिवर्तन नभए पनि चिनियाँ रणनीतिकारले ताइवानको नयाँ स्वतन्त्रता समर्थक सरकारलाई ध्यानमा राख्दै वर्तमान अवस्थालाई धेरै हदसम्म अनिश्चित मान्छन् । यसले सम्भवतः चीनले ताइवानको नेतृत्व र विस्तारमा अमेरिकाविरुद्ध थप सक्रिय प्रतिरोधात्मक भूमिका खेल्नेछ भन्ने देखाउँछ । अमेरिकाले पनि चीनविरुद्ध प्रतिरोधात्मक उपायलाई बलियो बनाएपछि ताइवान क्षेत्रमा टकरावको स्थिति निम्तिने ठाउँ छन् । सम्भावित सबैभन्दा खराब अवस्थालाई रोक्न सीले नोभेम्बरमा निर्वाचित जोकोही नेतासँग पनि नियमित रूपमा प्रत्यक्ष संवाद गर्नुपर्नेछ ।

चीनको मुख्य लक्ष्य भनेको चीन–अमेरिकी सम्बन्धको थप क्षयले आर्थिक वृद्धिमा बाधा नपर्ने कुरामा सुनिश्चित गर्नु हो, किनभने यसो हुँदा चिनियाँ सत्ताको वैधानिकता कमजोर बन्छ । चिनियाँ नीति–निर्माताले विश्वको बाँकी भागमा विशेषतः दक्षिणी गोलार्धमा आफ्नो आर्थिक र राजनीतिक प्रभाव विस्तार गरेर अमेरिकासँगको द्वन्द्वबाट हुने क्षतिलाई कम गर्ने प्रयास गरिरहेका छन् । यसले चीनलाई आर्थिक लचिलोपन निर्माण गर्न र प्राविधिक विकासको गतिलाई तीव्र बनाउन समय उपलब्ध गराउन सक्छ ।

ट्रम्प र ह्यारिसले चुनावी अभियानमा दुवैले चीन मामिलामा सख्त अडान राखेका छन् । तसर्थ चिनियाँ निर्णयकर्ताले निकट भविष्यमा अमेरिकासँगको जटिल सम्बन्ध जादुइ रूपमा सुधार हुनेछ भन्ने भ्रम राख्दैनन् । तर, चीन–अमेरिकी सम्बन्धलाई अत्यधिक निराशावादी कोणबाट भने हेर्नु हुँदैन । अमेरिकाप्रति चीनको नीति सधैँ सन्तुलित विचार–विमर्शको नतिजा हो र यो जारी रहनेछ । यसले अन्तर्राष्ट्रिय मामिलाको लेखाजोखा राख्छ र देशको आवश्यकतालाई बढी महत्व दिन्छ । सीको नेतृत्वमा राजनीतिक परिदृश्यमा ठुलो परिवर्तन भए पनि चीन–अमेरिका सम्बन्धमा परिवर्तन भएको छैन ।

यद्यपि चीन र अमेरिका दुवैले हालै आआफ्नो सम्बन्धलाई जिम्मेवारीपूर्वक सम्हाल्न थप चासो देखाएका छन् र यो थोरबहुत उत्साहजनक विषय हो । तथापि, यति भन्दै गर्दा चीन–अमेरिकी प्रतिद्वन्द्विता रातारात समाप्त हुनेछैन । अर्को वर्ष अमेरिकी राष्ट्रपति जोकोही बने पनि पनि विश्वका यी दुई ठुला अर्थतन्त्रले अझै पनि द्वन्द्व र यसका साथ आउन सक्ने भयानक परिणामलाई रोक्न सक्छन् ।

(यू च्याटम हाउसको एसिया–प्रशान्त कार्यक्रमकी वरिष्ठ शोधकर्ता हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट