१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
अग्रिम टिकट बुकिङ खुलाउने तयारीबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको सर्वपक्षीय बैठक ।
शिवहरि घिमिरे काठमाडाैं
२o८१ असोज ६ आइतबार o५:५८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कहिलेदेखि खुल्छ बसको टिकट बुकिङ ?

१३ असोजभित्र बुकिङ खोल्ने तयारी भए पनि निर्णयमा अलमल, सडक बिग्रिएकोप्रति व्यवसायीको चिन्ता, सबै सडक घटस्थापनाअघि नै मर्मत गर्न निर्देशन

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o५:५८:oo

दसैँ, तिहार तथा छठलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ १३ असोजभित्र खुलाउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरीलगायत निकायसँग छलफल गरेर अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको हो । 

टिकट बुकिङ खोल्ने तयारीबारे छलफल गर्न मन्त्रालयले सर्वपक्षीय बैठक डाकेको थियो । १३ असोजभित्र बुकिङ खोल्न अनौपचारिक छलफल भएको, तर निर्णय भने हुन बाँकी नै रहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले विभागको निर्णयले मात्रै यातायातको अग्रिम टिकट बुकिङ खुल्न नसक्ने बताए । 

‘शनिबारको बैठकमा १३ असोजभित्र बुकिङ खुला गर्ने भनेर छलफल भयो, तर ठ्याक्कै मिति तय हुन सकेन, अब अर्को बैठक बसेर अग्रिम टिकट बुकिङको मिति तय हुन्छ,’ उनले भने, ‘मुख्यतः अहिले सडकको अवस्थाबारे व्यवसायीले विरोध गर्नुभएको छ, सडक विभागले सडक तत्काल व्यवस्थित गर्नुपर्छ ।’ 

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सडकका कारण हरेक वर्ष चाडबाडका वेला नागरिकले कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको बताए । ‘अहिले मुख्य विषय सडक सुरक्षाको हो, यात्रुलाई व्यवस्थित तरिकाले मेची–महाकाली पुर्‍याउनु ठुलो कुरा हो,’ उनले भने, ‘काठमाडौंवरिपरिका यात्रु मात्रै हेरेर हुँदैन, लामो दूरीका सवारीसाधनका लागि सडक व्यवस्थित चाहिन्छ, हाम्रो मुख्य सर्त यही हो ।’ उनले सडक बनाउन सरकारका सबै निकायले सहयोग गर्नुपर्ने र यातायातका साधन सही समयमा गन्तव्यमा पुर्‍याउन सक्ने अवस्था आउनुपर्ने बताए । यदि सही समयमा गन्तव्यमा पुग्न सके यात्रुहरूले दुःख नपाउने र धेरै टिप पनि गर्न सकिने उनको भनाइ छ । सडकको अवस्था ठीक नहुने हो भने दुर्घटनासम्मको जोखिम हुने सिटौलाले बताए । 

शनिबारको बैठकमा जहाँ–जहाँ सडक अवरोध छ, त्यसलाई एक–दुई दिनमै क्लियर गर्नेबारे पनि निर्णय भएको छ । सडक विभागका अनुसार पछिल्लो समय लामो दूरीका केही सडक विस्तारको काम भइरहेकाले अवरोध भइरहे पनि दसैँलक्षित मर्मत तथा सडक क्लियर गर्ने कार्य सुरु भइसकेको छ ।

चार घण्टाको सडक छिचोल्न १० घण्टासम्म यात्रा गर्नुपर्ने बाध्यता 
दसैँका वेला हरेक वर्ष काठमाडौं उपत्यकाबाट १५ लाखभन्दा बढी यात्रु बाहिरिन्छन् । तर, पर्याप्त सवारीसाधन नहुँदा र सडक व्यवस्थित नहुँदा चाडबाडमा घर फर्कंदा यात्रुहरूले सास्ती भोग्नुपरेको छ । मुख्यतः अहिले पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्डको अवस्था बेहाल छ । चार घण्टाको सडक छिचोल्न १० घण्टासम्म यात्रा गर्नुपर्ने बाध्यता छ । सडक विभागले चाडबाडलाई लक्षित गरी निर्माण कार्य भइरहेका ठाउँका मुख्य अवरोध हटाउन र मर्मत गर्न थालिएको जनाएको छ । विगतमा जस्तो सास्ती नहोस् भनेर यसपटक स्थानीय तहलाई समेत आसपासको सडक मर्मत गर्न अनुरोध गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शनिबार सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गर्न विभागलाई निर्देशनसमेत दिएका छन् । बिपी राजमार्गमा सडक सुरक्षालाई ध्यानमा राख्दै पूर्वनिर्धारित प्रकारका सवारीसाधन मात्र चलाउन दिने निर्णय भएको छ । यस राजमार्गमा रात्रि सवारी सञ्चालन गर्न दिइने छैन । 

तिहारसम्म पुरानै भाडादर कायम राख्ने निर्णय 
शनिबारको बैठकमा भाडा समायोजनको विषयमा पनि छलफल भएको थियो । दसैँ–तिहारपछि मात्रै नयाँ भाडादर कायम गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए । उनका अनुसार इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढी घटबढ हुँदा गरिने गरिएको वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि हुन सकेको छैन । बैठकमा यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा पनि छलफल भएको थियो । प्रतिवेदन कार्यान्वयन गर्ने र अदालतबाट यातायातसम्बन्धी भएका आदेश र फैसला कार्यान्वयन पनि गर्नेबारे छलफल भएको छ । विभागले यातायात सुधार सुझाव कार्यदल, अदालतको आदेश र फैसला कार्यान्वयनको अवस्थालगायत विषयमा एक महिनाभित्र कार्ययोजना तयार पारी पेस गर्ने निर्णय पनि बैठकले गरेको छ ।