१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार o७:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली माओवादीको एजेन्डा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o७:१५:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउने बताएका छन् । इमान्दारिताका साथ संविधान संशोधनको एजेन्डा उठाउन खोजे माओवादी तयार रहेको उनको भनाइ छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा गरेको राजनीतिक वैचारिक प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले अग्रगमनका लागि संविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादीलाई परेको दाबीसमेत गरे ।

‘अग्रगमनमा जान हो भने अहिले संविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादीलाई छ,’ उनले भने । विगतमा संविधान निर्माणको वेला ‘नोट अफ डिसेन्ट’ लेखेको स्मरण गर्दै उनले ती माग अब सशक्त रूपमा उठाउने बताए । ‘हामीले संविधान निर्माण गर्दा प्रस्ट रूपमा हाम्रो एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो, तर यसमा कांग्रेस र एमाले सहमत नभएकाले हामी कुनै पनि दिन यो मुद्दा लिएर आन्दोलनमा जाने छौँ भनेर नोट अफ डिसेन्ट लेखेका छौँ । अब हामी यो एजेन्डालाई लिएर अगाडि बढ्छौँ,’ उनले भने ।

प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणालीले भ्रष्टाचारको मुहान सुकाउने उनको तर्क छ । भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने प्रवृत्ति बढेको भन्दै प्रचण्डले त्यसलाई रोक्न निर्वाचन प्रणाली बदलेर पूर्ण समानुपातिक बनाउनुपर्नेमा जोड दिए ।

‘अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो । एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा १० करोड र संघमा ५० करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काममा होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने काममा बढी लाग्न थालेको देखियो । त्यसैले हाम्रो भनाइ के छ भने भ्रष्टाचारको मुहान नै सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनुपर्छ,’ उनले भने । 

करोडौँ खर्च गरेर सांसद हुने र जितेपछि तँछाडमछाड गरेर मन्त्री बन्ने अवस्थाको अन्त्य गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले मन्त्रिपरिषद् बनाउने र सांसदहरू कानुन निर्माणमा मात्रै लाग्ने, मन्त्री बन्न नपाउने निर्वाचन प्रणालीले मात्रै मुलुकमा भ्रष्टाचार रोक्न सक्ने उनले बताए ।