१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ६ आइतबार o७:२o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय महिला लिग : उच्च गोलकर्ता बन्न चर्काे प्रतिस्पर्धा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o७:२o:oo

लिगमा ११ खेल बाँकी रहँदा विभागीय टोलीको दबदबा छ, एपिएफकी रश्मिकुमारी घिसिङले सर्वाधिक ९ गोल गरेकी छिन् 

राष्ट्रिय महिला लिगको पहिलो चरण सम्पन्न हुन मात्र ११ खेल बाँकी रहँदा शीर्ष पाँचमा स्थान बनाउन र सर्वाधिक गोलकर्ता बन्न चर्काे प्रतिस्पर्धा छ । विभागीय टोलीहरू प्रतियोगितामा हाबी हुँदा सर्वाधिक गोलकर्ताको सूचीमा पनि विभागीय खेलाडीकै बाहुल्य छ । 

सर्वाधिक गोल गर्ने खेलाडी एपिएफकी रश्मीकुमारी घिसिङ छिन् । उनले नौ गोल गरेकी छिन् । वालिङबाट खेलिरहेकी युगान्डाकी ज्याकलिन नासाली र आर्मीकी दीपा शाहीले समान ७ गोल गरेका छन् । आर्मीकै विमल चौधरीको नाममा ६ तथा अनिता लम्जेल र अमिषा कार्कीले समान पाँच गोल गरेका छन् । यसपटक एपिएफकी मुख्य खेलाडी सावित्रा भण्डारी फ्रेन्च लिगमा आबद्ध हुँदा रश्मीले अग्रता बनाएकी हुन् । ०७८ मा भएको लिगमा सावित्राले सात खेलमै १४ गोल गरेकी थिइन् । 

उपाधि दाबेदार विभागीय टोली नै देखिएको छ । १० टोली सहभागी लिगको शीर्ष पाँच टोली दोस्रो चरणमा पुग्नेछन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरीको नेपाल पुलिसले शीर्ष पाँच पक्का गरिसकेका छन् । अब, कोशी प्रदेश र वालिङ नगरपालिकाको सम्भावना उच्च रहँदा संकटा क्लब र चन्द्रपुर नगरपालिको पनि गणितीय सम्भावना छ । बागमती, कर्णालीको सम्भावना लगभग समाप्त हुँदा सुदूरपश्चिमको सम्भावना समाप्त भइसकेको छ । 

सुदूरपश्चिम अझै जितविहीन

महिला लिगमा सुदूरपश्चिम प्रदेशले हारको यात्रा जारी राखेको छ । टोली लगातार सातौँ खेलमा पराजित भएको छ । शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा संकटा क्लबसँग ६–० ले पराजित भयो । महिला लिगमा यसै सिजन ‘डेब्यु’ गरेको संकटालाई दोस्रो जित दिलाउन विदेशी खेलाडी टिमिलोेपे जेनिफरले एक्लै चार गोल गरिन् । त्यस्तै, ममता पुन र पूर्निमा हमालले समान एक गोल गरेका हुन् । 

जितसँगै सात खेलमा आठ अंक जोडेको संकटा छैटौँ स्थानमा उक्लिएको छ । उसको शीर्ष पाँचमा उक्लने अंक गणितीय सम्भावना अझै बाँकी छ । सातै खेलमा पराजित सुदूरपश्चिम विनाअंक पुछारमा छ । टोलीले ४६ गोल व्यहोरेको छ । जम्मा तीन गोल फर्काएको छ । टोलीको शीर्ष पाँचमा स्थान बनाउँदै दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना सकिइसकेको छ । 

पहिलो अंकको खोजिमा रहेका प्रशिक्षक दिपेश योञ्जन लामाले संकटाविरुद्ध अंक खोस्ने योजना रहे पनि सफल नभएको बताए । यसअघि टोलीका नियमित खेलाडी प्रशिक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै काठमाडौं नआउँदा सुदूरपश्चिमले तेस्रो रोजाइका खेलाडी मैदान उतारेको हो । दोस्रो जितपछि संकटाका प्रशिक्षक रवीन्द्र शिलाकार भने खुसी रहे । 

खेलको दोस्रो मिनेटमै जेनिफरको गोलमार्फत संकटाले अग्रता लिएको थियो । १० मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाइन् । जेनिफरले ५२औँ मिनेटमा ह्याट्रिक पूरा गरेकी हुन् । ८३औँ मिनेटमा ममताले गोल गर्दा संकटा ४–० ले अगाडि बढ्यो । चार मिनेटपछि पूर्णिमाले टोलीका लागि पाँचौँ गोल गरिन् । इन्जुरी समयमा जेनिफरले पेनाल्टीमार्फत व्यक्तिगत चौथो गोल गर्दै संकटालाई सहज जित दिलाएकी हुन् । 

पुलिसको शीर्ष पाँच पक्का
विभागीय टोली नेपाल पुलिस क्लबले महिला लिगको शीर्ष पाँचमा आफूलाई सुरक्षित गरेको छ । दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा वालिङ नगरपालिकालाई २–० ले हराउँदै पुलिसले अपराजित यात्रालाई सातौँ खेलसम्म कायम राखेको हो । पुलिसको जितमा दुवै गोल सम्झना लावतीले गरिन् । यो जितपछि पुलिससँगै तीनै विभागीय टोलीले शीर्ष पाँचमा सुरक्षित गर्दै दोस्रो चरण खेल्ने पक्का गरेका छन् । ‘यो जितले शीर्ष पाँच स्थान तय भएको छ । योजनाअनुसार सफल भयौँ,’ मुख्य प्रशिक्षक भोला सिलवालले भने, ‘चन्द्रपुरभन्दा वालिङविरुद्ध खेलाडीले राम्रो खेले । 

जितसँगै सात खेलमा १५ अंक जोडेको पुलिस तेस्रो स्थानमा छ । पराजित वालिङ समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ । वालिङको सम्भावना कायम छ । खेलको ६७औँ मिनेटमा सम्झनाको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । इन्जुरी समयमा सम्झनाले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाएकी थिइन् ।