त्यतिखेर कौरव र पाण्डव राजकुमारहरू गुरु द्रोणाचार्यको आश्रममा बसेर शिक्षा प्राप्त गरिरहेका थिए । गुरु द्रोणाचार्य राजकुमारहरूलाई धनुर्विद्याका साथमा अनुशासन र नैतिकतासम्बन्धी विविध विषयमा शिक्षा दिन्थे ।
एक दिन गुरु द्रोणाचार्यले आफ्ना सबै शिष्यलाई एउटा नयाँ पाठ दिए– ‘सत्यं वद’ अर्थात् साँचो बोल । उनले कक्षाको अन्त्यमा भने– सबैले यस पाठलाई राम्ररी सम्झिनू, म भोलि सबैलाई यो पाठबारे सोध्नेछु । कक्षा समाप्तिसँगै सबै शिष्य आआफ्नो कक्षमा गएर पाठ याद गर्न लागे । भोलिपल्ट कक्षा सुरु भएपछि गुरु द्रोणाचार्यले पालैपालो सबैलाई अघिल्लो दिनको पाठ सोध्न थाले । सबैले गुरुसामु अघिल्लो दिन उनैले दिएका दुई शब्द ‘सत्यं वद’ दोहोर्याए । सबैले पाठ सुनाइसक्दा पनि राजकुमार युधिष्ठिर भने मौन थिए । गुरु द्रोणाचार्यले उनलाई पनि पाठ सोधे । तर, उनले पाठ दोहोर्याउन सकेनन् । उनले गुरुसित माफी माग्दै आफूले पाठ पछि सुनाउने बताए ।
यसप्रकार १५ दिन बिते । तर, युधिष्ठिरले गुरुले दिएको पाठ बताउन सकेनन् । तर, १६औँ दिन उनले आफूले पाठ याद गरेको र सुनाउन चाहेको बताए । गुरु द्रोणाचार्यको अनुमति पाएपछि उनले ‘सत्यं वद’ उच्चारण गरेर सुनाए । यो सुनेर गुरुले प्रश्न गरे– युधिष्ठिर, पाठ त केवल दुई शब्दको थियो । तैपनि, यसलाई याद गर्न किन तिमीले यति लामो समय लगायौ ?
गुरुको प्रश्न सुनेपछि युधिष्ठिरले जवाफ दिए– गुरुदेव, पाठ त साँच्चै सामान्य थियो । दुई शब्द याद गरेर यहाँ सुनाउन खासै कठिन थिएन । तर, जबसम्म म स्वयं आफ्नो आचरणमा यसलाई धारण गर्न सक्दिनथेँ, तबसम्म म कसरी भन्न सक्थेँ कि मलाई यो पाठ याद भयो । त्यसैले, यति लामो समय लागेको थियो, गुरुदेव ! युधिष्ठिरको जवाफ सुन्दा गुरु द्रोणाचार्य निकै खुसी भए ।