१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ४ शुक्रबार १३:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दक्षिण एसियाली विश्वविद्यालयमा पहिलोपटक नेपालको राष्ट्रिय दिवस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ४ शुक्रबार १३:o९:oo

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकहरूले स्थापना गरेको नयाँदिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयले बिहीबार नेपालको संविधान दिवसका अवसरमा राष्ट्रिय दिवस कार्यक्रम आयोजना गरेको छ । विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको अग्रसरतामा विश्वविद्यालयमा पहिलोपटक नेपालको राष्ट्रिय दिवस आयोजना भएको हो । विश्वविद्यालयले बिहीबार सार्वजनिक बिदा दिएको थियो।

भारतका लागि कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापा र विश्वविद्यालयका अध्यक्ष प्रा.डा. केके अग्रवालले नेपालको झन्डाेत्तोलन गरे। उनीहरूले सहभागी नेपाली तथा सबै विद्यार्थी र सबैलाई शुभकामना व्यक्त गरेको विश्वविद्यालयका विद्यार्थी टेकराज कोइरालाले जानकारी दिए।

विश्वविद्यालयको स्थापना प्राज्ञिक उत्कृष्टताका लागि मात्र स्थापना नभएर सबै सार्क देशको संस्कृति, संस्कार, आपसी मेलमिलाप, एकताका लागि पनि भएको अध्यक्ष अग्रवालले जानकारी दिए। अध्यक्ष अग्रवालले सबैलाई नेपाल दिवसको शुभकामना दिँदै नेपालको राष्ट्रिय दिवस आयोजना गर्नुको मुख्य उद्देश्य अन्य सार्क राष्ट्रका विद्यार्थीहरूलाई शिक्षा र नेपालको सांस्कृतिक समृद्धिसँग जोडेर वैचारिक रूपमा नजिक ल्याउनु रहेको बताए।

अग्रवालले दक्षिण एसियाली विश्वविद्यालयले सार्क राष्ट्रका विद्यार्थी र संकायले विविधतामा एकता देखाएको बताए। उनले शिक्षाको उद्देश्य कक्षाकोठा शिक्षण–सिकाइ प्रक्रियाको सिमानाभन्दा बाहिर कसरी जान्छ भन्ने कुरामा जोड दिए।

नेपाली कार्यवाहक राजदूत थापाले नेपालको संविधानको मर्म, महत्त्वबारे प्रकाश पार्दै नेपालको संविधानले सबैलाई एकताबद्ध बनाएको उल्लेख गरे। कार्यवाहक राजदूत थापाले दक्षिण एसियाली विश्वविद्यालय शिक्षाको माध्यमबाट दक्षिण एसियाली मुलुकबिचको शैक्षिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न महत्त्वपूर्ण माध्यम बन्दै गएको बताए। आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहनुपर्ने उनको भनाइ  थियो।

त्यहाँ आयोजित सांस्कृतिक कार्यक्रममा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंकाका विद्यार्थीले आफ्नो सांस्कृतिक नाचगान प्रस्तुत गरेका थिए। सो अवसरमा विश्वविद्यालयका रजिस्ट्रार डा. रवीन्द्रकुमार सोनीले विश्वविद्यालयमा भइरहेका शैक्षिक गतिविधिका साथै नयाँ पाठ्यक्रम र अनुसन्धान गतिविधिबारे कार्यवाहक राजदूत थापालाई विस्तृत जानकारी दिए।