एकपटक महाराज रणजितसिंह हात्तीमा बसेर घुम्नका लागि निस्किए । उनी रमाइलो दृश्यावलोकन गरी बाटामा जाँदै थिए । उनी जाँदै गरेको बाटोको एक ठाउँमा केही केटाले ढुंगा हानेर पाकेको बेल झारिरहेका थिए । उनीहरू जोडजोडले ढुंगाले हिर्काएर बेल झार्ने प्रयत्न गरिरहेका थिए । संयोगले उनीहरूले हानेको एउटा ससानो ढुंगाले महाराजा रणजित सिंहलाई लाग्यो । ढुंगा धेरै ठुलो नभएकाले उनलाई चोट भने लागेन । महाराजलाई ढुंगाले लाग्नासाथ उनको सुरक्षामा खटिएका सिपाहीले ती केटाहरूलाई समातेर महाराज रणजितसिंहका अगाडि पेस गरे ।
महाराज रणजितसिंहले यस विषयमा आफ्ना मन्त्रीको राय जान्न चाहे । मन्त्रीले भने, ‘महाराज, यसरी बाटामा बसेर जथाभावी ढुंगा प्रहार गर्ने दुष्ट केटाहरूलाई कठोर दण्ड दिनुपर्छ । यिनले यसरी रुखमा ढुंगा प्रहार गर्दा अरूलाई नै लाग्न पनि सक्थ्यो, उनीहरू घाइते पनि हुन सक्थे । अहिले महाराज स्वयं पनि झन्डै घाइते हुनुभएको थियो ।’
मन्त्रीसँग सल्लाह लिइसकेपछि महाराजले सोधे, ‘यी केटाहरू के गरिरहेका थिए ?’ ‘सरकार, यिनीहरू रुखमा ढुंगा हानिरहेका थिए,’ सिपाहीले जवाफ दिए । महाराजले फेरि सोधे, ‘रुखमा ढुंगा हानिरहेका थिए रे ! किन ? केका लागि ?’ सिपाहीले फेरि जवाफ दिए, ‘सरकार, यिनीहरू पाकेको बेल झार्न ढुंगा प्रहार गरिरहेका थिए ।’
सिपाहीको कुरा सुनिसकेपछि केही क्षण चुप लागेर महाराज रणजितसिंहले भने, ‘रुखले ढुंगाको चोट खाएर पनि मिठो फल दिन्छ भने म यी कलिला केटाहरूलाई कसरी दण्ड दिऊँ ? म मानिस भएर पनि त्यो रुखजति उदार हुन सक्दिनँ र ?
यी सीधासाधा बच्चालाई छोडिदेऊ र यिनीहरूलाई पेटभरि फलफूल खुवाऊ । किनकि, यी बिचरा त्यही फल खानका लागि ढुंगा हानिरहेका थिए ।’ महाराज रणजितसिंहको आज्ञाको पालना तुरुन्तै गरियो । पेटभरि फल खान पाएपछि केटाहरू दंग पर्दै आआफ्ना घरतिर गए ।