Skip This
क्यान्सर उपचार सेवा अब पोखराबाटै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार १८:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्यान्सर उपचार सेवा अब पोखराबाटै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १८:४८:oo

गण्डकी प्रदेशको राजधानी सहर पोखराबाट अब क्यान्सर उपचार सेवा सुरु हुने भएको छ। चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरसँगको प्राविधिक सहकार्यमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको हो।

सेवा सञ्चालनका लागि दुई अस्पतालबिच मंगलबार पोखरामा एक कार्यक्रमबिच सम्झौता भएको छ। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा भरतपुर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

नेपालमा यसअघि संघ सरकारमातहतमा रहेका भरतपुरसँगै भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पताल र नेपालगन्जस्थित सुशील कोइराला क्यान्सर अस्पतालमा मात्र क्यान्सर उपचार सेवा सञ्चालन हुँदै आएको थियो।

सेवा विस्तारका लागि गत साउन ३१ गते मन्त्री पौडेलले क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि, २०८१ पारित गरेका थिए। कार्यविधि पारितसँगै यसअघि तीन सरकारी अस्पतालमा हुँदै आएको सेवा अब सबै प्रदेशमा विस्तार हुन लागेको हो। सोही क्रममा पोखरामा सेवा सुरु हुने भएको हो।

पारित कार्यविधिअनुसार देशका सातवटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्यअनुसार भरतपुरबाट पोखरासँगै कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सेती प्रादेशिक अस्पताल धनगढीमा विस्तारित सेवा सुरु हुनेछ। यसैगरी, भक्तपुरबाट कोशी प्रादेशिक अस्पताल, विराटनगर र मधेशमा नारायणी अस्पताल वीरगन्जमा क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा प्राप्त हुनेछ।

खत्रीका अनुसार दुई अस्पतालबिच भएको सम्झौतासँगै केही दिनभित्र सेवा सुरु गरिनेछ। भवनहरूमा रेट्रोफिटिङको काम भइरहेकाले केही दिनपछि सेवा सुरु गरिने भनाइ उनको थियो। उनका अनुसार अब पोखरामा क्यान्सर रोगसम्बन्धी आवश्यक परामर्श सेवा, केमोथेरापी र स्क्रिनिङको काम हुनेछ। अन्य सेवा क्रमशः विस्तार गर्दै लगिने खत्रीले जानकारी दिए।