१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Friday, 20 September, 2024
२o८१ असोज ३ बिहीबार ११:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तुको झल्को दिने गुप्तेडाँडा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार ११:५३:oo

सूर्योदयको दृश्यावलोकनका लागि ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका– ९ सुकेटारनजिकै रहेको गुप्तेडाँडालाई इलामको अन्तुसँग तुलना गर्ने गरिन्छ । यो डाँडा समुद्र सतहबाट करिब दुई हजार सात सय मिटरको उचाइमा रहेको छ । 
खासगरी यो सिजनमा सूर्योदयको मनोरम दृश्य हेर्न आसपासका पर्यटक यहाँसम्म पुग्ने गरेका छन् ।

अन्तु र गुप्तेडाँडा दुवै ठाउँ पुग्ने पर्यटक सूर्याेदयको दृश्य अन्तु र यहाँबाट उस्तै देखिने बताउँछन् । यहाँबाट सूर्योदयको अवलोकनसँगै विश्वको अग्लो हिमाल सगरमाथा, विश्वको तेस्रो अग्लो कञ्चाजंघा हिमालका साथै मकालु हिमाल तथा अन्य हिमालको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिने भएकाले हिमालको दृश्य र सूर्यको पहिलो झुल्कोसँग फोटो खिच्नेको पछिल्लो समय केही भिड बढ्ने गरेको छ ।  स्थानीय ज्ञानप्रसाद पोख्रेल भन्छन्, ‘घाम झुल्कनुअघि हिमालमा देखिने रंगीन दृश्यले सबैलाई मोहित पार्छ ।’

सूर्योदय हेर्न पछिल्लो समय दैनिक सयौँ पर्यटक इलामको अन्तु पुग्ने गरेका छन् । पर्यटकीय सिजनका वेला त अन्तुमा पाइलासमेत राख्ने ठाउँ हुँदैन, तर अन्तुजस्तै ताप्लेजुङको गुप्तेडाँडामा भने पूर्वाधार र प्रचारप्रसार अभावका कारण निकै कम पर्यटक पुग्ने गरेका छन् । 

पूर्वको पर्यटकीय  जिल्लाको रूपमा रहेको ताप्लेजुङ फुङलिङबजारदेखि नौ किलोमिटरमाथि रहेको गुप्तेडाँडाआसपास होटेल नहुनु, सडकलगायतका पूर्वाधार तथा खानेपानी र प्रचारप्रसार अभावका कारण प्रशस्त सम्भावना हुँदाहुँदै पनि पर्यटक यहाँसम्म पुग्न नसकेको स्थानीय बुद्धिजीवी तथा सामाजिक व्यक्तित्व मनमणि काफ्लेले बताए । यहाँ गुप्तेडाँडासहित सुकेटार विमानस्थल पर्यटकका लागि आकर्षकको केन्द्र रहेको छ । होटेलहरूको व्यवस्था नहुँदा सूर्योदय भएको अवलोकन गर्न जाने पर्यटकहरू आफैँले लगेको चिया–खाजा खाएर फर्किने गर्दछन् ।

पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गर्नका लागि सूर्योदय अवलोकन गर्ने स्थानको घेराबार तथा आवश्यक संरचना निर्माण गर्नका लागि फुङलिङ नगरपालिकाका तत्कालीन मेयर छत्रपति प्याकुरेलको कार्यकालमा ०७७/७८ आर्थिक वर्षमा १० लाख विनियोजन गरेर काम गरेको भनिए पनि अहिलेसम्म फेरि त्यस क्षेत्रलाई बेवास्ता गरिएको छ। अहिलेका फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले सो गुप्तेडाँडालाई सनराइज भ्यू प्वाइन्ट बनाउन डिपिआर गर्न लगाएको र छिट्टै व्यवस्थित गरिने बताए ।