काठमाडौं । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको छ। यसका कारण आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभिन्न स्थानको मौसम प्रभावित हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पोस्ट मनसुन विशेष मौसम बुलेटिनअनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र क्रमशः उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनको भागमा प्रवेश गर्ने सम्भावना रहेको छ।
उक्त मौसमी प्रणालीको प्रभावले कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते शनिबारसम्म नेपालमा मौसम प्रभावित हुन सक्ने विभागको आकलन छ। यद्यपि, यस प्रणालीका कारण नेपालमा हुने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको बुलेटिनमा उल्लेख छ। मौसम प्रणालीको प्रभावका कारण कृषिजन्य कार्य तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिएको छ।
नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। आवश्यकताअनुसार थप सूचना अद्यावधिक गरिने भन्दै विभागले मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि नियमित रूपमा सूचनाहरू हेर्न आग्रह गरेको छ।