Skip This
संरचनागत असफलता छोप्न आप्रवासीद्वेष
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
यिभोन सू
२o८१ असोज ३ बिहीबार १o:५५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

संरचनागत असफलता छोप्न आप्रवासीद्वेष

Read Time : > 2 मिनेट
यिभोन सू
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १o:५५:oo

उग्र–दक्षिणपन्थी लोकप्रियतावादीदेखि मध्यपन्थी उदारवादीले प्रणालीगत मुद्दामा विचलन ल्याउन आप्रवासीविरोधी बयानबाजी प्रयोग गर्छन्

अमेरिकी राष्ट्रपतीय बहसमा प्रायः अपमानजनक आरोप–प्रत्यारोप र झुटा दाबी दोहोरिने गर्छन् । कमला ह्यारिससँगको बहसमा डोनाल्ड ट्रम्पले आप्रवासी अपराधबारे गलत दाबी दोहोर्‍याए । ट्रम्पले आप्रवासनका कारण अपराध बढ्दै गएको बताए । वास्तवमा अमेरिकामा हाल हिंसात्मक अपराध विगत ५० वर्षकै न्यून छ । ट्रम्पले आप्रवासीले स्प्रिंगफिल्ड, ओहायोमा पाल्तु जनावर खाइरहेका झुटो दाबीसमेत गरेका थिए । यसलाई राष्ट्रपतीय बहसका मध्यस्थकर्ताले खारेज गरेका थिए । विभिन्न अध्ययनले आप्रवासी जनसंख्या प्रायः कम अपराध दरसँग जोडिएका देखाउँछन् ।

शरणार्थी र आप्रवासीले अपराध गरेमा निर्वासनको जोखिम हुन्छ । यो तप्काले आफ्नो गन्तव्य शरणस्थानमा पुग्न कडा परिश्रम गरेपछि आफ्नो स्थितिलाई खतरामा पार्ने सम्भावना कम हुन्छ । यसका बाबजुद अमेरिका र क्यानडा दुवैमा आप्रवासीविरोधी भाष्य फैलिँदो छ र यस्तो भाष्य दुवै पुरातनपन्थी र उदार पक्षका राजनीतिज्ञले प्रचार गरिरहेका छन् । यो भाष्य राजनीतिक लाभका लागि उपयोगी भए पनि यसका गम्भीर परिणाम छन् । यस्ता भाष्यले विभेदलाई प्रोत्साहन गर्छ, आप्रवासीको अमानवीकरण गर्छ । यो हानिकारक भाष्य फैलिइरहँदा यसका वास्तविक वैश्विक प्रभाव छन् । यी भाष्यले गम्भीर प्रणालीगत असमानतालाई सम्बोधन गर्नबाट कसरी विचलित पार्छन् भनेर बुझ्न आवश्यक छ ।

पुरातनपन्थी तप्काले लामो समयदेखि आप्रवासनलाई राष्ट्रिय पहिचान, सुरक्षा र अर्थतन्त्रका लागि खतराका रूपमा चित्रण गर्दै आएका छन् । उग्र–दक्षिणपन्थी लोकप्रियतावादीदेखि मध्यपन्थी उदारवादीले आवासको अभाव, आर्थिक असमानताजस्ता प्रणालीगत मुद्दामा विचलन ल्याउन आप्रवासीविरोधी बयानबाजी प्रयोग गर्छन् । यसले आप्रवासीलाई अमानवीय बनाउँछ र भय बढाउँछ । कमला ह्यारिसको आप्रवासन नीतिले पनि ट्रम्पको दृष्टिकोण प्रतिबिम्बित गर्छ । उदाहरणका लागि ह्यारिसले सीमा सुरक्षामा व्यापक सुधार ल्याउने वाचा गरेकी छिन् । ग्वाटेमालामा उनको सन् २०२१ मा आप्रवासीलाई ‘नआऊ’ भनेर आप्रवासनका मूल कारणलाई सम्बोधन गर्नुको सट्टा यसलाई अपराधीकरण गर्ने भाष्यलाई सुदृढ बनाएकी थिइन् । ह्यारिसको चुनावी अभियान प्रबन्धक जुली चाभेज रोड्रिग्वेजले ह्यारिस निर्वाचित भएमा शरण दाबीमा बाइडेनको कारबाही जारी राख्ने बताएकी थिइन् । ह्यारिसले असफल सीमा सुरक्षा सम्झौतालाई पुनर्जीवित गर्ने योजना पनि बनाएकी छिन्, जसले स्थायी शरण प्रतिबन्ध लगाउनेछ । 

क्यानडामा कन्जर्भेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले आप्रवासीलाई आवास अभाव र सार्वजनिक सेवामा हुने तनावका लागि दोष दिएका छन् । बढ्दो आप्रवासनले यी मुद्दालाई थप चर्काउँछ भन्ने तर्क गरेका थिए । त्यसैगरी, आवास एवं स्वास्थ्य सेवामा सरकारको असफलतालाई औँल्याएका थिए । सन् २०२२ मा संघीय सरकारले सन् २०२५ सम्ममा वार्षिक पाँच लाख मानिसलाई स्वागत गर्ने योजना घोषणा गरेको थियो । यद्यपि जस्टिन ट्रुडोको लिबरल सरकारले हालै क्यानडाको आवास र स्वास्थ्य समस्याका लागि अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी विदेशी कामदारलाई दोष दिएको थियो । मार्चमा सरकारले अस्थायी बासिन्दाको संख्या सीमित गर्ने प्रस्ताव गरेको थियो । आप्रवासनमा कडा देखिए पनि यो कदमले शिक्षा, आवास र स्वास्थ्य सेवामा न्यून लगानीको वास्तविक मुद्दाबाट विचलित गर्छ ।

राजनीतिज्ञले प्रायः आप्रवासीलाई ‘लहर’ वा ‘बाढी’ र ‘भेल’ भनेर वर्णन गर्ने ‘डुबान रूपक’ प्रयोग गरिरहेका छन् । यो अमानवीय भाषाले आप्रवासीलाई खतरनाक, अनियन्त्रित र विनाशकारीका रूपमा चित्रित गर्छ । आप्रवासीलाई मौजुदा संकटका रूपमा व्यक्त गर्दा उनीहरूको व्यक्तित्व, मर्यादा र मानवता खोसिन्छ । शरणार्थी र आप्रवासीलाई अब राम्रो जीवन खोज्ने, प्रताडनाबाट जोगिने वा गरिबी र राजनीतिक अशान्तिबाट बाँचेर आएका मानिसका रूपमा हेरिनेछैन । वास्तवमा आप्रवासी सामाजिक र आर्थिक स्थिरतालाई खतरामा पार्ने पहिचानविहीन जनसमूहमा परिणत भएका छन् । ट्रम्पले राष्ट्रपतीय बहसका क्रममा ‘हाम्रो देशमा लाखौँ मानिस झरिरहेका छन्’ भन्ने भाषा प्रयोग गरेका थिए । यसले आप्रवासीलाई संख्यामा सीमित गर्ने प्रवृत्तिलाई पनि औँल्याउँछ । ट्रम्पले हरेक महिना २१ लाख आप्रवासी अमेरिका प्रवेश गर्ने गरेको बताएका थिए, जुन गलत हो ।

अश्वेत, गहुँगोरा र एसियाली आप्रवासीलाई प्रायः अपराधी, रोजगार चोर वा सार्वजनिक स्रोतको दोहन गर्ने समुदायका रूपमा चित्रण गरी अमानवीय भाषालाई प्रायः जातीयकरण गरिन्छ । यो नश्लभेद र इतर–समुदायद्वेष (जेनोफोबिया) अमेरिका र क्यानेडेली आप्रवासन प्रणालीमा गहिरो रूपमा गाँसिएको छ, जसले ऐतिहासिक रूपमा गैरश्वेत आप्रवासीलाई तिनको श्वेत समकक्षभन्दा बढी शंका र शत्रुताको साथ व्यवहार गर्ने गर्छ । युक्रेनी शरणार्थीलाई क्यानडामा स्वागत गर्न सहजता देखाएको थियो, जब कि अफगानिस्तान र गाजाका शरणार्थीप्रति ढिलो र अमानवीय व्यवहारयुक्त प्रतिक्रिया दिइएको थियो । यसैबिच दक्षिण एसियालीविरुद्ध घृणित अपराध बढेका छन्, किनभने तिनलाई सामाजिक–आर्थिक मुद्दाका लागि दोषी बनाइने गर्छन् । संघीय निर्वाचन नजिकिँदै गर्दा लिबरल र कन्जर्भेटिभ पार्टी दुवैले आप्रवासन र सुरक्षित सिमाना नियन्त्रणमा जोड दिँदै छन् । यसकारण चुनावमा अपरिहार्य इतर–समुदायद्वेषी बयानबाजी चलिरहेको छ ।

हामीले यसलाई कसरी ग्रहण गर्छौं र कसरी प्रतिक्रिया दिन्छौँ, त्यो हामी मतदातामा निर्भर छ । हामी राजनीतिक विचलनमा पर्न सक्छौँ वा सरकारको असफलताका लागि आप्रवासीलाई दोष दिने प्रयासको प्रतिरोध गर्न सक्छौँ र किफायती आवास, सार्वजनिक पूर्वाधार र स्वास्थ्य सेवामा थप लगानीको माग गर्न सक्छौँ । यी मुद्दालाई प्रस्ट रूपमा सम्बोधन गरेर मात्र हामी आप्रवासीप्रति समान रूपमा व्यवहार गर्ने समाज निर्माण गर्ने आशा गर्न सक्छौँ ।

(सू योर्क विश्वविद्यालय क्यानडाको शरणार्थी अध्ययन केन्द्रकी निर्देशक हुन्) 
द कन्भर्सेसनबाट