Skip This
वडाको बजेटमा मुसहर बस्तीका घरघरमा ग्यास चुल्हो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार १७:५३:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वडाको बजेटमा मुसहर बस्तीका घरघरमा ग्यास चुल्हो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १७:५३:oo

सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– ३ मा पर्ने तिलैया गाउँकी २५ वर्षीया सचिता सदाय वडा कार्यालयले घरमा सिलिन्डरसहित ग्यास चुल्हो जडान गरिदिएपछि दंग छिन्। ‘मजदुरी गरेर ल्याएको अनाज पकाएर खान पनि दाउराको कारणले समस्या थियो,’ उनले भनिन्, ‘भान्सामा ग्यास सिलिन्डर जडान भएपछि खाना पकाउन दाउरा पातपतिंगर खोज्न जानुनपर्ने भएकाले ढुक्क छु।’

उनकै छिमेकी ३५ वर्षीया ललितादेवी सदायले पनि भान्सामा ग्यास चुल्हो जडान भएदेखि दाउरा खोज्न जानुपर्ने झन्झटबाट मुक्त भएको सुनाइन्। ‘बसोबास गरेको जग्गा पनि ऐलानी भएकाले आफ्नो जग्गा हुने कुरा भएन,’ उनले भनिन्, ‘खाना पकाउन छिमेकीको फूलबारीमा दाउरा, पातपतिंगर टिप्न जाँदा गालीगलौज सुन्नुपर्थ्यो, ग्यास चुल्हो जडान भएपछि कसैको गालीगलौज सुन्नुपरेको छैन।’

९९ घरधुरीमा ग्यास चुल्हो
बरियारपट्टी–रामपुर–पिप्रा सडक खण्डअन्तर्गत गाउँपालिका कार्यालयनजिकै रहेको तिलैया गाउँका दुई टोलमा गरी ६० र नेपाल–भारत सीमानजिकै रहेको मुसहर बस्तीका ३९ गरी ९९ घरधुरी मुसहरहरूलाई वडा कार्यालयले सिलिन्डरसहित ग्यास चुल्हो जडान गरिदिएपछि स्थानीय फुरुंग भएका छन्।

बस्तीकी करिब ५५ वर्षीया कवुतरी सदायले भनिन्, ‘वडा कार्यालयले बस्तीका मुसहरहरूको अप्ठ्यारो मनन गरी ग्यास चुल्हो र सिलिन्डर उपलब्ध गराएपछि ठुलो राहत भएको छ।’ काम गर्न सक्नेहरू मजदूरी गर्न जानुपर्ने भएकाले दाउरा, पातपतिंगर खोज्न छोराछोरीलाई पठाउँदा उनीहरू सधैँ विद्यालय जान नपाएको ४५ वर्षीया विष्णुदेवी सदायले सम्झिइन्। उनले भनिन्, ‘अहिले भान्सामा ग्यास चुल्हो जडान भएपछि छोराछोरीलाई बेलैमा खाना खुवाएर विद्यालय पठाउन सजिलो भएको छ।’

अन्य दलितलाई पनि ग्यास चुल्हो
बरियारपट्टी गाउँपालिका- ३ का वडाध्यक्ष विनोदकुमार यादवका अनुसार आर्थिक वर्ष ०८०-०८१ मा वडा कार्यालयको बजेटमध्ये नौ लाख रुपैयाँबाट मुसहर बस्तीमा सिलिन्डरसहित ग्यास चुल्हो वितरण गरिएको हो। ‘दुई छाक खानका लागि मजदुरी गर्न बाध्य मुसहर समुदाय छिमेकीको बगैँचामा खसेका सुकेका पातपतिंगर, खेतबारीमा छोडिएका पराल बटुलेर खाना पकाउँथे,’ उनले भने, ‘दाउरा नभएर पातपतिंगरले खाना पकाउँदा सुक्खा मौसममा हुन सक्ने आगलागीको जोखिम हटाउन वडाबाट बजेट छुट्याएर सिलिन्डरसहित ग्यास चुल्हो बाँडिएको हो।’

पछिल्लो आ.व.मा आफ्नो वडाअन्तर्गत तीनवटा बस्तीका मुसहर समुदायलाई ग्यास चुल्हो बाँडिसकेकाले चालू आ.व.०८१-०८२ मा बरियारपट्टी र शिवनगर गाउँका डोम, महरा, खत्वे, साफी समुदायका करिब दुई सय घरधुरीलाई सिलिन्डरसहित ग्यास चुल्हो बाँड्ने योजना रहेको वडाध्यक्ष यादवले सुनाए। ‘त्यसका लागि वडाको ६५ लाख रुपैयाँमध्ये २० लाख रुपैयाँ बजेट छुट्याइएको छ,’ उनले भने।