१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Friday, 20 September, 2024
२o८१ भदौ ३१ सोमबार o८:o७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नारायणीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारणलाइनको बिजुली

नारायणी नदीको एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी पुर्‍याइयो सुस्तामा विद्युत्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार o८:o७:oo

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका– ५ मा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका– ५ स्थित सकरदिनयीबाट करिब पाँच किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ता बस्तीमा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुर्‍याएको हो । 

नारायणी नदीमा निर्माण गरिएको एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् पुर्‍याइएको हो ।तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सिमाना जोडिएको सुस्ता बस्ती राष्ट्रिय प्रसारणलाइनको विद्युत्सँग जोडिएको छ ।

सुस्ता बस्तीलाई जोड्न नारायणी नदीमा झोलुंगे पुल निर्माण भएसँगै विद्युत् लाइन विस्तार पनि सम्भव भएको हो । गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा जडान गरिएको एक सय किलोवाटको सौर्य ऊर्जाबाट सुस्ता बस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सौर्य ऊर्जा प्लान्टको नियमित मर्मत–सम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन । 

सुस्ता बस्तीमा विद्युत् आपूर्तिका लागि एक सय केभिए क्षमताका दुईवटा वितरण ट्रान्सफर्मर राखिएका छन् । विद्युत् लाइन र ट्रान्सफर्मरको जडान र परीक्षण सम्पन्न गरिएको छ । अब त्यहाँबाट उपभोक्ताका घर–घरमा विद्युत् आपूर्ति दिन सुरु गरिनेछ । सुस्ता बस्तीमा करिब तीन सय ५० घरधुरी छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुर्‍याइएको बताए । ‘सुस्ता बस्तीमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति दिइरहेको भए तापनि भरपर्दो र गुणस्तरीय थिएन, स्थानीयबाट विद्युतीकरणका लागि माग हुँदै आएको थियो, भारतसँग सिमाना जोडिएको सुस्ता बस्तीमा राष्ट्रिय ग्रिड पुग्नु राष्ट्रियताको दृष्टिकोणबाट समेत महत्वपूर्ण छ,’ उनले भने, ‘चीनसँग सीमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्कालगायत विद्युत् नपुगेका उत्तर र दक्षिण सिमानाका बस्तीहरू पनि छिट्टै विद्युतीकरण हुँदै छन् ।’

एक करोड ३३ लाख रुपैयाँ अनुमानित लागत रहेको सुस्ता बस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष ०७९/८० मा सुरु गरिएको थियो । लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभएपछि झोलुंगे पुल निर्माण सम्पन्न नहुन्जेलसम्म पर्खनुपरेको थियो । 

प्राधिकरणले चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्‍याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिरहेको छ । हाल विद्युतीकरणको अवस्था  ९९ प्रतिशत छ । 
प्राधिकरणले विद्युत् नपुगेका घर खोज्दै विकट बस्ती–बस्तीको विद्युतीकरण गरिरहेको छ । विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार र नपुगेका ठाउँमा विद्युत् पुर्‍याउने कार्यलाई उच्च प्राथमिकता राखी काम भइरहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्–
देशलाई उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुर्‍याइएको छ । सुस्ता बस्तीमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति दिइरहेको भए तापनि भरपर्दो र गुणस्तरीय थिएन, स्थानीयबाट विद्युतीकरणका लागि माग हुँदै आएको थिया । भारतसँग सिमाना जोडिएको सुस्ता बस्तीमा राष्ट्रिय ग्रिड पुग्नु राष्ट्रियताको दृष्टिकोणबाट समेत महत्वपूर्ण छ । चीनसँग सीमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्कालगायत विद्युत् नपुगेका उत्तर र दक्षिण सिमानाका बस्तीहरू पनि छिट्टै विद्युतीकरण हुँदै छन् ।