नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिविरुद्धको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ।
सरकारले दीपकराज जोशीलाई बोर्डको सिइओमा नियुक्त गरेपछि त्यसविरुद्ध अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मी मंगलबार सर्वाेच्च पुगेको थिए। आफूभन्दा कम अंंक पाएका उम्मेदवारलाई नियुक्ति दिलाएको भन्दै रेग्मीले रिट दायर गरेका थिए। अदालतले अन्तरिम आदेश नदिएपछि जोशीलाई नियमित रूपमा बोर्डको सिइओको रूपमा काम गर्न बाटो खुला भएको छ।
रेग्मीले नेपाल पर्यटन बोर्ड कार्यकारी समिति, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटनसचिव तथा पर्यटन बोर्ड कार्यकारी समितिका अध्यक्ष डा. गणेश पाण्डे, बोर्डको विघटित कार्यकारी प्रमुख छनोट उपसमितिका सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे, नेपाल पर्यटन बोर्ड कार्यकारी समिति सदस्य तथा विघटित कार्यकारी प्रमुख छनोट उपसमिति सदस्य मदन आचार्य, नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका सदस्य तथा विघटित कार्यकारी प्रमुख छनाेट उपसमितिका सदस्य मिलन देवकोटा र जोशीलाई विपक्षी बनाएका थिए।