मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
स्टेफन वुल्फ
२o८१ माघ २ बुधबार ११:o१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पको ग्रिनल्यान्ड हत्याउने जोखिमपूर्ण बाजी

Read Time : > 2 मिनेट
स्टेफन वुल्फ
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार ११:o१:oo

ग्रिनल्यान्डका स्रोतमा पहुँच पाउनुले अमेरिकी आपूर्ति शृंखलाको सुरक्षा बढाउन र चीनको दबाब कम गर्न मद्दत पुर्‍याउन सक्छ

सन् २०१९ मा डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड किन्ने प्रस्ताव गर्दा व्यापक रूपमा आलोचना भएको थियो, जसका कारण उनको डेनमार्कको राजकीय भ्रमण पनि रद्द भयो । ६ वर्षपछि ट्रम्पले पुनः अमेरिकी राष्ट्रपति पद सम्हाल्दै गर्दा यस विचारलाई फेरि अघि सारेका छन् । ८ जनवरी २०२५ मा उनले आफ्नो गम्भीरता देखाउन छोरा डोन जुनियर र प्रतिनिधिलाई ग्रिनल्यान्ड पठाएका छन् । ट्रम्पलाई ग्रिनल्यान्ड किन्न आर्थिक कोणबाट कुनै समस्या देखिँदैन किनभने उनलाई एलन मस्कको वित्तीय समर्थन छ । ग्रिनल्यान्ड प्राप्त गर्न खोज्ने अमेरिकाको नीति नौलो भने होइन । अमेरिकाले ग्रिनल्यान्डलाई सन् १८६८ देखि नै लिने प्रयास गर्दै आएको इतिहास छ, जसमा सन् १९४६ मा राष्ट्रपति ह्यारी एस. ट्रुम्यानको प्रयास उल्लेखनीय छ ।

ग्रिनल्यान्डप्रतिको ट्रम्पको पुनर्जागृत चासो अमेरिकाको भौगोलिक विस्तारको पुरानो परम्परासँग मेल खान्छ । सन् २०१९ को तुलनामा यो प्रस्ताव अहिले धेरै तर्कसंगत देखिन्छ किनभने ग्रिनल्यान्डमा धेरै महत्वपूर्ण खनिजको ठुलो भण्डार छ । द इकोनोमिस्टको सन् २०२४ को रिपोर्टअनुसार द्वीपमा ऊर्जा प्रविधिका लागि आवश्यक ५० मध्ये ४३ खनिजको भण्डार छ । चीनले व्यापार युद्धका क्रममा खनिज निर्यातमा कडाइ गर्दै गएपछि ग्रिनल्यान्डका स्रोतमा पहुँच पाउनुले अमेरिकी आपूर्ति शृंखलाको सुरक्षा बढाउन र चीनको दबाब कम गर्न मद्दत पुर्‍याउन सक्छ ।

रणनीतिक महत्व : ग्रिनल्यान्डको रणनीतिक अवस्थितिले यसलाई अमेरिकाका लागि थप मूल्यवान् बनाएको छ । त्यहाँ रहेको ‘पिटुफिक’ स्पेस आधार अमेरिकी क्षेप्यास्त्र प्रारम्भिक चेतावनी र रक्षा प्रणालीका लागि महत्वपूर्ण छ र यसले अन्तरिक्ष निगरानीमा मुख्य भूमिका खेल्छ । भविष्यमा यो आधारको विस्तारले आर्कटिक महासागर र उत्तर एटलान्टिकमा रुसी नौसेनाका गतिविधि निगरानी गर्ने अमेरिकी क्षमता बढाउन सक्छ । ट्रम्पको सम्झौता सफल भयो र ग्रिनल्यान्डमा अमेरिकी सार्वभौमसत्ता कायम भयो भने प्रतिद्वन्द्वी विशेषतः चीनलाई ग्रिनल्यान्डमा पकड जमाउनबाट रोक्न सकिन्छ । यद्यपि, चीनको खतरा धेरै चिन्ताको विषय नहुन सक्छ किनभने ग्रिनल्यान्ड नेटो सदस्य डेनमार्कको हिस्सा रहेको अवस्थामा डेनमार्कले वार्षिक करिब ५० करोड अमेरिकी डलर अनुदानबाट द्वीपको अर्थतन्त्र चलाइरहेको छ । तर, ग्रिनल्यान्डको स्वतन्त्रता जसको समर्थन क्रमशः बढ्दै गएको छ त्यसले थप र न्यून नियमन गरिएको विदेशी लगानीका लागि ढोका खोल्न सक्छ । यस्तो अवस्थामा चीनले लगानी गर्ने अवसर पाएमा यसले बलियो उपस्थितिको प्रयास गर्ने सम्भावना छ ।

रुस र चीनबिच बढ्दो सुरक्षा सहयोग र रुसको बढ्दो सैनिक आक्रामकतालाई हेर्दा ट्रम्पको तर्क थप विश्वसनीय देखिन्छ । उनी चेतावनी दिने व्यक्ति मात्र पनि होइनन् । र, क्यानडा, डेनमार्क र नर्वेले हालै आर्कटिक क्षेत्रमा बढ्दो रुसी र चिनियाँ प्रभावलाई रोक्ने प्रयास गरेका छन् । त्यसैले, ट्रम्पको प्रस्ताव गलत आधारमा गरिएको हो भन्न मिल्दैन । विशेषतः बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका समयमा आर्कटिक क्षेत्रमा बढ्दो रुसी र चिनियाँ प्रभाव एक सुरक्षा समस्या हो । यस सन्दर्भमा ग्रिनल्यान्डले अमेरिकाका लागि विशेष र महत्वपूर्ण सुरक्षा चुनौती पेस गर्छ ।

ट्रम्पको योजनामा देखिएका त्रुटि : समस्या ट्रम्पको ‘अमेरिका फस्र्ट’को सीमित दृष्टिकोणमा छ, जसले समाधान खोज्ने क्रममा संकीर्ण सोचलाई उजागर गर्छ । उनले ग्रिनल्यान्ड चाहिन्छ र कुनै पनि मूल्यमा त्यो प्राप्त गर्ने अडान लिएका छन् । त्यसको अर्थ डेनमार्कको निर्यातमा असाधारण कर लगाउने (अर्थात् नोभो नर्डिस्कका तौल घटाउने औषधि उदाहरण हुन सक्छ) वा बल प्रयोग गर्न हुन सक्छ । अपेक्षित रूपमा ग्रिनल्यान्ड र डेनमार्कले यो नयाँ ‘प्रस्ताव’लाई अस्वीकार गरेका छन् । हाललाई प्रतीकात्मक रूपमा भए पनि फ्रान्स र जर्मनीजस्ता साझेदार तुरुन्तै डेनमार्कको समर्थनमा उभिएका थिए । अमेरिकी सुरक्षालाई बलियो बनाउनुको सट्टा ट्रम्पले फेरि एकपटक पश्चिमा गठबन्धनलाई कमजोर पारेर यसलाई प्रभावकारी रूपमा क्षति पुर्‍याइरहेका छन् । उत्तर एटलान्टिक क्षेत्रमा यस्तो कदम चाल्दा के परिणाम निस्किन्छ भन्नेबारे उनी बेखबर देखिन्छन् । त्यसबाहेक १९औँ शताब्दीको शैलीको भौगोलिक विस्तारवादले ट्रम्पको एकान्तवादी प्रवृत्तिलाई झल्काउँछ र यो थप गम्भीर समस्या हो ।

ग्रिनल्यान्डलाई अमेरिकामा समाहित गर्नुले वासिङ्गटनलाई महत्वपूर्ण खनिज आपूर्ति शृंखलामा बलियो बनाउन र रुस तथा चीनलाई नियन्त्रणमा राख्न मद्दत गर्नेछ । र, ‘समाहित’ कुनै पनि मूल्यमा गर्ने संकेतले ट्रम्पको विदेश नीतिसम्बन्धी दृष्टिकोण सामान्य राष्ट्रवादी आडम्बर र भारीभरकम शब्दावलीभन्दा पर प्रत्यक्ष र अप्रतिबन्धित हुने देखिन्छ । रुस र चीनसँग आर्कटिक र अन्य क्षेत्रमा सामना गर्न डेनमार्क र अन्य नेटो तथा युरोपीय साझेदारसँग सुरक्षा सहकार्यलाई सुदृढ गर्नेमा ध्यान केन्द्रित गर्नुको सट्टा ट्रम्प र उनको टोलीले सम्भवतः साझेदारीविनै काम चलाउन सकिन्छ भन्ने विश्वास गरेको देखिन्छ । यहाँ जेका लागि बाजी मार्न खोजिँदै छ, त्यो भनेकै अमेरिकाका सबैभन्दा नजिकका साझेदारसँगको सम्बन्ध हो । वास्तवमा भन्ने हो भने यो एक ठुलो र अन्यायपूर्ण बाजी हो । इतिहासमा कुनै पनि महान् शक्ति सधैँका लागि एक्लो भएर सफल भएको छैन र अमेरिकाले जसोतसो गरेर भए पनि ग्रिनल्यान्डलाई हासिल गर्छ भने पनि इतिहासदेखि चल्दै आएको यो प्रवृत्ति परिवर्तन हुने सम्भावना कम छ ।

(वुल्फ बर्मिंघम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सुरक्षाका प्राध्यापक हुन्) 
द कन्भर्सेसनबाट