मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
२o८१ माघ २ बुधबार ११:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदयपुरमा पुस्तक बेच्दै महावीर पुन

पुस्तक विक्रिबाट हालसम्म दश करोडभन्दा बढी रकम संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार ११:३५:oo

वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न डाक्टर महावीर पुन आफैँले लेखेको आत्मकथामा आधारित पुस्तक ‘सम्झना, सपना र अविरल यात्रा’ बिक्री गर्दै उदयपुर आइपुगेका छन् । कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची–महाकाली महाअभियानमा होमिएका पुन मंगलबार दिउँसो उदयपुरको सदरमुकाम गाईघाट आइपुगेका हुन् ।

उनले भने, ‘पश्चिम नेपालको यात्रा सकेर पूर्वी नेपालको यात्राको अभियानमा उदयपुर आइपुगेको छु । उदयपुरको गाईघाटलगायतका क्षेत्रमा दुई दिन पुस्तक बेचेर सप्तरीतर्फ लम्कनेछु ।’ उनका अनुसार उदयपुरमा हालसम्म चार सयभन्दा बढी पुस्तक बिक्री भइसकेका छन् । पुस्तक बेच्नेक्रम जारी रहेको छ ।

उनले गाईघाट वरपर कसैले कार्यक्रम राखेर किताब किन्न चाहेको खण्डमा ९८४१५९२३६१ मा सम्पर्क गरी भेट्न सक्ने जानकारी दिए । पुनको गाईघाट आगमनले स्थानीयवासी र शुभचिन्तकहरूमा उत्साह थपेको छ । स्थानीयहरूले पुस्तक किन्न मात्र नभई उनको अभियानलाई समर्थन जनाउन पनि सक्रियता देखाएका छन् । 

किरण राईले पुनलाई दिए ५० हजार

यसैगरी गाईघाटमा रहेको जेके पुस्तक पसलका सञ्चालक किरण राईले महावीर पुनलाई ५० हजार रकम सहयोग गरेका छन् । पुनले हालसम्म एक लाख ५० हजार पुस्तक बिक्री गरी दश करोडभन्दा बढी पैसा संकलन गरेको जानकारी दिए । 

उनले भने, ‘पुस्तक बिक्री सुरु गरेदेखि हालसम्म एक लाख ५० हजारभन्दा बढी पुस्तक बिक्री भइसकेको छ । हिसाब निकाल्न बाँकी छ । झन्डै १० करोड संकलन भइसकेको छ ।’

कृषि औजार कारखाना सञ्चालन गर्न १५ करोड रुपैयाँ आवश्यक रहेकाले तीन लाख प्रति किताब बेच्दा त्यति नाफा निस्कने उनको भनाइ छ । राष्ट्रिय आविष्कार केन्द्र नामक संस्था खोलेका पुनले नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्य राखेका छन् । 

वर्षौँदेखि बन्द रहेको कारखाना सञ्चालनमा ल्याएर कृषिमा आमूल परिवर्तन गर्न सकिने सपना पुनको छ । कारखाना सञ्चालनमा सरकारले रुचि नदेखाएपछि आफैँले पुस्तक बेचेर भए पनि  सञ्चालनमा ल्याउने अभियानले सार्थकता पाउँदै गएकोमा पुनले खुसी व्यक्त गरे । पुनको एउटा पुस्तकको मूल्य ७५० रुपैयाँ रहेको छ ।