१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २३ आइतबार १७:११:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

हुलाकी सडकको काम छिटो गर्न माग गर्दै गाउँपालिका अध्यक्ष नै धर्नामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १७:११:oo

पश्चिम नवलपरासीमा हुलाकी सडक निर्माणको काममा ढिलासुस्ती भएको भन्दै गाउँपालिका अध्यक्ष नै धर्नामा बसेका छन्। 

हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती पाएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसहित जिल्लाका राजनीतिक दल र सरोकारवालाहरूले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन्।

आइतबार एक घण्टा धर्ना बसेको टोलीले आफ्ना मागलाई बेवास्ता गरे आमरण अनशनमा बस्ने चेतावनी दिएको छ।

हुलाकी सडक निर्देशनालयअन्तर्गत गोपीगन्जदेखि बेलाटारीसम्मको ६.५ किलोमिटर सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि तत्काल काम अघि बढाउन माग गर्दै पालिका अध्यक्षको नेतृत्वमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसहितले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन्।

यसअघि प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले संघ सरकारलाई पत्राचार गर्दै १५ दिनभित्र काम अगाडि नबढाए धर्ना र आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए।

सडक निर्माणका क्रममा खनिएका खाडलले गर्दा हिउँदमा धूलो र वर्षामा हिलोले दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ। ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशनालयसँग पटक–पटक समन्वय गर्दा पनि काम अघि नबढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल पहलकदमी लिन माग गरिएको छ।

२०७० सालमा निर्माण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन। जसका कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ। जिल्लाका राजनीतिक दलका प्रतिनिधिले सडक निर्माणको काम तत्काल अगाडि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई पनि ज्ञापनपत्र बुझाएका छन्।

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवले आजदेखि आफूले आन्दोलन सुरु गरेको बताउँदै भदौ २५ देखि ३ दिन इलाका प्रशासन कार्यालय सेमरी अगाडि रिले अनशन बस्ने र भदौ २८ गतेदेखि आमरण अनशनमा बस्ने बताए।