१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८१ भदौ २३ आइतबार o९:२२:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा आइसिपी निर्माणमा ५३% र टिमुरे सुक्खा बन्दरगाहमा ६५% प्रगति

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार o९:२२:oo

भारतले भैरहवा आइसिपी र चीनले टिमुरे सुक्खा बन्दरगाह यसै वर्ष नेपाललाई हस्तान्तरण गर्ने 

भैरहवा एकीकृत भन्सार जाँचचौकी  (आइसिपी) र रसुवाको टिमुरे सुक्खा बन्दरगाह यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ । भारतको सहयोगमा बनिरहेको भैरहवा आइसिपी र चीनको सहयोगमा निर्माण भइरहेको टिमुरे सुक्खा बन्दरगाह यही आवमा सकेर नेपाललाई हस्तान्तरण गर्ने गरी सम्बन्धित परियोजनाले कार्ययोजना पेस गरेका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको कार्ययोजनामा यी दुई परियोजनाको निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने उल्लेख छ । दक्षिण र उत्तरतर्फ बनिरहेका दुवै परियोजनाहरू व्यापार तथा रणनीतिक रूपमा उत्तिकै महत्वपूर्ण रहे पनि अपेक्षाअनुसार प्रगति हुन सकेको छैन । यद्यपि, यस वर्ष भने दुवै परियोजना सम्पन्न हुने गरी काम भइरहेको नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जेठ ०८० मा सुनौली–भैरहवा एकीकृत जाँचचौकीको शिलान्यास भएको थियो । भैरहवा आइसिपी भारतको प्राविधिक तथा आर्थिक सहयोगमा बनिरहेको छ । यसको भौतिक प्रगति ५३ प्रतिशत पुगेको छ । करिब तीन अर्ब भारतीय लागत अनुमान रहेको यस परियोजना भारतले असार ०८२ सम्म नेपाललाई हस्तान्तरण गर्ने इन्टरमोडलका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । 

रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहको काम ६५ प्रतिशत पूरा भएको छ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेको यस परियोजनामा कोभिडका कारण लामो समय काममा अवरोध आएको भए पनि अहिले निर्माणले गति लिइरहेको उनले बताए । सन् २०१८ मै ३० महिनाभित्र निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता भए पनि कोभिड महामारीका कारण निर्माण प्रभावित भएको थियो । अहिले कामले गति लिइरहेको उनले बताए । करिब दुई अर्ब लागत रहेको सुक्खा बन्दरगाहमा  करिब तीन सय ५० वटा ठुला ट्रक तथा कार पार्किङ, पाँच हजार वर्गमिटरको पाँचतले सीमा जाँचपास भवन, जाँचपास कक्ष, कार्गो गोदामलगायत संरचना निर्माण हुनेछ । बन्दरगाह आधुनिक तथा सुविधासम्पन्न हुने उनले बताए ।

‘दुवै परियोजना भैरहवा आइसिपी र टिमुरे सुक्खा बन्दरगाहको निर्माणले गति लिइरहेको छ, मन्त्रालय र समितिबाट नियमित अनुगमन, सहजीकरण तथा समन्वय भइरहेको छ,’ उनले भने, ‘दुवै परियोजनाको निर्माण 

चालू आवभित्रै सकेर नेपाललाई हस्तान्तरण हुनेछ ।’ भैरहवा आइसिपीले भारततर्फको र टिमुरे सुक्खा बन्दरगाहले चीनतर्फको व्यापार वृद्धि तथा सहजीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले बताए । ‘दुवै अन्तर्राष्ट्रिय नाका हुन्, तर अहिले व्यवस्थित छैनन्,’ उनले भने, ‘निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि व्यापार सहजीकरण हुनुका साथै लागतसमेत घट्नेछ ।’

दुवै परियोजना समयमै सम्पन्न हुने गरी समन्वय भइरहेको छ : आशिष गजुरेल, कार्यकारी निर्देशक, नेपाल इन्टरमोडेल यातायात विकास समिति
भैरहवा आइसिपी र टिमुरे सुक्खा बन्दरगाहको कामले अहिले अपेक्षाअनुसार गति लिइरहेका छन् । भैरहवा आइसिपीमा ५३ प्रतिशत र टिमुरे सुक्खा बन्दरगाहमा ६५ प्रतिशत प्रगति छ । दुवै परियोजनाले ०८२ असारभित्रै नेपाललाई हस्तान्तरण गर्ने कार्ययोजना पेस गरेका छन् । मन्त्रालय र समितिले एक वर्षभित्रै निर्माण सम्पन्न र हस्तान्तरण हुने गरी आवश्यक समन्वय र सहजीकरण गरिरहेका छन् । निर्माण सम्पन्नपछि नेपाल–भारत र नेपाल–चीनको व्यापारमा थप सहजीकरण हुने र लागतसमेत घट्नेछ ।

दोधारा–चाँदनीको निर्माण यसै वर्ष 
सरकारले दोधारा–चाँदनी सुक्खा बन्दरगाहको निर्माण यसै वर्ष सुरु गर्ने लक्ष्य राखेको छ । उद्योग मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा यस सुक्खा बन्दरगाहको निर्माण एक वर्षभित्रै सुरु गर्ने उल्लेख छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जेठ ०८० मा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि समेत सम्झौता भएको थियो । जसअनुसार भारतीय आर्थिक तथा प्राविधिक सहयोगमा यो बन्दरगाह निर्माण हुनेछ । 

दोधारा–चाँदनी सुुक्खा बन्दरगाह निर्माणसम्बन्धी वातावरणीय व्यवस्थापन योजना (इएमपी) दुई साताअघि स्वीकृत भइसकेको छ । अब रुख कटान तथा जग्गाप्राप्तिको प्रक्रिया अघि बढ्नेछ । ‘रुख कटान र जग्गा अधिग्रहणका लागि मन्त्रिपरिष्दबाट स्वीकृति हुनुपर्छ, वन तथा वातावरण मन्त्रालयबाट यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा जानेछ,’ उनले भने, ‘त्यसपछि सुक्खा बन्दरगाह निर्माण सुरु हुनेछ ।’