१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
त्रिभुवन आर्मी क्लबविरुद्ध गोल गरेपछि गीता राना (जर्सी नं. १२)सहित एपिएफका खेलाडी खुसी मनाउँदै । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २३ आइतबार o८:२१:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय महिला लिग विभागीय टोलीमा एपिएफको दबदबा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार o८:२१:oo

पहिलो खेलमा नेपाल पुलिससँग गोलरहित बराबरीमा रोकिएको एपिएफले दोस्राे खेलमा आर्मीविरुद्ध रोमाञ्चक जित निकाल्यो

विभागीय डर्बीअन्तर्गत राष्ट्रिय महिला लिगमा शसस्त्र प्रहरी बलको एपिएफ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराएको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफलाई जित दिलाउन सविता रानामगर र गीता रानामगरले गोल गरे । आर्मीका लागि विमला चौधरीले एक गोल फर्काइन् । खेलमा तीनै गोल राष्ट्रिय टोलीका सदस्यले गरेका हुन् । यो खेलपछि साबिक विजेता एपिएफले पहिलो जित निकालेको छ । पहिलो खेलमा एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । यता, आर्मीको पहिलो हार हो । आर्मीले पहिलो खेलमा डेब्यु गरेको संकटा एफसीलाई ४–० ले हराएको थियो । जितपछि एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले स्कोरिङमा समस्या हुँदा जित कठिन बनेको प्रस्ट पारे । 

उनले अनुभवी दुई खेलाडी नहुँदा टिममा समस्या भएकोसमेत बताए । ‘स्ट्राइकर सावित्रा भण्डारी र गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा नहुँदा टिममा धेरै नयाँ खेलाडी छन् । त्यसैले पनि गोल निस्कन निकै गाह्रो भएको छ,’ पूर्वखेलाडी पाण्डेले भने, ‘पहिलो खेलमा पुलिसविरुद्ध पनि गोल निस्कन गाह्रो भएको थियो । दोस्रो हाफमा राम्रो खेल खेल्दै तीन अंक जोडेका छौँ ।’ हाल सावित्रा फ्रान्सको महिला लिग तथा अञ्जिला ग्रिस लिगमा अनुबन्ध छन् । त्यसैले दुवै अहिले एपिएफ टोलीबाट बाहिर रहेका हुन् । दोस्रो खेलमै पहिलो हार व्यहोरेपछि आर्मीका सहायक प्रशिक्षक टेकबहादुर बुढाथोकी खुसी रहेनन् । उनले नयाँ खेलाडीलाई खेल्न अझै गाह्रो भएको बताउँदै उपाधि जित्न कमब्याक गर्ने बताए । ‘एउटै खेल हारेका हौँ । विभागीय टोलीसँग हार्‍यो भन्दैमा हामी उपाधिबाट टाढा बस्दैनौँ । बाँकी खेलमा कमब्याक गर्दै उपाधि जित्न नै प्रस्तुत हुन्छौँ,’ आर्मीकै पूर्व खेलाडी बुढाथोकीले भने ।

सविताको अग्रता गोल
खेलको पहिलो हाफमा एपिएफलाई आर्मीले दबाबमा राखेको थियो । अग्रपंक्तिमा दीपा शाही र अमिशा कार्की तथा चन्द्रा भण्डारीले सानदार प्रदर्शन गर्दै एपिएफको रक्षकलाई दबाब दिएका थिए । तर, दोस्रो हाफमा सरु लिम्बू मैदान प्रवेश गरे पनि खेलमा एपिएफले एकपक्षीय दबाब सिर्जना गरेको थियो । पहिलो हाफको इन्जुरी समयमा पाएको दोस्रो मौकामै एपिएफ गोल गर्न सफल भयो । कप्तान अनिता बस्नेतको कर्नरलाई गोलकिपर अञ्जना रानामगरसहित आधा दर्जन खेलाडी रोक्न पुग्छन् । तर, त्यही बल अनमार्क रहेकी साविताको खुट्टामा पुग्छ । बक्सभित्रबाट उनले सहज गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी हुन् । पहिलो हाफमा एपिएफले अग्रता बनाएपछि आर्मीले ५६औँ मिनेटमा बराबरी गोल गर्‍यो । 

रक्षक गीता रानाले क्लियर गर्न नसकेको बललाई विमलाले बक्सबाहिर सुन्दर गोलमा परिणत गरिन् । अञ्जिलाको अभावमा गोलपोस्टको जिम्मेवारी पाएकी सावित्री किसनले त्यो प्रहारको भेउ नै पाइनन् । त्यसको १० मिनेटपछि नै एपिएफ खेलमा फर्कियो । रक्षक गीताले पेनाल्टीमा एपिएफलाई २–१ को अग्रता दिलाइन् । बल बक्सभित्र पुर्‍याएकी अनिता केसीलाई गोलकिपर अञ्जनाले लडाएपछि रेफ्री प्रतीक धिमिरेले एपिएफलाई पेनाल्टी अवसर दिएका थिए । 

गोल नहुँदा दबाब भइरहेको छ : जीवेशकुमार पाण्डे, प्रशिक्षक, एपिएफ
हामीलाई लिगका दुवै खेल निकै गाह्रो भएको छ । मुख्य समस्या भनेको स्ट्राइकरमा छ । सावित्री भण्डारी र अञ्जिला तुम्बाप्पो सुब्बा नहुँदा धेरै फरक हुन्छ । गोल नै निस्केको छैन । टिम नै दबाबमा भएजस्तो महसुस भएको छ । पुलिसविरुद्ध पनि समस्या यही थियो । हामीले योजनाअनुसार नै सरु लिम्बूलाई मैदान प्रवेश गराएपछि दबाब बनाउन सफल भयौँ । घाइते भएकाले पनि उनलाई दोस्रो हाफका लागि राखिएको हो । अब, पुराना खेलाडी धेरै विदेशमा खेल्ने हुँदा नयाँ खेलाडी समावेश गरेर टिम बलियो बनाइरहेका छौँ । । अरू टिमले पनि लगानी राम्रो गरेकाले लिग जित्न धेरै प्रतिस्पर्धा हुन्छ । 

हामी उपाधि दाबेदारमै रहन्छौँ : टेकबहादुर बुढाथोकी, सहायक प्रशिक्षक, आर्मी 
सानोसानो गल्तीले एपिएफविरुद्ध धेरै गाह्रो भयो । हामीले गोलका लागि धेरै अवसर पनि बनायौँ । तर, गोल नै नहुँदा समस्या भएको छ । गोल समयमै नहुँदा खेलाडी अत्तालिएजस्तो देखियो । पहिल्यै गोल भएको भए, हामीले धेरै दबाब बनाउने थियौँ । पेनाल्टीमा दोस्रो गोल भए पनि झनै दबाबमा भयौँ । त्यसपछि कमब्याक गर्नै सकेनौँ । बेन्चमा रहेका खेलाडीबाट केही हुन्छ कि भनेर परिवर्तन गर्‍यौँ । तर, सफल भएनौँ । हामी उपाधि दाबेदारमै छौँ ।