१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
ताप्लेजुङस्थित कञ्चनजंघा संरक्षण क्षेत्रको हिमाली क्षेत्रमा रहेको खर्कमा चौँरी ।
२o८१ भदौ २२ शनिबार o६:२o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

टिप्ताला नाका त खुल्यो, तर चौँरी बेच्न अझै प्रतिबन्ध

कोरोना महामारीमा नाका बन्द भएसँगै बिक्री ठप्प हुँदा ताप्लेजुङमा चौँरी बढेर चराउने खर्कको अभाव, क्वारेन्टिन चेकपोस्टको माग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार o६:२o:oo

ताप्लेजुङको ओलाङचुङगोलामा रहेको सीमानाका टिप्ताला भञ्ज्याङ गत ११ जेठदेखि नै खुला भएको छ । तर, तिब्बतले उक्त नाकाबाट याक तथा चौँरी आयात–निर्यातलाई भने अझै खुला नगर्दा किसान मारमा परेका छन् । कोरोना महामारीमा तिब्बतले बन्द गरेको नाका पाँच वर्षपछि खुला गरे पनि उक्त नाका हुँदै चौँरी बिक्रीमा भने प्रतिबन्ध भने नहटाएको हो । 

ताप्लेजुङको उत्तरी क्षेत्रका किसानले उत्पादन गरेका याक तथा चौँरीको मुख्य बजार तिब्बत हो । कोरोनाअघि तिब्बततिर लगेर चौँरी बिक्री गरिन्थ्यो । तर, कोरोनापछि तिब्बततर्फ बिक्री बन्द भएपछि गोठमा चौँरी पाल्न नसक्ने गरी बढेको र खर्कको समेत अभाव हुन थालेको किसानको गुनासो छ । 

कोरोना सुरु हुनुभन्दा अगाडि ७० चौँरी रहेका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ लेलेपका छ्वाङ शेर्पासँग अहिले तीन सय चौँरी छन् । त्यस्तै, मिक्वाखोला गाउँपालिका– ५ पापुङका मिलन दोर्जे शेर्पासँग पनि पाँच वर्षअगाडि ८० चौँरी तथा याक थिए । अहिले बढेर ३५० पुगेका छन् । ‘पाँच वर्षयता चौँरी तथा याक बिक्री भएको छैन,’ उनले भने । शेर्पाले याक तथा चौँरी बिक्री नभएपछि अब थेग्न सक्ने अवस्था नरहेको भन्दै चौँरी निकासीका लागि सरकारले पहल गर्नुपर्ने बताए । शेर्पाले याकको पोथीलाई ‘डी’ र भालेलाई ‘याक’ भनेर छुट्याउने गरेको बताए । 

पछिल्लो पाँच वर्षको अवधिमा ताप्लेजुङमा याक तथा चौँरीको संख्या अत्यधिक वृद्धि भएको छ । हिमाली क्षेत्रका बासिन्दाले पुख्र्यौली पेसाका रूपमा यसलाई पालन गर्दै आएका छन् । समुद्री सतहबाट ३००५ मिटर उचाइदेखि पाँच हजारसम्मको उचाइमा याक तथा चौँरीको चरनक्षेत्र मानिन्छ । विश्वको तेस्रो अग्लो कञ्चनजंघाका फेदी तथा मिक्वाखोलाको तोक्पेगोला क्षेत्रमा समेत याक गोठ राखिन्छ । 

फक्ताङलुङ गाउँपालिकाका कार्यपालिका सदस्य तेन्जिङ सेराप शेर्पाले चीनको स्वशासित क्षेत्र तिब्बतले याक तथा चौँरी व्यापारका लागि नाका खुला नगरिदिँदा याक चौँरीपालक किसान मारमा परेको बताए । ‘हिमाली क्षेत्रमा याक तथा चौँरीको संख्या धेरै बढेको छ, जसकारण किसानले थेग्न सक्ने अवस्था छैन,’ उनले भने । फक्ताङलुङको याङ्मा, घुन्सा, ओलाङचुङगोलामा करिब तीन हजार याक तथा चौँरी रहेको उनले बताए । सिरिजंघाको याम्फुदिनमा पनि करिब पाँच सयको संख्यामा चौँरी छन् ।

मिक्वाखोला गाउँपालिका– ५ पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाले ३२ परिवारको पुख्र्यौली पेसा नै यही रहेको बताए । उनीहरूसँग चार हजार याक तथा चौँरी रहेको जानकारी दिए । पापुङको हिमाली क्षेत्र सोदुपोखरी तोक्पेगोला क्षेत्र तथा ओलाङचुङगोलाको सिमानासम्म याक तथा चौँरीका गोठ रहेको र अवका दिनमा चौँरीको चरन मात्र नभएर वासस्थानकै अभाव हुने वडाध्यक्ष शेर्पाले बताए । 

सीमानाका बन्द हुनुअघि चीनको बजारमा प्रतियाक एक लाखदेखि एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ । तर, स्थानीयस्तरमा बेचबिखन हुने गरेको छैन । 

विगतमा पाँचथरका साथै भारतको सिक्किमबाट पनि चौँरी तिप्ताला नाका ल्याएर बिक्री गरिन्थ्यो । जिल्लाका नौ स्थानीय तहमध्ये फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिकाबाहेक सात पालिकामा चौँरी याकपालन गरिँदै आएको छ । उचित मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय याकपालनतर्फ आकर्षित हुने गरेको फक्ताङलुङ– ६ घुन्साका स्थानीय डन्डु शेर्पाले बताए ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ याङमाबाट चीनतर्फ जाने (याङमा पास) खाङ्ला नाका पूरै बन्द छ । याङमादेखि एक दिन हिँडेपछि सो नाका पुगिन्छ । तर, नाका बन्द हँुदा दुई दिन घुमेर मात्र ओलाङचुङगोलाको तिप्ताला नाका पुगिन्छ । 

मिक्वाखोला– ५ तोक्पेगोलाका बासिन्दालाई संखुवासभाको भोटखोलामा रहेको अम्बोक्ला नाका सहज हुने गरेको थियो । तर, सो नाका पनि पूर्ण रूपमा बन्द छ । अम्बोक्ला नाकामा पुग्न तोक्पेगोलाबाट एक दिन लाग्छ । सोही नाकाबाट विभिन्न सामग्री तथा याक चौँरीको व्यापार हुने गरेको थियो । नाका बन्द भएपछि तीन दिन लगाएर संखुवासभाको किमाथांका नाका र टिप्तालानाका जानुपर्ने बाध्यता छ । 

क्वारेन्टाइन चेकपोस्टको माग
याक र चौँरी तिब्बतमा बिक्री गर्न प्रतिबन्ध लगाइएपछि स्थानीयले क्वारेन्टाइन चेकपोस्टको माग गरेका छन् । क्वारेन्टाइन चेकपोस्ट राखेर भए पनि याक र चौँरीको बिक्रीका लागि पहल गरिदिन स्थानीयले सरकारसँग अनुरोध गरेका छन् । फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले तिप्ताला नाकामा क्वारेन्टाइन चेकपोस्टको स्थापना गरेर भए पनि याक र चौँरी तिब्बतमा बेच्न सहज गरिदिन संघीय सरकारलाई अनुरोध गरे । 

मिक्वाखोला– ५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले पापुङको तोक्पेगोला क्षेत्र अझै सानो भएकाले याक र चौँरीलाई चरनदेखि बस्नको समेत समस्या रहेको बताए । उनले याक तथा चौँरी पशु चिकित्सक राखेर स्वास्थ्य परीक्षण गरी स्वस्थकर मात्र तिब्बतमा बेचबिखन हुने वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेका छन् ।