१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १५ शनिबार
  • Saturday, 14 September, 2024
२o८१ भदौ १५ शनिबार o६:२२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

धुलिखेल पनि हेलिकोप्टरमा पुगे प्रधानमन्त्री ओली

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १५ शनिबार o६:२२:oo

करिब ३० किलोमिटर दूरीमा रहेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहमा जाँदा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली सेनाको हेलिकोप्टरमा गए, गएको हेलिकोप्टरमा समस्या देखिएपछि सेनाकै अर्को हेलिकोप्टरमा फर्किए

करिब ३० किलोमिटर टाढाको धुलिखेलमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी ओली हेलिकोप्टरबाट गएका छन् । शुक्रबार काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहमा सहभागी हुन कुलपतिसमेत रहेका उनी हेलिकोप्टरमा गएका हुन् । विश्वविद्यालयकी सहकुलपति तथा शिक्षामन्त्री विद्या भट्टराई भने करिब आधा घण्टाको दूरीको सोही कार्यक्रममा गाडीमै पुगिन् । 

मन्त्री र प्रशासकलाई मितव्ययिता अपनाउँदै आर्थिक अनुशासन कायम गर्न निर्देशन दिने प्रधानमन्त्री ओली यति नजिकैको कार्यक्रममा  हेलिकोप्टरमा आउजाउ गरेकोमा आलोचना भइरहेको छ । दीक्षान्त समारोहका लागि उनी सेनाको एनए ०६७ कलसाइन हेलिकोप्टरमार्फत बिहान धुलिखेल पुगेका थिए । ११ः११ मा काठमाडौं विश्वविद्यालयको हेलिप्याडमा ल्यान्ड भएपछि प्रधानमन्त्री  ओली केयूको हाइड्रोजन कार चढेर सय मिटरहाराहारीमा रहेको विश्वविद्यालयको दीक्षान्त समारोहमा पुगेका थिए । 

धुलिखेलबाट सेनाको हेलिकोप्टरबाट फर्किने क्रममा प्रधानमन्त्री केपी ओली

प्रधानमन्त्री ओली सवा १ बजे काठमाडौं फर्कने तयारीमा थिए । तर, हेलिकोप्टर बिग्रेको खबर आएपछि करिब १५ मिनेटको पर्खाइमा सेनाको अर्काे हेलिकोप्टर (एनए ०३८) धुलिखेल अस्पतालको हेलिप्याडमा अवतरण भएको थियो । शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति भट्टराईको गाडी चढेर ओली विश्वविद्यालयबाट धुलिखेल अस्पतालको हेलिप्याड पुगेका थिए । 

हेलिकोप्टर प्रयोगबारे प्रधानमन्त्री ओलीको सचिवालयले औपचारिक टिप्पणी गर्न मानेन । तर, नाम उल्लेख नगर्ने सर्तमा एकजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारले गर्दा लामो समय जाम हुने समस्या, बाटो पनि खाल्टाखुल्टी भएको र अर्को कार्यक्रममा सहभागी हुन छिटो फर्किनुपर्ने भएकाले हेलिकोप्टर प्रयोग गरिएको दाबी गरे । ‘लामो समयदेखि बाटो विस्तार राम्रो भइनसकेका कारण सडक जामको समस्या छ, खाल्टाखुल्टी छन्, त्यसैले अरू कार्यक्रममा पनि सहभागी हुनुपर्ने भएकाले छोटो दूरीमा पनि हेलिकोप्टर प्रयोग गरिएको हो,’ सचिवालय स्रोतले भन्यो । तर, यो सडकमा त्यतिविघ्न जाम हुँदैन । काठमाडौंबाट पौने घण्टामै केयूमा आइपुगिन्छ । 

रत्नपार्कदेखि धुलिखेलसम्मको दूरी ३५ किलोमिटर हो । सडक विस्तारको काम सूर्यविनायक–धुलिखेल खण्डमा भइरहेको छ, यसको दूरी १५.८ किलोमिटर मात्र छ । काठमाडौंदेखि सूर्यविनायकसम्मको सडकमा कुनै अवरोध छैन । बनेपा विन्दुबाट निकालिएको तथ्यांक हेर्दा यो सडकमा दैनिक १२ हजार ७४५ गाडी आवातजावत गर्छन् । यसमा दुईपांग्रे सवारीसाधन मात्र ६ देखि सात हजार छन् । साँगा विन्दुको तथ्यांक हेर्दा यो सडकमा दैनिक ४०–४५ हजार यात्रु आवतजावत गर्छन् । यो तथ्यांक स्थानीय रुट, बिपी र अरनिको राजमार्गसहितको हो । 

१५ साउनमा मन्त्री र सचिवहरूलाई २६ बुँदे निर्देशन दिँदै ओलीले भनेका थिए, ‘मुलुकमा २० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनि छन्, आर्थिक अवस्था राम्रो छैन । हामीले देश र जनताका लागि प्रतिबद्ध भएर सेवा दिनु छ । दिनभरि काम नगर्ने र ५ बजेपछि बैठक गरेर भत्ता लिने प्रवृत्ति छ भने अब नगर्नू । हामीले इन्धन आयातका लागि खर्चने अर्बौँ रकम बचाउने योजनामा जानुपर्छ । जलविद्युत्को विकास र उपयोगमा ध्यान दिनुपर्छ ।’

२ हजार ३१४ विद्यार्थी दीक्षित
दीक्षान्त समारोहको दोस्रो चरणमा दुई हजार ३१४ विद्यार्थी दीक्षित भएका छन् । जसमा एक हजार १८६ छात्र र एक हजार १२८ छात्रा छन् । शुक्रबार दीक्षित हुने विद्यार्थीमा स्कुल अफ आर्टस्बाट ७०, स्कुल अफ एजुकेसनबाट ७१, स्कुल अफ इन्जिनियरिङबाट ३६४, स्कुल अफ म्यानेजमेन्टबाट ९७, स्कुल अफ मेडिकल साइन्सेजबाट एक हजार ५६३ र स्कुल अफ साइन्सबाट १४९ जना रहेका छन् । केयूबाट हालसम्म ४५ हजार ४३७ दीक्षित भइसकेका छन् । 

एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन काम थालेका छौँ : प्रधानमन्त्री 
प्रधानमन्त्री केपी ओलीले कक्षा १० को आगामी वर्षको एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन् । काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको बताए । 

‘५० प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तीर्ण हुनुु विद्यार्थीमाथिको चरम अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छुु,’ उनले भने, ‘बढी नम्बर दिएर नभई विद्यार्थीले आफैँ राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ । अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी हामी काम गर्नेछौँ ।’

ओलीले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढतासाथ अघि बढ्ने बताए । आफूूले झापामा गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीहरूको नतिजामा सुधार आएको उल्लेख गर्दै त्यस अभ्यासलाई देशभर विस्तार गर्न खोजेको उनको भनाइ थियो ।