Skip This
लुम्बिनी प्रदेश व्यापार संघ गठन, अध्यक्षमा ज्ञवाली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २९ शनिबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २९ शनिबार १७:५८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनी प्रदेश व्यापार संघ गठन, अध्यक्षमा ज्ञवाली

व्यवसाय प्रवर्धनका लागि दरिलो पैरवी गर्ने प्रतिवद्धता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २९ शनिबार १७:५८:oo

लुम्बिनी प्रदेशका व्यवसायीहरूको बुटवलमा सम्पन्न भेलाले प्रदेशस्तरीय लुम्बिनी प्रदेश व्यापार संघ गठन गरेको छ। 

रुपन्देही व्यापार संघको पहलमा गरिएको प्रदेशस्तरीय संघसंस्था परिचयात्मक, अन्तर्क्रिया एवं भेलाले रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको हो।

उद्योग र व्यापार अलग-अलग प्रकृतिका विषय भएको र राज्यका नीतिहरू पनि तद्अनुरूप हुनुपर्ने धारणा अघि सार्दै व्यापारीहरूको छाता संगठनका रूपमा राष्ट्रिय सञ्जालका लागि प्रदेशस्तरीय नेटवर्क बनाउने घोषणा पनि गरिएको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा दीपकप्रसाद अधिकारी, उपाध्यक्षमा दुर्गा पाण्डे र नेत्रप्रसाद भुसाल, महासचिवमा जीवनाथ पाण्डे, कोषाध्यक्षमा प्रकाशराज पौडेल, सचिवमा थानेश्वर गैरे छन्।

सदस्यहरूमा शंकर भट्टराई, श्रीकृष्ण पोखरेल, मोतीलाल पाण्डे, पदम श्रेष्ठ, यमला लोहनी, कृष्णप्रसाद घिमिरे, माधव नेपाल, जोगलाल विश्वकर्मा, मनिमदिन मियाँ, पुष्पा पौडेल, हरिप्रसाद पोखरेल, होमराज बस्याल छन्। बाँकी सदस्य जिल्ला तथा नगर संघहरूको सिफारिसमा पछि थप गर्ने निर्णय भएको छ।

यसअघि भेलाको उद्घाटनको अवसरमा वक्ताहरूले व्यवसायीहरूको हकहित र संरक्षणका लागि व्यवसायीहरूको एकतामा जोड दिँदै व्यापार संघको प्रदेशस्तरीय सञ्जाल निर्माणमा जोड दिएका थिए। 

राजनीतिक संरचनाअनुसार व्यवसायी तथा पेसागत संघसंस्थाहरूको पनि संरचनाको विकास गरिए त्यसले आर्थिक गतिविधि बढाउन र व्यावसायिक समस्याहरूको पहिचान तथा समाधानमा बल मिल्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, संघका पूर्वअध्यक्ष मोतीलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ, यमलाल लोहनी, गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गा पाण्डे, देवदह व्यापार संघका अध्यक्ष कोशबहादुर गुरुङ, अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्रबहादुर खड्का, सैनामैना व्यापार संघका वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, सैनामैना व्यापार संघका पूर्वअध्यक्ष दुर्गा गौतम, मणिमुकुन्द उद्यान परिषद्का अध्यक्ष माधव नेपाल, रुपन्देही व्यापार संघका अध्यक्ष दीपकप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, सचिव मनहरी बस्याललगायतले धारणा व्यक्त थिए। 

भेलाले नौबुँदे बुटवल घोषणापत्र पनि पारित गरेको छ। घोषणापत्रमा उद्योग र व्यापार अलग-अलग प्रकृतिका विषय हुन् र राज्यका नीतिहरू पनि तद्अनुरूप हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ भन्दै व्यापारीहरूको छाता संगठनका रूपमा प्रदेशस्तरीय नेटवर्क गठन गरेर अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।

समृद्ध राष्ट्रका लागि आर्थिक तथा औद्योगिक विकास अनिवार्य सर्त रहेको उल्लेख गर्दै आर्थिक गतिविधिमा व्यवसायी वर्गको महत्त्वपूर्ण भूमिका र योगदान रहने हुँदा सो वर्गलाई संगठित गरी उनीहरूको व्यावसायिक एकता, सीप विकास र व्यावसायिक अधिकारको संरक्षण र राष्ट्रिय अर्थतन्त्रको जग बलियो बनाउन अग्रसर हुने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा लुम्बिनी प्रदेश पर्यटन र कृषिको प्रचुर सम्भावना र आधार क्षेत्र भएको बताउँदै त्यसको सही उपयोग र विकास गर्न सकेमा समग्र लुम्बिनी प्रदेशको आर्थिक विकासको आधारस्तम्भ बन्ने ठहर गरिएको छ भने प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य एवं साझेदारीमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। 

व्यापार संघ प्रदेश समितिले व्यवसाय विस्तार तथा व्यवसाय प्रवर्द्धनका लागि दरिलो पैरवी गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने लक्ष्यलाई प्राथमिकतामा राख्ने, जिल्ला एवं नगर संघहरूबिच अन्तर्क्रिया, अनुभव साटासाट एवं नियमित भ्रमणको प्याकेज कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ।