हातमा करिब दुई इन्च मोटाइ, डेढ फिट लामा काठका डन्डी, निधारमा रामतिलक, गलामा माला सिम्रिक रङको रातो कमिज चुनुरीसहितको रातो जाँगे, मलमलको जामा, काठ र मकैको भुत्ला वा झिल्लरी प्रयोग गरेर बनाइएको पुच्छर। तिघ्रामा चाँप, झट्ट हेर्दा लंकाबाट आएका हनुमानजस्तो देखिने। मंगलबार बागलुङका नेवार समुदायका युवाहरू यो पहिरनमा देखिन्थे। उनीहरू ३ सय वर्ष पुरानो हनुमान नाच नाच्नका लागि तयार थिए।
बागलुङमा नौ वर्षपछि यो नाच विधिवत रूपमा नाचिएको छ। जब हनुमानका भेषमा रहेका युवाहरूलाई प्रधानकजी र कजीले नाच प्रारम्भ गर्ने निर्देशन दिए। उनीहरू बाजाको तालमा निरन्तर नाचिरहे। यहाँको हनुमान नाच संरक्षण परिषद्ले विधिवत पूजाआजा गरी हनुमान नाच देखाएको हो। गत साउन महिनाभरि नाचको बारेमा नयाँपुस्तालाई सिकाएको परिषद्ले भदौमा विधिवत् रूपमा नाच्न सुरु गरेको हो। नाचका लागि युवादेखि पाका पुस्ताहरूसम्म सहभागी हुन्छन्।
विगतका दिनमा केही मेला महोत्सवमा मात्र छोटो प्रस्तुति देखिने यो नाच हेर्नका लागि दर्शकहरूको भिड नै थियो। बागलुङ नगरपालिका—३ मा रहेको हनुमान धर्मशालाबाट सुरु गरिएको नाच बजार क्षेत्रमा पनि देखाइएको थियो। मंगलबारदेखि सुरु गरिएको हनुमान नाच आगामी चैत्रमा समापन गरिने हुनमान नाच संरक्षण परिषद् बागलुङका प्रधान कजी ईश्वरप्रसाद श्रेष्ठले बताए। ‘भदौको पहिलो मंगलबार नै निकाल्नुपर्ने हो, त्यो दिन गाईजात्रा परेका कारण निकाल्न सकिएन,’ श्रेष्ठले भने, ‘आजबाट हामी विधिवत सुरुवात गर्दै छौँ। चैतमा पुगेर समाप्त गर्ने सोचमा छौँ।’
आधिकारिक रूपमा ९ वर्षपछि बागलुङमा हनुमान नाच देखाउन थालिएको हो। बिचमा कोरोनालगायतका समस्याले गर्दा रोकिएको उनले जानकारी दिए। ‘हुनमान नाच संरक्षण परिषद्को कार्यकाल पाँच वर्षको हुन्छ, एक कार्यकालमा कम्तीमा एकपटक हुनमान नाच निकाल्नुपर्छ भन्ने मान्यता छ,’ उनले भने, ‘बिजोर वर्षमा निकाल्नुपर्ने भएका कारण कोरोनाले पनि समस्या पार्यो। ९ वर्षपछि निकाल्दै छौँ।’ तीन वा पाँच वर्षमा निकालिँदै आएको नाच पछिल्लोपटक ढिलाइ भएको हो।
शिरमा श्रीराम लेखिएको पट्टि, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हुनमानजस्तै देखिने एक हुल मानिसहरू दुई–दुईजनाको जोडी बनाएर संगीतको तालमा नाच्ने गर्छन्। हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो। मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले पनि नाच्ने गरेका छन्। पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कारअनुसार नाच्ने चलन भए पनि धेरै कलाकार आवश्यक पर्ने हुँदा खर्चिलो हुने भएकाले यो नाच जोगाउन कठिन पर्दै गएको मूल कजी श्रेष्ठको भनाइ छ।
‘१३ जोडी त कलाकार नै हुन्छन्, कसैलाई केही अप्ठ्यारो पर्दा उसको ठाउँ लिने थप कलाकार तयारी अवस्थामा राख्नुपर्यो,’ उनले भने, ‘महिनौँसम्म अभ्यास गर्नुपर्छ। आर्थिक रूपमा र कलाकार जोहो गर्न पनि कठिन हुने गरेको छ।’ हुनमान नाचमा कलाकार बनेर सहभागी हुन सजिलो छैन। कडा अनुशासन र आचारसंहिता पालना गरेर मात्रै कलाकार बन्न पाइन्छ। हनुमान नाचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने मूल कजी श्रेष्ठले बताए।
‘हनुमान बनेर नाच्ने र यसमा सहभागी हुने सबै कलाकार अनुशासनमा बस्नुपर्ने हुन्छ, हनुमानको भूमिकामा रहने भएकाले यो अवधिभर शारीरिक संसर्गबाट टाढा हुनुपर्छ,’ उनी भन्छन्, ‘कलाकार मात्र होइन, यसमा सहभागी सबैलाई यो कुरा लागू हुन्छ। घरमा जुठो सुत्केरो परेको वेला श्रीमती रजस्वला भएको वेलामा पनि यसमा सहभागी हुन मिल्दैन।’