१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ भदौ ११ मंगलबार o९:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदाहरणीय काम : मागीविवाहका लागि गैरदलित युवा र दलित युवतीको फूलमाला 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार o९:२८:oo

सुनसरीको इटहरीमा गैरदलित युवा र दलित युवतीको अभिभावकको स्वीकृतीमा भव्य रूपमा बिहेका लागि  फूलमाला सम्पन्न भएको छ । सुनसरीको धरान– ८ का परमदेव क्षेत्रीको छोरा इन्जिनियर समीर क्षेत्री र  सुनसरी  इटहरी– ४ निवासी राजकुमार गजमेर (विश्वकर्मा)की  छोरी डा. रोशनी गजमेरको मागीविवाहका लागि सोमबार अभिभावकको स्वीकृतिमा  फूलमाला समारोह सम्पन्न भएको हो। 

प्रेमबन्धनमा रहेका दुवै युवायुवतीले मागीविवाह गर्न आ–आफना अभिभावकलाई स्वीकार गराएका थिए। त्यसपछि केटा पक्ष केटीको घरमा छोरी  माग्न गएको थियो । केटी पक्षले स्वीकृति दिएपछि  दुवै अभिभावकको सहमतिमा सोमबार कृष्णजन्माष्टीको अवसर पारेर  इटहरीको दुर्गा पार्टी प्यालेसमा  दुवैतर्फका दुई सयभन्दा बढी आफन्तको उपस्थितिमा भव्य रूपले फूलमाला  सम्पन्न भएको हो।

विवाहका लागि दुवै पक्षका अभिभावकको स्वीकृतिमा भएको उक्त फूलमाला समारोहमा उपस्थित गैरदलित र दलित आफन्तहरूले समाजका लागि उदाहरणीय र अनुकरणीय कार्य गरेको भन्दै युवायुवतीलाई सफल दाम्पत्यका लागि आशीर्वाद र  उनीहरूका अभिभावकलाई बधाई दिए। 

राजीखुसी भव्य रूपले फूलमाला सम्पन्न गराएका अभिभावकहरूले चाँडै साइत निकालेर छोराछोरीको विवाह सम्पन्न गराउने बताएका छन्। संविधान र कानुनले दण्डनीय बनाए पनि अझै पनि दलित र गैरदलितको विवाह समाजमा  नपचिरहेको अवस्थामा दुवै शिक्षित युवायुवती र उनीहरूका  अभिभावक अनि आफन्तजनले समाज परिवर्तनको एउटा नमुना प्रस्तुत गरेको दलित अधिकारकर्मी अमर बराइलीले बताए। फूलमालामा केटी पक्षबाट सहभागी भएका अधिकारकर्मी बराइलीले भने, ‘यस्तो विवाहले अन्तरजातीय विवाह  गर्ने युवायुवतीलाई हौसला दिँदै समाज परिवर्तनमा सहयोग गरेको छ, यसैले यो उदाहरणीय कार्य हो ।’  

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोतीगाउँकी  मल्ल थरकी गैरदलित समुदायकी युवतीसँग प्रेमविवाह गर्न खोजकै कारण १० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँका २१ वर्षीय नवराज विकसहित ६ जनाको कुटपिट गरी भेरी नदीमा फालेर हत्या गरिएको थियो। १२ जना गम्भीर घाइते भएका थिए। गैरदलित युवतीसँग प्रेमविवाह गरेका कारण ०७३ सालमा   हत्या गरिएका काभ्रे पाँचखालका दलित युवा अजित मिजारको शवको अझै दाहसंस्कार हुन पाएको छैन। उनको शव अझै अस्पतालको शवगृहमा न्याय पर्खेर बसिरहेको छ। 

अझै दलित र गैरदलितबिच विवाह गर्ने र गरेका जोडीहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बहिष्कार गर्नेदेखि झुटा मुद्दा लगाउने अनि विभिन्न यातना दिने गरिएको छ।