१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ भदौ ११ मंगलबार o७:११:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

टुँडिखेलमा प्रधानमन्त्री ओली र देउवाविरुद्ध युवाहरूको हुटिङ

Read Time : > 3 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार o७:११:oo

सुदूरपश्चिममा विशेष महत्वका साथ मनाइने गौरा पर्वमा सहभागी हुन सोमबार टुँडिखेल पुगेका प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताविरुद्ध युवाहरूले नाराबाजी गरेका छन् । हुटिङबिच नेताहरूले सम्बोधन गरे ।

कार्यक्रमको सुरुमै कांग्रेस सभापति देउवा प्रवेश गरेका थिए । उनी प्रवेश गर्दा युवाहरू त्यति उत्तेजित थिएनन् । ओलीको प्रवेशपछि भने युवाहरू नाराबाजीमै उत्रिएका थिए । आफूविरुद्ध नाराबाजी भएपछि ओलीले असन्तुष्टि जनाएका थिए । उनले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए । नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको उनको भनाइ थियो । 

एमालेबाट राजनीतिक किनारामा पारिएका भीम रावल मञ्चमा प्रवेश गर्ने बेला उनीहरूले ‘वि वान्ट भीम रावल’ भन्दै नाराबाजी गरेका थिए । ओली कार्यक्रममा प्रवेश गर्दा विपक्षमा नाराबाजी गरेका युवाहरूले रावल प्रवेश गर्दा भने पक्षमा नारा लगाएका थिए । रावलले नमस्कार गर्दा ओलीले हाँसेर फर्काएका थिए । केही समय बोलेपछि ओली देउवासँग हात मिलाएर निस्केका थिए । देउवाले युवाहरूको विरोधतर्फ देखाउँदै कानेखुसी गरेका थिए । बिदा हुने वेला भीम रावलले नमस्कार गरे, ओलीले नमस्कार फर्काए । ओली बाहिरिने वेला पनि युवाहरूले विरोधमा चर्काे हुटिङ गरेका थिए । युवाहरूले काठमाडौं महानगरका मेयर बालेन्द्र साहको पक्षमा हुटिङ गर्दै ओलीका कारण देशले दुःख पाएको, ओली फिर्ता जाऊ, बालेन आऊजस्ता नारा लगाएका थिए ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको दमाहादेखि हुड्के नाच हुँदै गौरा पर्वले देशव्यापी आकार लिएको बताए । ‘पश्चिमको मात्र होइन यो संस्कृति सिंगै देशको रूपमा अगाडि बढ्दै छ । यसमा खुसी व्यक्त गर्दछु,’ उनले भने । नेपालको कला, संस्कृति र मौलिकताको जगेर्ना गर्नुपर्ने र यसलाई विश्वव्यापी रूपमा फैलाउनुपर्ने उनको भनाइ थियो । ‘सुदूरपश्चिम नेपालको सभ्यता र संस्कृतिको केन्द्र हो । गौरवपूर्ण इतिहास बोकेको ठाउँ हो,’ उनले भने । ओलीले प्रथम सहिद बाकावीरदेखि दशरथ चन्द र भीमदत्त पन्तसम्मको भूमि सभ्यता र संस्कृतिको हिसाबले अत्यन्त धनी रहेकोमा एकताबद्ध भएर अगाडि बढाउन आह्वान गरे । 

प्रधानमन्त्री ओलीपछि पर्यटनमन्त्री बद्री पाण्डे बोलेका थिए । उनी बोल्दा पनि युवाहरूले नेताहरूलाई चोर भन्दै देश छोड भन्ने नारा लगाएका थिए । पाण्डेले गौराले मर्यादा, सद्भाव, एकता, आत्मीयता र आत्मविश्वास बोकेको छ भन्ने व्यवहारले प्रदर्शन गर्न सक्नुपर्ने बताए । ‘युवा पुस्ताका भाइबहिनी, साथीहरू हुनुहुन्छ ।

हामीले आगामी दिनमा यो देशलाई प्रकृति र संस्कृतिको विविधतापूर्ण देश भएको, यसैबाट हाम्रो उत्थान र प्रगति भएको देखाउनुपर्नेछ । त्यसका लागि विशेषगरी मर्यादा, आत्मानुशासनको खाँचो छ,’ उनले भने । समारोहमा अख्तियार आयुक्त जयबहादुर चन्दलाई सम्मान गरिएको थियो । यसपछि वनमन्त्री ऐनबहादुर शाही ठकुरी बोलेका थिए । उनी बोल्दा पनि युवाहरूले नाराबाजी जारी राखेका थिए । राष्ट्रिय एकता, मेलमिलाप र सद्भावको पर्व गौरा भएको बताए । 

पूर्वउपप्रधानमन्त्री भीम रावल बोल्दा भने युवाहरूले हर्षित भएर सिटी बजाएका थिए । निरन्तर ‘भीम रावल हाई हाई’को नारा लगाएका थिए । रावलले ‘बादल फाटी घाम लागी जाउ, बतास चलिजाउ, गौराको आशीर्वाद लागो, उज्यालो बलिजाउ’ भन्दै सम्बोधन सुरु गरेका थिए । ‘तमी निकाइ छौं क्या’ भनेर सोध्दा युवाहरूले चर्को हुटिङ गरेका थिए । रावलले डोटेली भाषामा सम्बोधन गर्दा युवाहरू हुटिङ र हाइहाईको नारा लगाइरहेका थिए । रावलले गौरा माताले जनताको समृद्धिका लागि सरकारलाई सदबुद्धि देओस् भनेका थिए । अन्तमा ‘घर पनि रित्तिन लाग्या, बाझा भया खेती, मन्त्री भई क्या अद्दा भया, देशै बिग्ड्यापछि’ भन्दै सम्बोधन टुंग्याएका थिए । 

हिलाम्मे टुँडिखेलमा मनाइयो गौरा पर्व
काठमाडौंमा रहेका सुदूरपश्चिमेलीहरूको सोमबार टुँडिखेलमा भेला भएर गौरा पर्व धुमधामसँग मनाएका छन् । प्रशंसा संरक्षण समूहले काठमाडौंमा बस्दै आएका सुदूरपश्चिमेलीहरूलाई भेला गराई गौरा मनाउने जमर्को गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले संयुक्त रूपमा दमाहा बजाएका थिए । समारोहमा विभिन्न महिला समूहले सुदूरपश्चिमका भाका गाएका थिए । वर्षाका कारण टुँडिखेल हिलाम्मे बनेपछि विभिन्न समूहमा देउडा खेल्ने कार्यक्रम भने प्रभावित बन्यो । टुँडिखेलमा आयोजित गौरा पर्व मेला मंगलबारसम्म चल्ने आयोजकले जनाएको छ । 

टुँडिखेलमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका अलावा एमाले नेता भीम रावल, लेखराज भट्ट, उद्योगमन्त्री दामोदर भण्डारी, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, वनमन्त्री शाही ठकुरी, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, एमाले नेता कर्णबहादुर थापा, युवा संघका पूर्वअध्यक्ष बचनबहादुर सिंह, अख्तियार आयुक्त जयबहादुर चन्दलगायतको सहभागिता थियो । औपचारिक कार्यक्रमपछि भीम रावल, पर्यटनमन्त्री पाण्डे, वनमन्त्री शाहीले देउडा खेलेका थिए । रावलले देउडा नै गाएका थिए । 

नाराबाजी गर्नेविरुद्ध झोक्किए देउवा 
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बोल्दा पनि युवाहरूले नाराबाजी गरिरहेका थिए । त्यसपछि देउवा झोक्किए । उनले भने, ‘तपाईंहरू जति बोले पनि बोल्नेवाला छु । जति कराउनुुहुन्छ, कराउनुस् । लाज पनि छैन ? कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति, चलन ? यही सिकेर आएको हो ? बदमासहरू ।’ कार्यक्रम बिथोल्नेलाई तह लाउनुपर्ने उनको भनाइ थियो । ‘आदरणीय दाजुभाइ दिदीबहिनीहरू यस्तै छ । यहाँ गौरा पर्व सुन्न आएकाहरू छन् । साथीहरू देउडा खेल्न आएका छन् । गौरा सुन्न दिँदैनन् । देउडा खेल्न दिँदैनन् । अर्काको कार्यक्रम बिथोल्ने यहाँ बसेका छन् । यसको पछाडि को तत्व छ, त्यसलाई जनताले ठिक पार्नुपर्छ,’ उनले भने । देउवाले गौरा सुदूरपश्चिम, कर्णाली र भारत उत्तराखण्डको केही क्षेत्रमा मनाइने अत्यन्तै महत्वपूर्ण पर्व भएको बताए । गौराले सुप र कर्णालीको संस्कृति चिनाउन मद्दत गरेको भन्दै उनले पूर्वमा पनि विस्तार हुने विश्वास लिए । यति भनेर देउवाले फेरि जति कराउने हो कराउनुस् भनेर युवाहरूलाई भनेका थिए । उनले सहभागीलाई देउडा खेल्न अनुरोध गर्दै कराउने कराउँदै गर्छन् भनेर सम्बोधन टुंग्याएका थिए । युवाहरूले देश छोडको नारा भने निरन्तर लगाइरहे । औपचारिक समारोह सकिएपछि रावलसहित मन्त्रीहरू र अगुवाहरूले देउडा खेलेका थिए ।