१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
नवराज मैनाली काठमाडाैं
टेकराज थामी काठमाडाैं
२o८१ भदौ ११ मंगलबार o६:१२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक अर्बको धितोमा दुई अर्ब कर्जा प्रकरण : सेन्चुरी बैंकका सञ्चालकलाई उन्मुक्ति दिने सिआइबीको तयारी

चाँदबाग स्कुल र बालमन्दिरको अनुसन्धान पनि अन्योलमा 

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार o६:१२:oo

एक अर्बको जग्गा धितो राखेर दुई अर्बभन्दा धेरै कर्जा प्रवाह भएको सेन्चुरी बैंकको ठगी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंक सञ्चालकविरुद्ध मुद्दा नचलाउने गरी अनुसन्धान निष्कर्षमा पुर्‍याएको छ । कर्जा प्रवाहमा सञ्चालकको भूमिका नहुने भन्दै कर्मचारीलाई मात्र मुद्दा चलाउने गरी अनुसन्धान तयार पारेको सिआइबीले त्यसमा सरकारी वकिलसँग राय मागेको छ । 

देउराली सहकारीका सञ्चालक रविन्द्र चौलागाईंलाई कर्जा प्रवाह गर्दा भएको घोटालामा सञ्चालकको समेत संलग्नता देखिएको भन्दै सिआइबीले बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहितका सञ्चालकलाई २७ जेठमा पक्राउ गरेको थियो । एक सातापछि उनीहरूलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान अघि बढाएकोमा उनीहरूको प्रत्यक्ष संलग्नता नभएको भन्दै मुद्दा नचलाउने गरी अभियोजन प्रक्रिया अघि बढाउन लागिएको छ । 

सिआइबीले अनुसन्धान सकाएर सञ्चालकलाई मुद्दा चलाउन नपर्ने गरी अनुसन्धान प्रतिवेदन अध्ययनका लागि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा पठाएको छ । हाल अनौपचारिक रूपमा अनुसन्धान प्रतिवेदन बुझाइएको र सरकारी वकिल कार्यालयको लिखित निर्देशनपछि यही साता औपचारिक रूपमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने सिआइबीका अधिकारीले बताए । 

सेन्चुरी बैंकको कर्जा हिनामिना घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र सरकारी वकिलसँग परामर्श भइरहेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । सञ्चालकविरुद्ध मुद्दा चलाउने–नचलाउने विषयमा निर्णय भइनसकेको उनको भनाइ छ । ‘कर्जा प्रवाहमा सञ्चालकको भूमिका कस्तो थियो भन्ने हेरेर उनीहरूको हकमा निर्णय हुन्छ,’ बोगटीले भने, ‘कर्जा प्रवाहमा प्रत्यक्ष भूमिका नै थिएन भने मुद्दा चलाउनुहुन्न भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’ त्यतिवेला कोभिडको समय भएकाले सञ्चालकहरूले कर्जा स्वीकृत गर्दा राम्रोसँग फाइल अध्ययन गर्न नपाएकोलगायतका आधारमा समेत उनीहरूलाई उन्मुक्ति दिन लागिएको सिआइबी स्रोत बताउँछ । 

नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा भने सो कर्जा प्रवाह गर्दा सञ्चालक समितिकै निर्णय रहेकाले उनीहरूसमेत भागीदार रहेको उल्लेख छ । राष्ट्र बैंककै पत्रका आधारमा यसअघि सिआइबीले सञ्चालकलाई समेत पक्राउ गरेको थियो । बैंकबाट ठूलो कर्जा प्रवाह हुँदा सञ्चालक समितिबाटै निर्णय गराउनुपर्ने हुन्छ । 

०७७ मा सो बैंकले देउराली सहकारीका अध्यक्ष चौलागाईंका कम्पनीहरूलाई दुई अर्ब ११ करोड कर्जा प्रवाह गरेको थियो । जग्गाको वास्तविकभन्दा अत्यधिक मूल्यांकन गरी कर्जा प्रवाह भएकाले हाल बैंकले सो कर्जा उठाउन सकेको छैन । करिब एक अर्बबराबरको जग्गा धितो राखेर दुई अर्ब ११ करोड कर्जा प्रवाह भएको थियो । त्यसका लागि नक्कली लेखापरीक्षण प्रतिवेदनदेखि करचुक्ता प्रमाणपत्र बनाइएको सिआइबी अनुसन्धानमा खुलेको छ । लेखापरीक्षण प्रतिवेदनको समेत वास्तविकता जाँच नगरी बैंकले ठुलो रकम चौलागाईंका कम्पनीहरू पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरीको नाममा ऋण प्रवाह गरेको थियो । हाल ती कम्पनी टाट पल्टिएको अवस्था छ । 

सेन्चुरी हाल प्रभु बैंकमा मर्ज भइसकेको छ । कर्जा प्रवाहमा बदमासी देखिएपछि प्रभु बैंकले नै अनुसन्धानका लागि सिआइबीमा जाहेरीसमेत दिएपछि यो घोटाला प्रकरणमा अनुसन्धान अघि बढेको थियो । विस्तृत अनुसन्धानपछि सिआइबीले तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित सञ्चालक समितिका सदस्यहरू सुनीलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठलाई पक्राउ गरेको थियो । पक्राउ परेको एक सातामै दबाबको भरमा उनीहरूलाई तारेखमा राखेर अनुसन्धान अघि बढाइएकोमा हाल मुद्दा नै नचलाउने उच्च तहबाट दबाब आएको सिआइबी अधिकारी बताउँछन् । यस घोटालामा मुछिएका सेन्चुरीका पूर्वअध्यक्ष श्रेष्ठ कांग्रेस नेता उमेश श्रेष्ठका भाइ हुन् । हाल गृहमन्त्रीमा कांग्रेसका रमेश लेखक छन् । 

यो घोटालामा सिआइबीले अनुसन्धान भने गत फागुनदेखि अघि बढाएको थियो । १५ फागुनमा सिआइबीले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज न्यौपाने र पूर्वसिइओ तुलसी गौतमसहितका कर्मचारीलाई पक्राउ गरेको थियो । त्यतिवेला पनि दुई सातामा उनीहरूलाई हाजिरी जमानीमा छाडियो । न्यौपाने पछिल्लो समय प्रभु बैंकमा सिनियर डेपुटी सिइओका रूपमा कार्यरत छन् । सो कर्जामा मुछिएका अन्य कर्मचारीहरू राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान, अभिषेख बज्राचार्य, सुनील बस्नेत र शिवगोपाल रिसाल पक्राउ परेकोमा हाल हाजिरी जमानीमा छन् । 

सोही बैंकको अनुसन्धानको क्रममा विगतको सिआइबी नेतृत्वले चलखेल गरेको आरोपमा हाल प्रहरी प्रधान कार्यालयले एआइजी टेकप्रसाद राईको नेतृत्वमा छानबिनसमेत गरिरहेको छ । यही वेला गृह मन्त्रालयकै दबाबमा कर्मचारीलाई मात्र मुद्दा चलाउने प्रक्रिया सिआइबीले अघि बढाएको छ । हाल सिआइबीको प्रमुखमा एआइजी दीपक थापा छन् । उनी सिआइबीमा गएलगत्तै यस प्रकरणको अनुसन्धान मोडिएको हो । 

सेन्चुरी बैंकबाट कर्जा लिएका देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं हाल पुर्पक्षका लागि कारागारमा छन् । उनले सहकारीको रकम हिनामिना गरी विभिन्न स्थानमा जग्गा खरिद गरेका थिए । तिनै जग्गा बैंकमा धितो राखी पैसा निकालेर थप जग्गामा लगानी गरेका थिए । तर, घरजग्गा कारोबार ओरालो लागेपछि उनले बैंकको कर्जा तिर्न सकेनन् भने सहकारीका बचतकर्ताको रकम पनि फिर्ता गरेनन् । सिआइबीले नै चौलागाईंविरुद्ध ६६ करोडको ठगी मुद्दा गत वर्ष मंसिरमा दायर गरेको थियो । अनुसन्धानको क्रममा उनको व्यक्तिगत नाममा ५३ रोपनी जग्गा भेटिएको थियो । त्यहीमध्ये केही जग्गा उनले सेन्चुरी बैंकमा राखेर कर्जा लिएका हुन् । 

चाँदबाग स्कुल र बालमन्दिरको अनुसन्धान पनि अन्योलमा 
सिआइबीमा अन्य दुई ‘हाइप्रोफाइल’ बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना र नक्सालस्थित बालमन्दिर (बाल संगठन)को मुद्दाको अनुसन्धान पनि रोकिएको छ । जुत्ता कारखानाको जग्गा गैरकानुनी रूपमा चाँदबाग स्कुलको नाममा लगिएको प्रकरणमा गत माघमै स्कुल सञ्चालकलाई पक्राउ गरी सिआइबीले अनुसन्धान थालेको थियो । सिजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरसहित मुख्य लगानीकर्ता अरुण चौधरी तथा जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरी अनुसन्धान थालेकामा उनीहरू हाजिरी जमानीमा छुटेका थिए । सिआइबीले यो प्रकरणमा उद्योगपति तथा सांसद विनोद चौधरीसँगसमेत बयान लिएको थियो । 

छाला जुत्ता कम्पनीलाई सहयोग गर्ने नाममा च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरी ६ रोपनी जग्गा सस्तोमा खरिद गरेको र पछि चार रोपनी जग्गा सेयर दिएर फुटवेयरले लिएको थियो । १० रोपनी जग्गा हत्याएपछि भने कम्पनी बन्द गरिएको थियो । सम्पूर्ण अनुसन्धान पूरा भए पनि हाइप्रोफाइल जोडिएको मुद्दा भएकाले निर्णय हुन नसकेको सिआइबी स्रोत बताउँछ । जग्गा भने मालपोत कार्यालयले सरकारको नाममा ल्याइसकेको छ । तर, जग्गामा अहिले पनि चाँदबाग विद्यालय नै छ । 

त्यस्तै, बालमन्दिरको जग्गा कौडीको भाउमा विनाप्रतिस्पर्धा लिजमा दिएर वर्षौँदेखि अनियमितता भएको प्रकरणमा सिआइबीले गत वैशाखमै बाल संगठनका पूर्वपदाधिकारी तथा व्यवसायीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जसमा पूर्वअध्यक्ष रीतासिंह वैद्यसमेत छिन् । उनी उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । सिआइबी प्रवक्ता होबिन्द्र बोगटीले भने दुवै घटनाको अनुसन्धान जारी रहेको दाबी गरे ।