१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ११ मंगलबार
  • Friday, 13 September, 2024
सुवास भट्ट काठमाडाैं
२o८१ भदौ ११ मंगलबार o६:१८:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बिमा प्राधिकरणका अध्यक्ष सिलवालका तीन नागरिकता

सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन तयार, सचिव रहँदा फेरिएको थियो जन्ममिति 

Read Time : > 4 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ११ मंगलबार o६:१८:oo

तीन निकायमा तीनथरी नागरिकता

- निजामती कर्मचारीको अभिलेख राख्ने निजामती किताबखानामा रहेको व्यक्तिगत सूचना प्रणालीमा सिलवालको जन्ममिति १५ साउन ०१५ छ । यही जन्ममिति उनको शैक्षिक प्रमाणपत्र, निवृत्तिभरण अधिकारपत्र, अनिवार्य अवकाशको सूचना र अवकाशपत्रमा देखिन्छ । 

- सचिवबाट सेवानिवृत्त भएपछि तत्कालीन बिमा समिति (पछि प्राधिकरण भएको)मा नियुक्त हुँदा सिलवालले २२ कात्तिक ०१६ को जन्ममिति पेस गरेको भेटिएको छ । अर्थात् नयाँ दोस्रो नागरिकतामा उनले जन्ममिति एक वर्ष घटाई कागजात पेस गरेका थिए । यही जन्ममिति उनको मतदाता परिचयपत्रमा पनि छ । 

- त्यस्तै, २४ कात्तिक ०१८ जन्ममिति उल्लेख गरिएको उनको तेस्रो नागरिकता पनि देखिएको छ । उनको राहदानीमा पनि यही जन्ममिति उल्लेख छ ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तीनवटा नागरिकता प्रयोग गरेको भेटिएको छ । कार्यकाल लम्ब्याउन सिलवालले जन्ममिति फेरेर तीनवटा नागरिकता बनाएको पुष्टि भएको हो । 

सुरु र आधिकारिक नागरिकतामा जन्ममिति फेरेर त्यसका आधारमा उनले प्राधिकरणको अध्यक्ष पद लम्ब्याएकोसमेत भेटिएको छ । सुरुको नागरिकताअनुसार उनी गत वर्ष नै अध्यक्षबाट हटिसक्नुपर्ने भए पनि हालसम्म पदमै बहाल छन् । 

सिलवालको किर्ते नागरिकताका सम्बन्धमा करिब दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले छानबिन गर्न पत्राचार गरेपछि अर्थ मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको थियो । बिमा प्राधिकरण अर्थ मन्त्रालयअन्तर्गतको निकाय हो । छानबिनमा सिलवालका तीनवटा नागरिकता फेला परेका छन् । समितिले प्रतिवेदन तयार गरिसकेको छ । तर, अर्थ मन्त्रालयले हालसम्म प्रतिवेदन गोप्य राखेको छ । 

महेश भट्टराई, प्रवक्ता, अर्थ मन्त्रालय
म मन्त्रालयमा हाजिर भएर जिम्मेवारी लिएको छु । बिमा प्राधिकरणका अध्यक्षको नागरिकताको सम्बन्धमा तयार गरिएको प्रतिवेदनमा के छ भनेर अहिले केही भन्न सक्दिनँ, आधिकारिक जानकारी आयो भने मात्रै बताउन सक्छु ।

अर्थ प्रवक्ता महेश भट्टराईले भने आफू मन्त्रालयमा हाजिर भएको दुई दिन मात्र भएकाले यसबारे बुझ्न बाँकी नै रहेको प्रतिक्रिया दिए । ‘म मन्त्रालयमा हाजिर भएर जिम्मेवारी लिएको छु । बिमा प्राधिकरणका अध्यक्षको नागरिकताको सम्बन्धमा तयार गरिएको प्रतिवेदनमा के छ भनेर अहिले केही भन्न सक्दिनँ, आधिकारिक जानकारी आयो भने मात्रै बताउन सक्छु,’ उनले भने । 

निजामती कर्मचारीको अभिलेख राख्ने निजामती किताबखानामा रहेको व्यक्तिगत सूचना प्रणाली (पिआइएस)मा सिलवालको जन्ममिति १५ साउन ०१५ छ । किताबखानामा पेस गरेको नागरिकतामा उल्लेखित यही जन्ममिति उनको व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र, निवृत्तिभरण अधिकारपत्र, अनिवार्य अवकाशको सूचना र अवकाशपत्रमा देखिन्छ । 

सचिवबाट सेवानिवृत्त भएपछि तत्कालीन बिमा समिति (पछि प्राधिकरण भएको)मा नियुक्ति गर्दा सिलवालले २२ कात्तिक ०१६ को जन्ममिति पेस गरेको भेटिएको छ । अर्थात् नयाँ दोस्रो नागरिकता बनाएर उनले त्यसैका आधारमा जन्ममिति एक वर्ष घटाई नियुक्तिका लागि कागजात पेस गरेका थिए । यही दोस्रो जन्ममितिको नागरिकताका आधारमा उनको मतदाता परिचयपत्रसमेत देखिएको छ । 

त्यस्तै, २४ कात्तिक ०१८ जन्ममिति कायम रहेको उनको तेस्रो नागरिकता पनि भेटिएको छ । यही तेस्रो नागरिकतामा रहेको जन्ममिति राखेर उनको राहदानीसमेत बनेको छ । 

१९ माघ ०७७ मा तत्कालीन मन्त्रिपरिषद् बैठकले सिलवाललाई तत्कालीन बिमा समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त मितिको मन्त्रिपरिषद्को निर्णयमा ‘बिमा समितिको अध्यक्षमा वीरगन्ज महानगरपालिका निवासी श्री सूर्यप्रसाद सिलवाललाई नियुक्त गर्ने’ उल्लेख छ । 

सिलवाल नेपाल सरकारका पूर्वसचिव हुन् । उनी २८ चैत ०७० देखि ६ मंसिर ०७२ सम्म गृहसचिवमा बहाल थिए । उनको राहदानीमा उल्लेखित विवरणअनुसार उनको जन्ममिति २४ कात्तिक ०१८ छ । यो राहदानी उनी गृहसचिवमा बहाल रहँदाको अवधिमा जारी भएको देखिएको छ । गृहसचिवमा बहाल रहँदा नागरिकता सच्याएको आरोपलाई यसले बल पुर्‍याएको छ । 

तर, अध्यक्ष सिलवाल भने नागरिकता विवादलाई गलत भएको दाबी गर्छन् । आफूले नागरिकता लिने समयमा उमेरका आधारमा नागरिकता जारी हुने गरेको र त्यसैअनुसार दाइले राखिदिएको ०१५ साल नागरिकतामा कायम भएको उनको प्रस्टीकरण छ । तर, आफ्नो जन्ममिति भने २२ कात्तिक ०१६ नै रहेको उनको दाबी छ । सर्टिफिकेट र नागरिकतामा भएको जन्ममितिका फरकका कारण आफूले डेढ वर्षअघि नै निजामती सेवाबाट अवकाश पाएको पनि उनले बताए । ‘तर, मेरो जन्ममिति २०१६ कायम भएको नागरिकता च्यातिन लागेपछि निवेदन दिएर काठमाडौं जिल्ला प्रशासनबाट प्रतिलिपि निकालेको हुँ,’ सिलवालले भने, ‘पासपोर्ट सरकारले दिने कुरा हो । तर, ०१८ साल जन्ममिति रहेको आधारमा मैले नागरिकता लिएको छैन ।’ यद्यपि, पासपोर्ट नागरिकताकै आधारमा बन्ने डकुमेन्ट हो । पासपोर्टमा उनको जन्ममिति २४ कात्तिक ०१८ छ । 

पदावधिको विषयमा भने आफ्नो नियुक्ति बिमा ऐनअनुसार भएको र त्यसले चार वर्ष पदावधि तोकेकाले त्यसैअनुसार हुने उनको दाबी छ । ‘जहाँसम्म पदावधिको विषय छ । म बिमा ऐनअनुसार नियुक्त भएको हो । यो ऐनले चार वर्षको पदावधि तोकेको छ,’ उनले भने, ‘म ६५ वर्ष कटेको सत्य हो । तर, मेरो पदावधि त चार वर्ष हो नि ! चार वर्षभन्दा एक दिन पनि बढी खाए मलाई भन्नु नि ! ऐनको व्यवस्थालाई मन्त्रिपरिषद्को निर्णयले कहीँ काट्छ ? मैले केही बिगारेको छैन ।’ 

नागरिकता फेरेर जन्ममिति सच्याई तन्काए कार्यकाल 
तत्कालीन बिमा ऐन, २०४९ (हाल बिमा ऐन, २०७९ कार्यान्वयनमा छ) को दफा ६ तथा अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को व्यवस्थाबमोजिम मन्त्रिपरिषद्ले सिलवाललाई अध्यक्ष पदमा नियुक्तिको निर्णय गरेको थियो । तत्कालीन बिमा ऐन, २०४९ मा अध्यक्षको पदावधि चार वर्ष हुने उल्लेख छ । यसैबमोजिम उनको पदावधि पनि चार वर्ष तोकिएको थियो । बिमा ऐनले उमेरको हद भने तोकेको थिएन । विद्यमान बिमा ऐनमा पनि उमेरको हदका सम्बन्धमा व्यवस्था छैन । पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्तसम्बन्धी व्यवस्था पूर्ववत् तोकिएबमोजिम हुने विद्यमान ऐनमा छ । 

तर, नेपाल सरकारबाट स्वीकृत मापदण्डमा नियुक्ति हुने प्रकृतिका यस्ता पदाधिकारीको उमेरको हद ६५ वर्ष हुने व्यवस्था छ । यो व्यवस्थाअनुसार तोकिएको चारवर्षे पदावधि बाँकी रहँदा पनि ६५ वर्ष उमेर पुग्नासाथ स्वतः अवकाश हुनुपर्छ । 

नियुक्तिको केही समयपछि नै सिलवालको उमेरको विवाद देखिएको थियो । पदावधिमा द्विविधा उत्पन्न भएपछि प्राधिकरणले नै अध्यक्षको पदावधि यकिन गरी स्पष्ट पारिदिन ८ मंसिर ०७९ मा अर्थ मन्त्रालयलाई अनुरोधसहित पत्र पठाएको थियो । यसको निरूपण अर्थ मन्त्रालयले गर्न नसकेपछि मन्त्रिपरिषद्सम्मै पुग्यो । अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ मा व्यवस्था भएको उमेर हद (६५ वर्ष) ननाघ्ने गरी प्राधिकरणका अध्यक्षको पदावधि कायम रहने स्पष्ट गरेर मन्त्रिपरिषद्ले निर्णय दिएको थियो । मन्त्रिपरिषद्को उक्त दिनको निर्णयमा ‘नेपाल बिमा प्राधिकरणका अध्यक्षको पदावधि यकिन गर्ने’ उल्लेख छ । अध्यक्षको पदावधि ६५ वर्ष ननाघ्ने गरी कायम रहने मन्त्रिपरिषद्को निर्णय संलग्न गरेर अर्थ मन्त्रालयले त्यही महिनाको २७ गते प्राधिकरणलाई पत्रसहित जानकारी दिएको थियो । 

यो निर्णयपछि निजामती किताबखानामा पेस गरेको विवरणअनुसारको जन्ममितिका आधारमा सिलवालको पदावधि १४ साउन ०८० मै समाप्त भइसकेको छ । दोस्रो नागरिकतालाई आधार मान्दा पनि उनको पदावधि गत १४ साउनमा सकिइसक्नुपथ्र्यो । तर, आजका दिनसम्म पनि सिलवाल प्राधिकरणको अध्यक्षमै कायम छन् । 

तत्काल अवकाश लिन छानबिन प्रतिवेदनको सुझाव 
अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ मा केही असंगतिपूर्ण व्यवस्था रहेकाले त्यसको फाइदा सिलवालले उठाएको पनि देखिएको छ । तर, कानुनमा लेखिएको पदावधि अधिकतम हुने हुँदा त्यसको परिधिमा रही नियुक्ति हुँदाको बखत कायम रहेको सेवा सर्तसम्बन्धी व्यवस्था उल्लेख गरी अधिकारप्राप्त अधिकारीले दिएको नियुक्ति र तोकेका सेवा–सर्तलाई अन्यथा मान्न नमिल्ने छानबिनको निष्कर्ष छ । 

तीनवटा नागरिकता, तिनमा फरक–फरक जन्ममिति र त्यसका आधारमा अध्यक्ष सिलवालले पदावधि लम्ब्याएको देखिएको छ । उनको उमेरका विषयमा पटक–पटक उजुरी र सार्वजनिक प्रश्नसमेत उठेको छानबिन समितिले औँल्याएको छ । यिनै विषय औँल्याउँदै समितिले भनेको छ, ‘...तसर्थ तत्काल अवकाश हुनु श्रेयस्कर देखिन्छ ।’ 

गत वर्ष नै अवकाश हुनुपर्नेमा नागरिकतामा जन्ममिति घटाएर पद लम्ब्याए, तर अध्यक्ष सूर्यप्रसाद सिलवाल भन्छन्–
मैले नागरिकता लिँदा उमेरका आधारमा दिइन्थ्यो । नागरिकतामा पनि वर्ष उल्लेख हुन्थ्यो । म २२ कात्तिक ०१६ मा जन्मिएको हुँ । तर, नागरिकतामा दाइले ०१५ सालको मिति राखिदिनुभएको रहेछ । यही आधारमा म निजामतीबाट डेढ वर्षअगाडि नै सेवानिवृत्त भएको हुँ ।

तर, मेरो जन्ममिति ०१६ साल कायम भएको नागरिकता च्यातिन लागेपछि निवेदन दिएर काठमाडौं जिल्ला प्रशासनबाट प्रतिलिपि निकालेको हुँ । नागरिकता र सर्टिफिकेटको अन्तरले मैले डेढ वर्ष पहिले नै निजामती सेवाबाट रिटायर्ड लिनुपर्‍यो । पासपोर्ट त मलाई सरकारले दिने हो ।

०१८ सालको नागरिकता मैले लिएको छैन । जहाँसम्म पदावधिको विषय छ, म बिमा ऐनअनुसार नियुक्त भएको हुँ । यो ऐनले चार वर्षको पदावधि तोकेको छ । म ६५ वर्ष कटेको सत्य हो ।

तर, मेरो पदावधि त चार वर्ष हो नि ! चार वर्षभन्दा एक दिन पनि बढी खाए मलाई भन्नु नि ! ऐनको व्यवस्थालाई मन्त्रिपरिषद्को निर्णयले कहीँ काट्छ ? मैले केही बिगारेको छैन ।