मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ३० बुधबार
  • Wednesday, 15 January, 2025
अजित अधिकारी काठमाडौं
२o८१ श्रावण ३० बुधबार ११:१७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयल निगमका ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ३० बुधबार ११:१७:oo

नेपाल आयल निगम लिमिटेडले ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा गरेको छ । निगम व्यवस्थापनले मंगलबार साँझ गरेको निर्णयअनुसार सबैभन्दा ठूलो मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा उपनिर्देशक प्रलयंकर आचार्यलाई पठाएको छ । हाल उनी केन्द्रीय कार्यालयको प्रशासन महाशाखामा कार्यरत छन् ।

अमलेखगन्ज डिपो प्रमुख रहेका निर्देशक विनीतमणि उपाध्यायको केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ, परियोजना तथा सूचना प्रविधि विभाग प्रमुखमा सरुवा भएको छ । पाइपलाइन तथा भण्डारणगृहलगायतका ठूला परियोजना निर्माण गर्ने यो विभागको एक वर्षयता कार्यसम्पादन सन्तोषजनक नभएकाले न्यून बजेट खर्च भएको थियो । त्यसैले निर्देशक उपाध्यायलाई इन्जिनियरिङ विभागको नेतृत्वमा ल्याएको स्रोतको भनाइ छ ।

‘यसपटक सबै कर्मचारीहरू अनुभव र कार्यक्षमताका आधारमा सरुवा भएका छन्,’ एक उच्च अधिकारीले भने । चालू आव ०८१/८२ मा निगमले अमलेखगन्ज–चितवन तथा सिलगुढी–झापा पाइपलाइन र झापा, चितवन तथा भैरहवामा भण्डारणगृह निर्माण सुरु गर्दै छ । 

हाल इन्जिनियरिङ विभाग प्रमुख रहेका सुरज साहलाई भने आन्तरिक नियन्त्रण तथा अनुगमन विभाग प्रमुखमा सरुवा गरिएको छ । त्यस्तै, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा उपनिर्देशक रामकुमार न्यौपानेको सरुवा भएको छ । त्यहाँ कार्यरत अभिषेक ठाकुरलाई इन्जिनियरिङ विभागमा ल्याइएको छ । उनी पोखरा डिपो प्रमुख भएको एक वर्ष पनि नपुगी सरुवा भएका हुन् । यसअघि थानकोट डिपो प्रमुख रहँदा पनि कार्यसम्पादन सन्तोषजक नभएको भन्दै ठाकुरलाई ६ महिनामै सरुवा गरिएको थियो ।

ठाकुरलाई कोशी प्रादेशिक कार्यालय, विराटनगरमा सरुवा गर्ने तयारी थियो । हाल विराटनगर कार्यालय प्रमुख रहेका उपनिर्देशक नवविनोद पोखरेलको कार्यशैलीलाई लिएर केन्द्रीय कार्यालयमा गुनासोसमेत आइसकेको छ । त्यसैले उनलाई केन्द्रीय कार्यालय तान्ने र ठाकुरलाई विराटनगर पठाउने योजना भए पनि केही समयलाई रोकिएको छ । ‘दुई–तीन महिनापछि विराटनगर कार्यालय प्रमुख परिवर्तन हुन्छ,’ स्रोतले भन्यो । 

कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमा प्रबन्धक दीपक घिमिरेलाई पठाइएको छ । उनी चार वर्षअघि ६ तहमा कार्यरत रहँदा पनि सोही कार्यालय प्रमुख थिए । यसपटक कर्णालीको माग धान्ने भण्डारणगृह निर्माण गर्ने योजना कार्यान्वयन गर्ने जिम्मेवारी दिएर उनको सरुवा गरिएको स्रोतको भनाइ छ । 

नेपालगन्जको इन्धन डिपोमा प्रबन्धक मनोहर डिसी र हवाई इन्धन कार्यालयमा सहायक प्रबन्धक मोहनविक्रम खड्कालाई पठाइएको छ । डिसी केन्द्रीय कार्यालय र खड्का बागमती प्रादेशिक कार्यालय, थानकोटमा कार्यरत छन् । झापाको चारआलीस्थित शाखा कार्यालय प्रमुखमा गीता सापकोटा धिताललाई पठाइएको छ । त्यहाँ कार्यरत शरण भट्टराईलाई केन्द्रीय कार्यालयको गुणस्तर विभाग तानिएको छ । भट्टराईले दुःख दिएको भन्दै सरुवा गर्न पूर्वका व्यवसायी र कर्मचारीले समेत व्यवस्थापनलाई सुझाएका थिए ।

झापाको भद्रपुर विमानस्थलस्थित हवाई इन्धन कार्यालय प्रमुखमा दुईवर्षे कार्यकाल पूरा गरेका कपिलदेव भट्टलाई केन्द्रीय कार्यालय तानेर त्यहाँ सन्दीप रिमाललाई पठाइएको छ ।