काठमाडौंका सडकमा देखिने रातो रंगका रेखाहरू (डेडिकेटेड लेन) मेटिँदै गएकाले कतिपयलाई लाग्न सक्छ, द्रुत बससेवा हराउन लागेको त होइन ! रातो धर्का मेटिए पनि द्रुत बससेवा भने अविछिन्न चलिरहेको छ । यो सेवा पछिल्ला दिनमा अझ व्यवस्थित बन्दै गएको छ ।
यसले यात्रुको विश्वास जित्नुको साथै सेवालाई थप व्यवस्थितसमेत बनाउँदै लगेको छ । जसका कारण यात्रुहरू वृद्धि भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार एक्सप्रेस बस सर्भिस एपसमेत सार्वजनिक गरेर यात्रुलाई थप सुविधा सुरु भएको छ । पहिलेजस्तो यात्रुबाट आउने गुनासोमा समेत निकै कम भएको छ । ‘व्यवस्थापकीय पाटोमा धेरै सुधार गरेकाले पहिलेजस्तो गुनासो आएका छैनन्,’ पनेरूले भने, ‘निजी क्षेत्रका यातायात व्यवसायीसँग मिलेर सेवा सञ्चालन गरिरहेकाले गर्दा केही समस्या आएका हुन सक्छन् । त्योबाहेक अरू समस्या छैनन् ।’ विभागका अनुसार एपका कारण अहिले यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे जानकारी सहजै मोबाइलमा हेर्न सक्छन् । कति यात्रुले बससेवा प्रयोग गरे, कहाँबाट चढे र झरे ? जस्ता जानकारीसमेत एपमार्फत लिन सकिने भएको छ ।
गत ३ असोजबाट सञ्चालनमा आएको द्रुत बससेवा सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल ट्राफिक प्रहरी, नेपाल यातायात व्यवसायी महासंघलगायतको समन्वयमा सुरु भएको हो । काठमाडौं उपत्यकाभित्रका यात्रुलाई ‘बस र्यापिड ट्रान्जिट’ (बिआरटी–द्रुत बस) अवधारणा लागू गर्न नसके पनि समयमा कार्यस्थलमा पुग्न सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब १८ किलोमिटर सडकमा परीक्षणका लागि बससेवा सुरु गरिएको हो । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइएको थियो । रातो रङ लगाएका १९ ठाउँमा बस रोकेर यात्रु चढाउने–ओराल्ने व्यवस्थासमेत भएको थियो ।
द्रुत बससेवाबारे यात्रुको गुनासो पनि छैन : ट्राफिक प्रहरी
सुरुवाती दिनमा जडीबुटीदेखि रत्नपार्कसम्मको साँघुरो सडकमा बस सञ्चालनमा समस्या भएको बताइए पनि हाललाई यस्ता समस्या समाधान भएका छन् । अस्थायी ब्यारिकेटर राखेर बस सञ्चालन हुन थालेपछि हाललाई ती समस्या समाधान भएको हो । ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काका अनुसार हाल द्रुत बससेवा सामान्य रूपमा सञ्चालन भइरहेका छन् । ‘द्रुत बससेवाबारे अहिले खासै गुनासो आएका छैनन्,’ प्रवक्ता खड्काले भने, ‘यात्रुले गुनासो गर्ने ठाउँ कम भएका कारण सेवाको प्रयोग गर्ने यात्रुको संख्या पनि बढेको छ ।’
एक्सप्रेस लेनका रूपमा रातो रङ लगाएर बससेवाका लागि छुट्याएको लेन खाली हुनेबित्तिकै अरू सवारीसाधन सञ्चालन हुन थालेका छन् । उक्त लेनमा अन्य सवारीसाधन लामो समयसम्म रोकिने गर्दा द्रुत बससेवालाई अवरोध हुने गरेकालगायत गुनासा समाधान हुँदै गएको विभागले जनाएको छ । ‘सुरुवाती दिनमा नयाँ सेवा भएका कारण केही समस्या देखिएकै हुन् । हाललाई हामीले ती समस्या समाधान गर्दै गइरहेका छौँ । सिस्टमेटिक गर्दै गएका कारण अहिले यात्रुबाट आउने गुनासो खासै छैन । केहीले गुनासो गर्छन् भने उनीहरूले सेवाको प्रयोग नगरी गुनासो गरेका छन्,’ पनेरूले भने । बससेवालाई चुस्त बनाउन रत्नपार्कदेखि जडीबुटीसम्म रातो रंगभित्र लेखिएका अक्षर र बोर्डसमेत राखिएका छन् । विभागले बससेवा चुस्त हुँदै गएको बताए पनि सरोकारवालाले भने पर्याप्त गृहकार्यविना बस सञ्चालन भएकाले धेरै लामो समयसम्म बससेवा सञ्चालनमा आशंका गरेका छन् ।