जुम्लाको तिला गाउँपालिकाले परिपक्व नहुँदै खरिद गरिएका काँचो स्याउ बेच्ने तयारी गरेका व्यापारीको गोदाम नियन्त्रण गरेर सिल गरेको छ । गाउँपालिकाको निर्णयविपरीत काँचो स्याउ बेच्ने व्यापारीको स्याउ राखेको गोदाम सिल गरेको हो ।
बिहीबार गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा गएको सुरक्षाकर्मीसहितको टोलीले तिला– १ सेरी बजारमा रहेका चारवटा स्याउका गोदाम सिल गरेको हो । यसअघि तिला गाउँपालिकाले १३ साउनमा आगामी भदौ ५ गतेभन्दा अगाडि स्याउ टिप्न र निर्यात गर्न नपाउने सूचना जारी गरेको थियो ।
‘तिला गाउँपालिका कार्यपालिकाको निर्णय, कृषि विकास कार्यालयको परिपत्रअनुसार काँचो स्याउ टिप्न र निर्यात नगर्न साउन दोस्रो साता नै गाउँगाउँमा सूचना गरिएको थियो । तर, गाउँपालिकाको निर्णय र सूचनाको ठाडो उल्लंघन गर्दै किसान र व्यापारीको मिलेमतोमा लुकिछिपी काँचो स्याउ निर्यात गरेको गुनासो आएपछि बिहीबार उपाध्यक्ष बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढासहितको टोलीले स्याउका गोदाममा ताला लगाएको हो,’ उपाध्यक्ष बुढाले भनिन्।
यद्यपि, यसअघि लुकिछिपी तिला– ७ को दुई ट्रक स्याउ निर्यात भइसकेको छ । उक्त वडाको स्याउ निर्यात भएपछि वडा नं. १ राराका किसानले धमाधम काँचो स्याउ टिपेर निर्यात गर्न प्याकिङ गर्न लागेको अवस्थामा पालिकाले गोदाम सिल गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन्। उनका अनुसार बिहीबार चारवटा गोदाममा सिल गरिएको छ भने तीनवटा गोदाममा शुक्रबार सिल गरिनेछ ।
व्यापारी पार्वती बुढाको एक सय ४२ कार्टुन राखिएको गोदाम, तिला– ९ का कमल बुढाको ३९ कार्टुन राखिएको गोदाम, तिला– १ का गोरखबहादुर बस्नेतको ४० कार्टुन राखिएको गोदाम र तिला– २ का जग रावतकाे ४० कार्टुन राखिएको गोदाममा पालिकाले ताला लगाएको उपाध्यक्ष बुढाले जानकारी दिइन्।
उनले भनिन, ‘बाँकी तीन गोदामका व्यापारीसँग समन्वय गरी ताला लगाइनेछ । पालिकाले भदौ ५ गतेभन्दा अगाडि स्याउ टिप्न र निर्यात गर्न रोक लगाउँदा पनि अटेरी गरेर निर्यात गरेको पाइएपछि सिल गरेका हौँ । भदौ ५ भन्दा अगाडि सिफारिस पनि नदिने र निर्यात पनि हुन नदिने अडानमा छौँ ।’
निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जुम्लाको पहिचान र आर्थिक समृद्धिसँग जोडिएको अर्ग्यानिक स्याउ नपाक्दै किनबेच हुन थालेपछि सिल गरिएको बताए । भदौ ५ गतेपछि मात्रै स्याउ बिक्रीको सिफारिस दिएर निर्यात गरिने उनको भनाइ छ ।
लुकिछिपी लिन खोजेको खण्डमा कडा कारबाही गरिने र नाग्म, राराकुडारीका प्रहरी चौकीमा सुरक्षा चेकजाँचमा कडाइ गर्न अनुरोध गरिएको उनले जानकारी दिए । तिलासँगै जुम्लाका विभिन्न क्षेत्रबाट काँचो स्याउ निर्यात भएको पाइएको छ । काँचो स्याउ निर्यात रोक्न पटक–पटक निर्णय र छलफल भए पनि कार्यान्वयनमा सरोकारवालाले ध्यान नदिँदा किसान र व्यापारीको मिलेमतोमा काँचो स्याउ निर्यात हुने गरेको छ ।
तिलाका गोदाम सिल गरेपछि किसान तथा व्यापारीले दुई हप्तासम्म कार्टुन स्याउ प्याक गरेर राखेपछि पछि कुहिएको खण्डमा पालिकाले जिम्मेवारी लिनुपर्ने माग गरेका छन् । कसैलाई स्याउ लिन दिने र कसैलाई रोक्ने भन्दै उनीहरूले गुनासोसमेत पोखेका छन् ।
अर्ग्यानिक स्याउ उत्पादनको केन्द्र मानिएको जुम्लाबाट किसान र व्यापारीले क्षणिक लाभका लागि काँचो स्याउ बजारमा लिने गरेका छन् । जसका कारण अर्ग्यानिक तथा स्वादिष्ट स्याउको परिचय पाएको जुम्लाको पहिचानै खतरामा परेको छ।
स्याउमा भर्खर कलर हालेर गुलियोपना भरिँदै छ । तर, गाउँगाउँमा व्यापारी पुगिसकेका छन् । किसान पनि राम्रो मूल्य पाइने सोचमा बिक्री गर्ने मनसायमा छन् । हरेक वर्ष काँचो स्याउको निर्यात रोक्ने छलफल र निर्णय भए पनि रोक्न भने चुनौती देखिएको छ । पछि राम्रो मूल्य नपाइने र घरमै थन्क्याएर राख्नुपर्ने बाध्यताले छिट्टै टिपेर निर्यात गर्ने गरेको किसानको भनाइ छ । यद्यपि, स्थानीय सरकारले स्याउ खरिदको जिम्मा लिएको खण्डमा असोजसम्म पनि बोटमै राख्न तयार रहेको किसान बताउँछन् । तर, किसानको उत्पादनको जिम्मा लिन सरकार तयार छैन ।
जुम्लाका करिब १९ हजार घरधुरीले स्याउ खेती गरिरहेको सरकारी तथ्यांक छ । यहाँका आठवटै पालिकामा स्याउ खेती हुन्छ। तर, अधिकांश किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे ज्ञान नहुँदा श्रमअनुसारको लाभ लिन सकेका छैनन् ।
स्याउ किसानलाई ढुवानीमा सहुलियतदेखि मलजल तथा बगैँचा व्यवस्थापनबारे स्थानीय तहले पनि पर्याप्त सीपसहित प्रविधि दिन सकेको छैन । जुम्लामा ग्रेडिङ मेसिन पनि छैन । जसकारण जुम्लाको स्याउ हचुवामै बिक्री हुने र करोडौँ आम्दानी गर्न सकिने सम्भावना भए पनि किसानले घाटा खानुपर्ने बाध्यता छ ।