१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ श्रावण १२ शनिबार १४:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोशी प्रहरीलाई सात अपराध नियन्त्रण अझै चुनौती 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार १४:१३:oo

कोशी प्रहरीलाई सात अपराध नियन्त्रण अझै चुनौती बनिरहेको छ। बलात्कार, आत्महत्या, सामाजिक, साइबर क्राइम, मादक पदार्थ, लागुऔषध सेवन, वित्तीय अपराध र दुर्घटना नियन्त्रण अझै चुनौती बनिरहेको हो। 

कोशी प्रहरीका अनुसार खुला उत्पादन र बेचबिखन हुने मादक पदार्थ सेवनकै कारण धेरै हत्याका घटना हुने गरेका छन्। मादक पदार्थ सेवन गरेकै कारण श्रीमानश्रीमती बाबुआमा र दाजुभाइलगायतका आफन्तहरूबीच काटमार हुने गरेको छ। यसैगरी, मादक पदार्थ सेवन गरेकै कारण महिला र बालबालिकाहरूमाथि घरेलु हिंसा र यौन शोषणका घटनाहरू पनि बढ्दो रूपमा हुने गरेका छन्।

बेरोजगारी र असफलताले गर्दा दिन प्रतिदिन समाजमा मादक पदार्थमा निर्भर हुनेहरू बढ्न थालेसँगै अपराधका घटना पनि बढ्न थालेको कोशी प्रहरीको विश्लेषण छ। कोशीमा ०८०/८१ मा एक हजार पाँच सय ७४ वटा सामाजिक अपराधका घटना भएका थिए। ०७८/७९ मा कोशीमा एक हजार चार सय एकवटा सामाजिक अपराधका घटना घटेका थिए।

लागुऔषध सेवनको कुलतले गर्दा पनि कोशीमा अपराध बढाउन सहयोग पुगिरहेको छ। कोशी प्रदेशमा हरेक वर्ष लागुऔषध ओसारपसार र सेवनका घटनाहरू बढ्दो छन्। लागुऔषध सेवनकै कारण धेरै दक्ष युवा जनशक्तिहरू अशक्त मनोरोगी बनिरहेका छन् भने उनीहरूको घरपरिवार पनि तहसनहस भइरहेको छ।

कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुबेर खापुङ लागुऔषध र मादक पदार्थ सेवनबाट हुने अपराध प्रहरीका लागि चुनौती बनिरहेकाले नियन्त्रणका लागि प्रहरीले मात्र नभएर नागरिक तहबाट पनि संयुक्त अभियान सञ्चालन गर्न आवश्यक भएको बताउँछन्। कोशीमा गत वर्ष एक हजार ३९ वटा लागुऔषधका अपराध दर्ता भएको थियो। आर्थिक वर्ष ०७८/७९ मा सात सय ८० वटा लागुऔषधका अपराध भएको थियो। 

यसैगरी, कोशी प्रहरीलाई बलात्कार र आत्महत्या अपराध पनि चुनौती बनिरहेको छ। सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आए पनि कोशी प्रदेशमा आत्महत्याका घटना घट्न सकेका छैनन्। बढ्दो मानसिक समस्याले गर्दा आत्महत्याका घटना बढ्न थालेका हुन्। यसैले, आत्महत्या रोकथामका लागि आमनागरिकहरूले चासो दिनुपर्ने डिआइजी खापुङको भनाइ छ।

कोशीमा तीन वर्षअघि ०७८/७९ मा एक हजार चार सय ८२ जनाले आत्महत्या गरेका थिए। गत वर्ष ०७९/८० मा कोशीमा एक हजार पाँच सय ४८ जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष ०८०/८१ मा कोशीमा एक हजार पाँच सय ५१ जनाले आत्महत्या गरेका थिए। 

यस्तै, बढ्दो बलात्कार अपराध नियन्त्रण पनि कोशी प्रहरीका लागि चुनौती बनेको छ। प्रहरीले निगरानी बढाए पनि हरेक वर्ष महिला र बालबालिकाहरू बलात्कार हुने क्रम घट्न सकेको छैन। कोशीमा गत वर्ष चार सय १७ वटा बलात्कारका घटना भएका थिए। जब कि आर्थिक वर्ष ०७८/८९ मा पाँच सय १० वटा बलात्कारका घटना भएका थिए।

पछिल्लो समय चुनौतीका रूपमा देखापर्न थालेको अपराध बैकिङ कसुर वित्तीय अपराध पनि हो। समय परिवर्तनसँगै आजकल फेक चेक दिने, सहकारी र वित्तीय संस्थाहरू ठगी गर्ने, धेरै ब्याज दिने प्रलोभन देखाएर सुनचाँदी गरगहना धितो राख्ने र मिटरब्याजका अपराध धेरै हुने गरेका छन्। 

यसैगरी, बढ्दो डिजिटल प्रविधिको विकाससँगै समाजमा साइबर अपराध घटना पनि बढ्दो छ। गत वर्ष २४ वटा साइबर अपराधका घटना भएका छन्। साइबर अपराध दिन प्रतिदिन बढ्न थालेपछि गत वर्षदेखि जिल्ला प्रहरी कार्यालयले नै साइबर अपराध अनुसन्धान गरेर मुद्दा दर्ता गराउँदै आएको छ। त्योभन्दा अघि काठमाडौं प्रहरीले मात्र साइबर अपराधका घटना अनुसन्धान गर्दै आएको थियो। 

कोशी प्रहरीलाई नियन्त्रण गर्न चुनौती बनिरहेको अर्को अपराध सवारी दुर्घटना पनि हो। ट्राफिक नियमको पालना नगर्ने प्रवृत्ति, अराजकता, तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी कुदाउनु अनि पुराना सवारीसाधनहरू र अधिक भारबहन आदि कारणहरूले हरेक वर्ष सवारी दुर्घटना बढ्ने गरेको छ।