नेपाल उत्पीडित जातीय समाज (नोप्स), युरोपले छोटो चलचित्र ‘कलर अफ टी’लाई आर्थिक सहयोग गरेको छ। छुवाछुत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले नोप्स युरोपले ‘राज सरगम’को लेखन तथा निर्देशनमा तयार हुन लागेको जनचेतनामूलक छोटो चलचित्र कलर अफ टी (चाई के रङ) निर्माणका लागि एक लाख सहयोग गरेको हो।
‘पहाडी भेगमा भन्दा पनि विभेद तराईमा हुँदै आएको छ। जातकै कारण धेरै दलित युवा पलायन हुनुपरेको छ भने कतिपयले ज्यान पनि गुमाउनुपरेको छ। यस्तो अवस्थामा जनचेतनामूलक भिडियोले समाजमा सकारात्मक प्रभाव पार्ने भएकाले कलर अफ टीलाई नोप्सले सहयोग गरेको हो,’ नोप्सका अध्यक्ष अर्जुन सुनारले भने।
सन् २०१० देखि यस संस्थाले आधिकारिक रूपमा दलितका सवालमा वकालत गर्दै आएको छ। नोप्स युरोपवासी प्रवासी दलितको सशक्त संस्था हो, जसले दलित समुदायको हितमा काम गर्दै आएको छ।
नेपालमा हुने जातीय विभेद वा मानव अधिकारविरुद्धका घटनाको संवैधानिक प्रतिवाद गर्ने वा त्यसविरुद्ध हुने संघर्षमा संस्थागत सहभागिता तथा सामाजिक सुधार, सचेतना अभियानको नेतृत्व पनि गर्दै आइरहेको छ।
कपिल भण्डारीको मुख्य व्यवस्थापन तथा परीक्षित मिडिया क्रियसनको निर्माणमा तयार हुन लागेको सर्ट फिल्मलाई नेपालमा रहेका विभिन्न संघसंस्थाको पनि सहयोग रहेको छ।