Skip This
बर्दीमा दाग : डकैती, तस्करीदेखि हनी ट्रयापिङ गिरोहसम्मका अपराधमा प्रहरीकै साँठगाँठ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ असोज २० आइतबार o५:५५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बर्दीमा दाग : डकैती, तस्करीदेखि हनी ट्रयापिङ गिरोहसम्मका अपराधमा प्रहरीकै साँठगाँठ 

पछिल्लो तीन महिनायता मात्र सात गम्भीर प्रकृतिका घटनामा प्रहरी अधिकारीको संलग्नता

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार o५:५५:oo

अपराध अनुसन्धानको सीप र अनुभव प्रहरीकै अफिसर र जवानले अपराध कर्ममा लगाए भने के होला ? पक्कै पनि यसले सिंगो संस्थाको गरिमा धूमिल पार्छ र बर्दीमा दाग लाग्छ । केही समययता डकैती, तस्करीदेखि हनी ट्रयापिङ गिरोहसम्म प्रहरीको बढ्दो साँठगाँठले यही भनिरहेको छ ।

आपराधिक गिरोहलाई कानुनको कठघरामा ल्याउने जिम्मेवारीमा रहेका प्रहरी अधिकारी आफैँ त्यस्तो गिरोहमा आबद्ध भएका छन् । पछिल्लो तीन महिनायता मात्र सात गम्भीर प्रकृतिका घटनामा प्रहरी अधिकारीको संलग्नता भेटिएको छ । 

प्रहरी अधिकारीले बर्दीको कतिसम्म दुरुपयोग गर्छन् भन्ने पछिल्लो उदाहरण ललितपुरको भैँसेपाटी प्रभागको घटना बनेको छ । जहाँ प्रहरीकै मिलेमतोमा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लिएर छाडियो । घटनामा संलग्न इन्स्पेक्टर बिनुकुमारी शाहीलाई गृह मन्त्रालयले शुक्रबार निलम्बन गरेको छ । उनको आपराधिक भूमिकाको विषयमा डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन भइरहेको छ । यो घटनाले सिंगो प्रहरी नै बदनाम बनेको छ । 

धनाढ्यलाई हनी ट्रयापमा फसाउने गिरोहले योजनाबद्ध रूपमा प्रहरी निरीक्षकसँग मिलेर थुनामा राखी बार्गेनिङ गरी पैसा असुलेको प्रारम्भिक छानबिनले देखाएको छ । यो घटनामा संलग्न तीनजना ललितपुर प्रहरीको थुनामा छन् । छानबिन समितिको प्रतिवेदनअनुसार प्रहरीमाथि मुद्दा चल्ने–नचल्ने तय हुने उपत्यका प्रहरी कार्यालयकी एआइजी किरण बज्राचार्य बताउँछिन् । 

दुई साताअघि मात्र क्रिप्टो कारोबारको आरोपमा एक युवकलाई थुनामा राखेर ५० लाख रुपैयाँ लिइएको घटनामा दुई प्रहरीको संलग्नता पुष्टि भएको थियो । क्यानडामा बस्दै आएका एक युवकलाई नेपाल बोलाएर दुई दिन थुनामा राखी प्रहरीकै मिलेमतोमा ५० लाख असुली गरिएको थियो । घटनामा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका हवल्दार गणेश खड्का र जवान साजन शर्मा चपाईंविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले आपराधिक लाभ मुद्दामा कारबाही अघि बढेको छ ।

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आशंकामा हवल्दार खड्काको टोलीले गत १४ भदौमा आशिष आचार्यलाई पक्राउ गरेको थियो । पछि क्यानडामा क्रिप्टो कारोबार गरेको र नेपालको कानुन आकर्षित नहुने भनेर दुई दिनपछि छाडियो । उनलाई प्रहरीले छाडे पनि बिचौलियामार्फत परिवारसँग बार्गेनिङ गरेर ५० लाख रुपैयाँ असुलिएको थियो । आशिषकै साथी तेजबहादुर तामाङको योजनामा यसरी पक्राउ गरी छाडिएको थियो । तेजबहादुरले पछि प्रहरीमा सेटिङ मिलाइदिने भन्दै ५० लाख लिएका थिए । तामाङ भने फरार छन् । प्रहरीसँगै मिलेर उनले क्यानडाबाट बोलाएर पक्राउ गरी पैसा असुल्ने योजना बनाएका थिए । 

केही प्रहरी कतिसम्म आपराधिक मानसिकताका छन् भन्ने सोह्रखुुट्टे वृत्तका एक प्रहरीबाट बाहिर आयो । न्याय खोज्दै प्रहरी कार्यालयमा पुगेकी एक महिलामाथि गत महिना प्रहरीबाटै बलात्कार प्रयास भयो । चोरीसम्बन्धी उजुरी लिएर प्रहरीमा पुगेकी महिलालाई चोर पक्राउ गर्ने आश्वासन दिएर प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत अनिलकुमार दाहालले बलात्कार प्रयास गरेका हुन् । आरोपी दाहाल बुधबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नो डेरामा चोरी भएपछि ती महिला गत २० भदौमा सोह्रखुट्टे वृत्तमा गएकोमा त्यहाँ उनको भेट हवल्दार दाहालसँग भएको थियो ।

चोरीमा संलग्नलाई पक्राउ गर्ने आश्वासन दिएर उनी महिलासँग नजिकिएका थिए । २९ भदौमा हवल्दार दाहालले ती महिलालाई फोन गरी चोर पक्राउ परेको भन्दै ठमेलमा भेट्न बोलाई होटेलमा लगेका हुन् । ठमेलको ड्रंकेन इन होटेलमा लगेर बलात्कार प्रयास गरेको पीडितको आरोप छ । 

गत महिना दुई प्रहरीको डकैती घटनामै संलग्नता देखियो । सहायक हवल्दार लोचन अधिकारी र जवान डम्मलाल पाध्याले विदेशबाट आएका व्यक्तिको मोबाइल र सुन लुटेको अभियोगमा सातदोबाटो वृत्तबाट मुद्दा दायर भएको छ । गत २९ साउनमा ललितपुर महानगरपालिका–१४ सातदोबाटो कृषि अनुसन्धान केन्द्रनजिकबाट चारवटा मोबाइल, एउटा ल्यापटप, एउटा गेम बक्स तथा दुई तोलाबराबरको सुनको सिक्री डकैती गरेको अभियोग उनीमाथि छ । 

जवान पाध्यासहित खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ कपन बस्ने ३३ वर्षीय प्रकाश भन्ने विकाश श्रेष्ठ, रामेछाप लिखु तामाकोशी गाउँपालिका–२ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ बस्ने २८ वर्षीय गुन्दास भन्ने मनोज भुजेलसमेत पक्राउ परेका हवल्दार अधिकारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यो घटनामा जवान पाध्यासहितका अभियुक्त जेल चलान भएका छन् । 

त्यस्तै, इन्स्पेक्टर तहकै प्रहरीमाथि बालिका बलात्कारजस्तो गम्भीर अभियोग लागेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटी गत जेठमा पक्राउ परे । उनलाई जिल्ला अदालतले थुनामा पठाएकोमा उच्चले तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि हाल जेलमुक्त भएका छन् । 

गत ४ असारमा भक्तपुरको दधिकोटमा डिल्ली राउतको घरबाट प्रहरी हौँ भन्दै दुई करोड रुपैयाँ डकैती गर्ने गिरोहमा पनि एक प्रहरी कर्मचारी संलग्न थिए । हवल्दार कृष्णबहादुर बोहरा त्यतिवेला पक्राउ परेका थिए । प्रहरीलाई समेत गिरोहमा राख्दा उजुरी नपर्ने आकलन गरेर उनीहरूले हवल्दार बोहरालाई राखेको अनुसन्धानमा खुलेको थियो । प्रहरीको कार्ड नै देखाएर उनीहरूले स्रोत नखुलेको पैसा भन्दै लुटेका थिए । 

गत असारमै उपत्यका प्रहरी कार्यालयका हवल्दार सुन्दर नेपालीलाई सिआइबीले पक्राउ गर्‍यो । तस्करी गरेर ल्याएको सुन लुटिएपछि खोजिदिने भन्दै तस्करी गर्ने गिरोहसँग उनले आठ लाख रुपैयाँ असुलेका थिए । उनलाई अदालतले जेल चलान गरेको छ । 

मकवानपुरमा एक हवल्दार गाँजा तस्करीको आरोपमा पक्राउ परी गत १० असोजमा जेल चलान भएका छन् । चितवनमा कार्यरत हवल्दार निमबहादुर गुरुङ जेल गएका हुन् । हेटौँडाबाट पथलैया जाँदै गरेको गाडीबाट १६२ केजी गाँजा मकवानपुर प्रहरीले फेला पारेको थियो । गाडीमा एउटा फरक खालको पोको भेटेपछि त्यसबारे सोध्दा त्यो प्रहरीकै भएको बताएका थिए । हवल्दार गुरुङले बरामद गरेको गाँजा उनीहरूलाई बिक्री गर्न दिएको अनुसन्धानमा खुलेपछि उनी पनि पक्राउ परेका थिए । 

विगतमा पनि आपराधिक घटनामा फाट्टफुट्ट प्रहरी अधिकारीको संलग्नता हुने गरेको थियो । तर, पछिल्ला केही महिना सिंगो संगठनमाथि नै प्रश्न उठ्ने गरी यस्ता घटना बढेका छन् । नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्की यसरी अपराधमा प्रहरी संलग्न हुनुको कारण भौतिकवादको प्रभाव भएको टिप्पणी गर्छन् । ‘समाजमा अपराध बढेको छ, समाज जस्तो छ त्यसको प्रतिबिम्ब प्रहरीमा देखिने हो, प्रहरीमा पनि भौतिकवादको प्रभाव बढ्दै गएको छ,’ उनी भन्छन्,‘तर, सांगठनिक सत्प्रयासबाट त्यस्ता प्रहरीमाथि छानबिन र निर्मम कारबाहीमार्फत करेक्सनका काम भइरहेका छन् ।’

पूर्वडिआइजी हेमन्त मल्लको विश्लेषणमा प्रहरीमा राजनीतिक हस्तक्षेप हुँदा खराब प्रहरीहरूले महत्वपूर्ण अवसर पाएको र त्यसकारण पनि अपराधमा प्रहरी संलग्नता बढेको हुनसक्ने बताउँछन् । ‘प्रहरी प्रधान कार्यालयलाई को प्रहरी कस्तो भन्ने थाहा हुन्छ, तर त्यसअनुसार जिम्मेवारीमा खटाउन नसक्ने अवस्था छ,’ उनी भन्छन्,‘यस्तो अवस्थामा संगठनमा गलत मान्छेहरू नै हाबी हुने जोखिम हुन्छ, अहिले पनि त्यही भइरहेको हो कि जस्तो लाग्छ । यस्तोमा सुपरिवेक्षणलाई बलियो बनाई दोषीलाई तत्काल कारबाही गरेर शुद्धीकरणमा जोड दिनुपर्छ ।संगठनमा गलत गतिविधिमा संलग्नलाई निर्मम कारबाही गर्न नसकेमा आगामी दिनमा दण्डहीनता अझै बढ्न सक्छ ।’

प्रहरी प्रवक्ता कार्की गलत गतिविधिमा संलग्न धेरै प्रहरीहरू बर्खास्तसमेत भएको बताउँछन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा ७४५ जनालाई नोकारीबाट हटाइएको छ भने२७ जना बर्खास्त भएका छन् । त्यस्तै, ६९ जनालाई सेवाको अन्त्य गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

नयाँ पुस्तामा प्रहरीमा छिट्टै धनी हुने महत्वाकांक्षा देखिएको र त्यसले संगठनमा गलत प्रवृत्ति हाबी हुन थालेको एक उच्च प्रहरी अधिकारीको मूल्यांकन छ । राजनीतिक हस्तक्षेपले प्रहरीको चेन अफ कमान्ड कमजोर हुँदा पनि यसरी संगठनभित्र विकृति बढ्दै गएको उनको भनाइ छ ।