Skip This
भारतको घातक भिड त्रासदीले सिकाउने पाठ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
मिलाद हघानी
क्लाउडियो फेलिसियानी
२o८१ असार २४ सोमबार १o:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतको घातक भिड त्रासदीले सिकाउने पाठ

Read Time : > 2 मिनेट
मिलाद हघानी
क्लाउडियो फेलिसियानी
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १o:o९:oo

भारतको राजधानी नयाँदिल्लीदेखि दक्षिणपूर्वी क्षेत्रको हाथरस जिल्लामा हालै धार्मिक भेलामा दुःखद घटना भयो । हजारौँको उपस्थितिमा लोकप्रिय प्रवचकको नेतृत्वमा भएको सत्संगमा सयभन्दा बढीको ज्यान गयो भने धेरै घाइते भए । यो घटना भारतमा भिडबाट हुने प्रकोपको पछिल्लो कडी हो । यद्यपि सञ्चार माध्यमले यसलाई ‘भागदौड’को संज्ञा दिँदै सरलीकृत गरिदिँदा आयोजन र व्यवस्थापनसँग सम्बन्धित मुद्दा उपेक्षित छन् । 

भारतले झेलेका यस्ता प्रकोप : भारतले यसअघि पनि धेरै दुःखद भिड–सम्बन्धित प्रकोप व्यहोरेको छ । १ जनवरी २०२२ मा जम्मु–कस्मिरको माता वैष्णोदेवी मन्दिरमा नयाँ वर्ष मनाउने क्रममा तीर्थयात्रीबीचको विवादका कारण १२ जनाको मृत्यु भयो भने १५ जना घाइते भए । २८ डिसेम्बर २०२२ मा आन्ध्र प्रदेशको एक राजनीतिक ¥यालीमा भएको भागदौडमा आठजनाको मृत्यु भयो । २५ नोभेम्बर २०२३ मा केरलाको एक विश्वविद्यालयको कन्सर्टमा चारजनाको मृत्यु भयो भने धेरै घाइते भए । भारतको इतिहासमा सबैभन्दा घातक भिड प्रकोप सन् १९५४ मा उत्तरी भारतको प्रयाग कुम्भमेलामा भएको थियो, जसमा लगभग आठ सयजना मारिएका थिए ।

सन् २००० यता मात्र भारतले ५० भन्दा बढी विनाशकारी सामूहिक भेला व्यहोरेको छ, जसमा एक हजार चार सय ७७ भन्दा बढीको मृत्यु भएको थियो । भारत घातक भिड दुर्घटनाका लागि विश्वकै सबैभन्दा ठूलो ‘हटस्पट’ (केन्द्र) मध्ये एक हो । यस्ता अन्य महत्वपूर्ण हटस्पटमा साउदी अरब (मुख्यतया वार्षिक हजयात्राका समयमा) र पश्चिम अफ्रिकाका केही क्षेत्र पर्छन् ।

भिड प्रकोपको एक गम्भीर प्रवृत्ति :  भिड दुर्घटनाको इतिहासमा महत्वपूर्ण परिवर्तन भएको देखिन्छ । सन् १९८० को दशकमा भिड प्रकोपका कारण सबैभन्दा धेरै मृत्यु खेलकुद समारोहमा हुने गथ्र्यो । सन् १९८९ मा बेलायतको हिल्सबरो रंगशालामा दुर्घटना भएको थियो । यो त्रासदीले युरोपमा भिड व्यवस्थापन संहिता र सुधारिएका अभ्यासलाई प्रेरित ग¥यो, जसले खेल घटनालाई धेरै हदसम्म सुरक्षित बनायो । हाल सबैभन्दा धेरै भिड दुर्घटना न्यून एवं मध्यम आय भएका देशमा धार्मिक जमघटमा हुने गर्छ । खेलकुद सुरक्षामा सुधार भए पनि धार्मिक जमघटमा कुनै सुधार देखिन्न ।

सञ्चारमाध्यमले प्रायः ‘भागदौड’लाई भिड दुर्घटनाका रूपमा प्रयोग गर्दा अनेक किसिमका भिड दुर्घटनाको कारणबारे पर्वाह गर्दैनन् 

हालका समयमा टिकट लिइने ठूला समारोहमा पूर्ण जोखिम मूल्यांकन, योजना र परिचालन नियन्त्रण मानक अभ्यास गरिन्छ । आयोजकले वास्तविक–समयमा खुलासा हुने जोखिमलाई निगरानी र प्रतिक्रिया दिन सक्छन् । यस्ता योजनामा भिडको आवागमनको कम्प्युटर मोडलिङ, निकासी समय अनुमान गर्ने र प्रवेश एवं प्रस्थान गतिशीलताको निगरानी समावेश छन् । यद्यपि, यी व्यापक उपाय प्रायः धार्मिक एवं सामूहिक जमघटका लागि लागू हुँदैनन् ।

अपर्याप्त निकास :  विभिन्न मिडिया रिपोर्टअनुसार हालैको त्रासदी स्थलमा क्षमताभन्दा तीनगुणा बढी मानिस थिए । यस्ता घटनामा भिड बिस्तारै जम्मा हुन थालेपछि अन्त्यमा भिड एकैसाथ बाहिर निस्कन खोज्छ र निकास मार्ग अपर्याप्त हुने गर्छ । भिडको आकारको सापेक्षतामा निकासको अपर्याप्तता भारतमा हालै भएको त्रासदीको मुख्य कारण हो ।हालैको दुःखद घटनामा साँघुरो निकासमा तीव्र भिडको दबाबले निसास्सिएर मानिसहरूको ज्यान गएको ‘रिपोर्ट’ गरिएको थियो । महिला एवं बालबालिकाजस्ता साना कदका व्यक्ति आफ्नो आकार र उचाइका कारण विशेषतः कमजोर हुन्छन् । जसले गर्दा यो समूहमा हताहती हुने सम्भावना बढी हुन्छ ।

यो भिडको ‘भागदौड’ होइन :  सञ्चार माध्यमले प्रायः ‘भागदौड’लाई सबै किसिमका भिड दुर्घटनामा प्रयोग गर्छन् र विविध किसिमका भिड दुर्घटनाको कारणको पर्वाह गर्दैनन् । विशेषतः धार्मिक जमघट वा विवरण स्पष्ट नभएको अवस्थामा यो शब्दले भिड समावेश गर्ने घटनालाई सनसनीपूर्ण बनाउन सक्छ । यसरी ‘भागदौड’ भनिदिँदा भिड प्रकोपमा सहभागी व्यक्ति र तिनको व्यवहारमा अनुचित रूपमा दोषारोपण हुने गर्छ । वास्तवमा भिड व्यवहार अधिकांश भिड त्रासदीको प्राथमिक कारण होइन ।

यस किसिमका भाष्यलाई निरन्तरता दिनाले प्रायः आयोजकले जिम्मेवारीबाट उन्मुक्ति पाउँछन् र अधिकारीलाई समस्याको मूल कारण खोजी गर्नबाट निरुत्साहित गर्छ । यसले अर्को भिड त्रासदी रोक्न व्यावहारिक उपाय लागू नगरी दुर्घटनाको दुश्चक्र निम्त्याउँछ । भारतीय संसद्का एक सदस्यले न्युयोर्क टाइम्सलाई यसो भनेका छन– ‘हरेक वर्ष यस्ता घटना दोहोरिरहन्छन् र हामीले केही पनि सिकेका छैनौँ ।

विगतबाट पाठ सिक्न आवश्यक :  विशेषतः विकासोन्मुख राष्ट्रमा धार्मिक सामूहिक जमघटमा हुने दुर्घटनाले विश्वव्यापी रूपमा हुने असामयिक मृत्युको तथ्यांक बढाइरहेको छ । हालै भारतमा भएको त्रासदीभन्दा पहिलेका केही सातायता हजको क्रममा एक हजार तीन सयभन्दा बढी तीर्थयात्रीले ज्यान गुमाए । उसो त हजमा कुल मृत्यु संख्या उच्च थियो, तर हालैको भारतीय भेलामा मृत्युदर उल्लेखनीय रूपमा बढी थियो, अर्थात् हाम्रो हिसाबअनुसार भारतीय घटनामा मारिने ०.७७ प्रतिशतको तुलनामा हजको आँकडा ०.०६५ प्रतिशत मात्र थियो ।

कडा नियमन, पूर्ण जोखिम मूल्यांकन, योजना, सुरक्षा उपाय र भिड अनुगमनविना यस्ता दुर्घटना रोकथाम सहज छैन । प्रमाणका आधारमा लक्षित सार्वजनिक शिक्षा अभियानले सचेतना जगाउन र यस्ता घटनाको प्रभावलाई कम गर्न सक्छ । शून्य सडक मृत्युका लागि प्रयास गरिएझैँ भिड दुर्घटनालाई रोकथाम गर्न सकिने मुद्दाका रूपमा हेरिनुपर्छ । विशेषतः विकासोन्मुख मुलुकले भिड दुर्घटनामा तत्काल ध्यान दिनु आवश्यक छ ।

(हघानी सहरी गतिशीलता, सार्वजनिक सुरक्षा एवं प्रकोप जोखिममा युएनएसडब्लु, सिड्नीका वरिष्ठ लेक्चरर हुन् भने फेलिसियानी एरोनटिक्स र एस्ट्रोनटिक्स विभाग, इन्जिनियरिङ स्कुल, टोकियो विश्वविद्यालयका योजना सहप्राध्यापक हुन्)  द कन्भर्सेसनबाट